मकवानपुरका १०२ वडामा आजबाट मतदाता शिक्षा संचालन

जनपत्र
३ फाल्गुन २०८२, आईतवार ०८:५२

हेटौंडा । मकवानपुरका १०२ वडामा आजबाट मतदाता शिक्षा संचालन कार्यक्रम सञ्चालन भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा संचालनका लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडाले अनुगमनकर्तालाई तालिम दिएर आजबाट मतदाता शिक्षा कार्यक्रम जिल्लाको १०२ वटै वडामा सञ्चालन गरेको हो ।

प्रत्यक वडाका सबैजसो मतदाताहरुलाई घरघरमा पुगेर मतदाता शिक्षा दिइने छ । मकवानपुरका प्रत्येक पालिकाबाट एक–एक जना अनुगमनकर्तालाई तालिम दिएको थियो । तालिम प्राप्त अनुगमनकर्ताले आफ्नो पालिकाको प्रत्येक वडावाट एक–एक जनालाई तालिम दिएर आजबाट वडा तहमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो ।

प्रत्येक वडाका बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रममा परिचालन गरिएको छ । मतदाता शिक्षा कार्यक्रमको अनुगमन निर्वाचन कार्यालयबाट तालिम पाएका अनुगमनकर्ताहरुले गर्ने छन् ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन कार्यालयले आज देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गर्न लागेको छ ।

मकवानपुरका १० पालिकाका १०२ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालन गरिने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए ।

स्वयंसेवकले मतदाताको घरबस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रिया बारेमा जानकारी गराउने उनले बताए। मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन कार्यालयको अपेक्षा रहेको छ ।

मतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए । मकवानपुरमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर१ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । मकवानपुरका कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ मा महिला १ लाख ५३ हजार ३७६ र अन्य मतदाता ५ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*