नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री सहयोग
मकवानपुर/ नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा हेटौँडास्थित संस्कृत वेद विद्यालय ९हेटौँडा गुरुकुल० मा अध्ययनरत ३२ जना वेदपाठी विद्यार्थीहरूका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ।बिहीबार एक औपचारिक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गरिएको हो।
नेपाल ज्योतिष परिषद् मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य गणेश धिताल प्रमुख अतिथि रहनुभएको थियो। यस्तै, विशिष्ट अतिथिका रूपमा परिषद्का केन्द्रीय सदस्य होमनाथ न्यौपाने तथा संस्कृत वेद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का पदाधिकारी, सदस्यहरू, विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा नेपाल ज्योतिष परिषद् मकवानपुरको तर्फबाट विद्यालयलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। परिषद्ले ९ दर्जन १०८ थान कापी तथा ३२ प्याकेट कलम प्रदान गरेको परिषद्का सचिव जिवराज बख्रेलले जानकारी दिनुभयो। परिषद्ले आगामी दिनहरूमा पनि सामाजिक तथा शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा वक्ताहरूले गुरुकुल शिक्षाको संरक्षण तथा प्रवद्र्धनमा यस्ता सहयोगात्मक कार्यक्रमहरू महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गणेश धितालले नेपाल ज्योतिष परिषद्ले सञ्चालन गर्दै आएका यस्ता शैक्षिक तथा सामाजिक गतिविधिहरूले संस्कृत शिक्षा र गुरुकुल परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गर्नुभयो। परिषद्को भावी योजनाबारे जानकारी गराउँदै धितालले ज्योतिष शास्त्रप्रति रुचि राख्ने युवाहरूका लागि निःशुल्क ज्योतिष प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।
उक्त प्रशिक्षण मार्फत गुरुकुलमा अध्ययनरत विद्यार्थीहरू तथा इच्छुक युवाहरूलाई व्यवहारिक र शास्त्रीय ज्ञान प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। यसले ज्योतिष शास्त्रको अध्ययन, अनुसन्धान तथा संरक्षणमा नयाँ पुस्ताको सहभागिता बढाउने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले प्राप्त सहयोगले विद्यालयको शिक्षण गतिविधि अघि बढाउन थप मद्दत पुगेको बताउँदै परिषद्प्रति आभार व्यक्त गर्नुभयो। यस्तो सहयोगले आगामी दिनमा विद्यालयका गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिन प्रेरणा मिल्ने उहाँको भनाइ थियो।
सभाध्यक्ष ध्रुवप्रसाद सापकोटाले नेपाल ज्योतिष परिषद् सेवामुखी संस्था भएकाले आगामी दिनहरूमा पनि शिक्षा, संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।







