प्रतिनिधि सभा निर्वाचनः मकवानपुरमा प्रचारप्रसार तीव्र, टोलटोलमा जनसभा

जनपत्र
५ फाल्गुन २०८२, मंगलवार ०८:५५

हेटौंडा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न अब करिब दुइ साता मात्रै बाँकी रहँदा मकवानपुर जिल्लामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार कार्यक्रम तीव्र बनाएका छन्। निर्वाचन आयोग नेपालले सोमबारदेखि फागुन १८ गतेसम्म बृहत् जनसभा आयोजना गर्न अनुमति दिएपछि मकवानपुरमा पनि औपचारिक रूपमा चुनावी माहोल थप तातेको छ।

यसअघि घरदैलो कार्यक्रम, टोलस्तरीय भेटघाट तथा साना प्रचारसभामार्फत मतदातासम्म पुगिरहेका दलहरू अहिले वडा र टोल स्तरका जनसभा केन्द्रित प्रचार अभियानमा उत्रिएका छन्। जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राजनीतिक गतिविधि उल्लेख्य रूपमा बढेका छन्।

मकवानपुरमा विगतदेखि प्रभाव जमाउँदै आएका प्रमुख दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, लगायत दलहरूले आ–आफ्ना उम्मेदवारमार्फत प्रचार अभियानलाई तीव्रता दिएका छन्।

जिल्लामा नयाँ र पुराना दलसँगै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा सक्रिय देखिएका छन्। उम्मेदवारहरू अहिले आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित भई मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाउन व्यस्त छन्।

मकवानपुरमा घरदैलोबाट जनसभातर्फ

यहाँका अधिकांश दलहरूले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, भीमफेदी, बकैया लगायत दश वटै स्थानीय तहमा घरदैलो कार्यक्रम र टोल स्तरका सभा सञ्चालन गरेका थिए। मतदाताका समस्या, अपेक्षा र स्थानीय मुद्दा बुझ्ने प्रयास गरेका उम्मेदवारहरूले अब जनसभामार्फत आफ्नो एजेन्डा स्पष्ट पार्ने रणनीति अपनाएका छन्।

राजनीतिक दलहरूले स्थानीय विकास, रोजगारी, सडक, खानेपानी, कृषि आधुनिकीकरण र उद्योग प्रवर्द्धनलाई प्रमुख चुनावी मुद्दा बनाएका छन्।

घोषणापत्र सार्वजनिक गर्ने तयारी

केन्द्र स्तरमा राजनीतिक दलहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही दल मकवानपुरमै विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारीमा छन्।

दलहरुले अर्थतन्त्र सुधार, पूर्वाधार विकास र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने संकेत दिएको छ। दलहरूले पनि केन्द्रीय नेतृत्वसँगै स्थानीय नेताहरू परिचालन गरेर चुनावी अभियानलाई विस्तार गरिरहेका छन्।

स्थानीय मुद्दा केन्द्रमा

मकवानपुरमा उम्मेदवारहरूले मतदाताका दैनिक जीवनसँग जोडिएका विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। विशेषगरी रोजगारी सिर्जना,औद्योगिक क्षेत्र विस्तार, कृषिमा आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवा सुधार, सडक तथा पूर्वाधार विकास जस्ता विषयलाई केन्द्रमा राखेर मत माग्ने क्रम तीव्र बनेको छ।

निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा चुनावी गतिविधि अझै बढ्ने देखिएको छ। जनसभा, भेटघाट, प्रचारयात्रा र घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत दलहरू आफ्नो पक्षमा माहोल बनाउन सक्रिय भएका छन्।

बिशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, राजश्वपा, राप्रपा लगायतका उम्मेदवारहरु आफ्ना चुनावी प्रचार प्रसारमा जुटेका हुन् । मकवानपुर क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा छन् ।

१ नम्बर क्षेत्रमा कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राप्रपाका दीपकबहादुर सिंह, रास्वपाबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेमकिपाबाट रञ्जना सुवाल, नेकपा (माओवादी) बाट महेश नेपालीले चुनावी प्रचार प्रसारको काम सामाजिक सञ्जालबाट पनि उत्तिकै गरिरहेका छन् ।

क्षेत्र नम्बर १ मा विभिन्न दलका उम्मेदवारहरूले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र शिक्षा–स्वास्थ्य सुधारलाई मुख्य मुद्दाका रूपमा प्रस्तुत गर्दै डिजिटल प्रचारलाई प्राथमिकता दिएका छन्। उनीहरूले घरदैलो अभियानका तस्बिर र भिडियो सार्वजनिक गर्दै मतदाताको समर्थन मागिरहेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, श्रम संस्कृति पार्टीका युनिश लामा स्याङतान, रास्वपाका प्रशान्त उप्रेती, उज्यालो पार्टी नेपालबाट प्रविणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हिरालाल स्याङतान, नेमकिपाबाट सरोज तामाङ, नेकपा (माओवादी)बाट राम घलान ‘वाटर’ तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा चुनावी मैदानमा छन् । उनीहरुले चुनावी प्रचारको अभियानलाई सामाजिक सञ्जाल मार्फत पनि जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*