हेटौंडामा इन्जिनियरहरूको धर्ना : सव–इन्जिनियर प्रमोद यादवको हत्याको विरोध
हेटौंडा । सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोद यादवको हत्या गरिएको घटनाको विरोधमा हेटौंडा उपमहानगरपालिकामा कार्यरत इन्जिनियरहरूले आज धर्ना दिएका छन्।
फागुन ३ गते आइतबार अज्ञात व्यक्तिबाट गोली प्रहार गरी गरिएको सव–इन्जिनियर यादवको हत्या घटनाप्रति गम्भीर आपत्ति जनाउँदै हेटौंडाका प्राविधिकहरूले प्लेकार्डसहित उपमहानगरपालिकाको मूल गेटअगाडि धर्ना कार्यक्रम आयोजना गरेका हुन्।
प्राविधिकहरूले “राष्ट्रसेवक कर्मचारीको सुरक्षा सुनिश्चित गर”, “दोषीलाई कडा कारबाही गर”, “प्राविधिकमाथिको हिंसा बन्द गर” लगायतका नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
यसअघि उक्त घटनाप्रति नेपाल इन्जिनियर्स एशोसिएसन ले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। एशोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै दिनदहाडै राष्ट्रसेवक कर्मचारीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासन, मधेश प्रदेश सरकार तथा नेपाल सरकारसँग जोडदार माग गरेको छ।
एशोसिएसनका महासचिव इन्जिनियर विनोद प्रकाश पण्डितद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीको मनोबल कमजोर बनाउने भन्दै शीघ्र न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ। अन्यथा थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी समेत दिइएको छ।
हेटौंडाका इन्जिनियरहरूले पनि सोही मागलाई ऐक्यबद्धता जनाउँदै हेटौंडा उपमहानगरपालिका परिसरमा धर्ना दिएका हुन्।
प्रदर्शनमा सहभागी प्राविधिकहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म प्राविधिकहरू असुरक्षित महसुस गरिरहने बताएका छन्। उनीहरूले सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।







