बागमती प्रदेशका १३ जिल्ला, ३३ निर्वाचन क्षेत्रः कस्तो देखिन्छ चुनावी नतिजाको सम्भावित चित्र ?

जनपत्र
४ फाल्गुन २०८२, सोमबार ०८:०९

हेटौंडा । आगामी प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुँदैछ । यसको मिति नजिकिँदै जाँदा देशकै राजनीतिक शक्ति–सन्तुलन निर्धारण गर्ने केन्द्रका रूपमा रहेको बागमती प्रदेश फेरि एकपटक निर्णायक भूमिकामा देखिएको छ । देशभरका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये ३३ क्षेत्र बागमतीमा मात्र पर्ने भएकाले यहाँको परिणामले राष्ट्रिय सत्ता समीकरण नै बदल्ने क्षमता राख्छ ।

राजधानी काठमाडौं रहेको, सबैभन्दा बढी मतदाता रहेको र राजनीतिक प्रतिस्पर्धा अत्यधिक रहेको यस प्रदेशमा यसपटकको चुनाव परिणाम विगतको भन्दा भिन्न हुन सक्ने संकेतहरू देखिन थालेका छन्।

बिगतको चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालिन माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रदेशमा चुनावब जितेका थिए ।
काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा रास्वपाको माहोल अझै राम्रो नबनेको अवस्थामा बालेनले ल्याएको देशव्यापी लहर र रवि लामिछानेको अभियानले बागमतीका अन्य १० जिल्लाका १८ क्षेत्रमा रास्वपाको ठुलो माहोल भने आएको छैन ।

राजधानीका काठमाडौँ, ललितपुर र भक्तपुरलाई छोड्ने हो भने बागमती प्रदेशका १० जिल्लामा १८ निर्वाचन क्षेत्र छन्। चितवनमा ३, मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेमा २–२ वटा निर्वाचन क्षेत्र छन् भने दोलखा, रामेछाप र रसुवामा १–१ छन् ।

२०७९ मा भएको प्रतिनिधि सभाको चुनावमा १८ क्षेत्रमध्ये रामेछाप, सिन्धुली १, रसुवा, नुवाकोट २, धादिङ २ र सिन्धुपाल्चोक २ गरी ६ वटा सिट जितेर कांग्रेस पहिलो दल बनेको थियो। उसलाई माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको साथ थियो। नेकपा एमालेले मकवानपुर २ मा र काभ्रे २ जितेको थियो।

उता तत्कालीन माओवादी केन्द्रले सिन्धुली २, दोलखा, काभ्रे १, नुवाकोट १, सिन्धुपाल्चोक १ जितेको थियो। यस्तै, नेकपा एकीकृत समाजवादीले धादिङ १ जितेको थियो। अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लगायतबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ र २ जित्दा राप्रपाले चितवन ३ र मकवानपुर १ जितेको थियो। बागमती प्रदेशका यी १० जिल्लामा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो।

यी १० जिल्लामा अहिले नयाँ थपिएका समेत गर्दा २४ लाख ९१ हजार ३२३ मतदाता छन्। त्यति मात्र होइन, कांग्रेस नयाँ नेतृत्व चुनेर चुनावमा गएको छ। नेकपाले एकीकृत समाजवादीलगायतसँग एकता गरेको छ।

यस्तै, काठमाडौँ महानगरमा सबै दललाई चकित पार्दै मेयर निर्वाचित भएका बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा चुनावमा होमिएको छ। बालेन्द्रले देशव्यापी चुनावी रोड सो गरिरहेका छन्। बागमतीका केही क्षेत्रमा पनि उनी पुगेका छन्।

यसपटक कुनै दलबीच गठबन्धन छैन। त्यसो हुँदा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।

यी दलहरूले जित्ने क्षेत्रबारे आन्तरिक सर्वेक्षण पनि गरिसकेका छन्। कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ समानुपातिक र प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बन्ने दाबी गर्छन्।

तीन वर्षअघिको चुनावमा समानुपातिकतर्फ अधिकांश क्षेत्रमा पहिलो दल बनेको एमालेले पनि यसपटकको चुनावको प्रारम्भिक सर्वे गरेको छ। एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले १८ क्षेत्रलाई तीन श्रेणीमा विभाजन गरिएको बताए।

जित्ने अधिक सम्भावना रहेकोलाई क श्रेणी, प्रतिस्पर्धामा आउनेलाई ख श्रेणी र धेरै मेहनत गर्नुपर्नेलाई ग श्रेणीमा वर्गीकरण गरिएको उनको भनाइ छ। उनका अनुसार रामेछाप, दोलखासहित मकवानपुर, काभ्रे र सिन्धुलीको एकएक क्षेत्र एमालेको जित्ने सूची अर्थात् क श्रेणीमा छ।

‘पार्टीको संगठन, विगतमा समानुपातिकमा पाएको मत, पार्टीको गतिविधि, विभिन्न आधारमा हेर्दा ११ वटा क्षेत्र ‘क’ श्रेणी छ,’ उनले भने, ‘४ वटा ‘ख’ श्रेणीमा र बाँकी ३ वटा क्षेत्र ‘ग’ मा रहेको रिपोर्ट छ।’

नुवाकोट र धादिङका चार क्षेत्र एमालेले तीव्र प्रतिस्पर्धा हुनेमा राखेको देखिन्छ। तर, चितवनको दुई वटा क्षेत्र एमालेको जित्ने सूचीमा पारेको छैन।

नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, धादिङ र मकवानपुरका एकएक क्षेत्र जित्ने दाबी गरेको छ। नेकपाका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले रास्वपा वैकल्पिक शक्ति होइन भन्ने कुरा आम मतदातामा परेकोले त्यसको फाइदा आफ्ना उम्मेदवारले पाउने बताए।

‘हामीले दिएका उम्मेदवार युवा हो, यसकारण माहोल राम्रो छ, यसलाई यथार्थमा बदल्छौँ,’ सरलले भने, ‘यी १० जिल्लाका १८ मा ८ क्षेत्र आउन सक्छ।’

उता बालेन शाहको उपस्थितिले हौसिएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल देशभरको माहोलले बागमती प्रदेशमा प्रभाव पर्ने बताउँछिन्। रास्वपा सभापति रवि लामिछानेले बागमती प्रदेशमै केन्द्रित भएर चुनावी अभियान थाल्दैछन्।

‘चितवनको ३ वटै क्षेत्र जित्छौँ, धादिङ लगायत अन्य केही क्षेत्र हामीले जित्ने सूचीमा राखेका छौँ,’ रावलले भनिन्, ‘अब सभापतिले बागमती प्रदेशकै जिल्लामा केन्द्रित भएर अभियान थालेपछि सबैतिर राम्रो हुनेमा विश्वस्त छौँ।’

विभिन्न दलबाट रास्वपाको संगठन आधार नभएको र बाहिर भिड मात्र रहेको प्रचार भइरहेको छ। यही बेला रास्वपा चुनाव जित्ने रणनीति बनाएर मतदातासम्म पुगिसकेको छ। समर्थकको भिडलाई मतमा बदल्न मेहनत गरेको रावलको भनाइ छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*