मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा भूमिहीनलाई लालपुर्जा दिने उम्मेदवारको आश्वासन

जनपत्र
६ फाल्गुन २०८२, बुधबार ०८:४८

हेटौंडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चुनाव नजिकिँदै जाँदा भूमिहीन र अव्यवस्थित बसोबासीको मुद्दा पुनः चुनावी एजेण्डाको केन्द्रमा परेको छ ।

विशेषगरी क्षेत्र नम्बर–१ अन्तर्गत बकैया र बागमती गाउँपालिकाका बासिन्दा तथा क्षेत्र नम्बर–२ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ सिमलटारका हजारौँ परिवार आफ्नै बसोबास र खेतीयोग्य जमिनको लालपुर्जा अभावमा दशकौँदेखि जीवन बिताइरहेका छन् । यही समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता गर्दै उम्मेदवारहरू अहिले टोलटोलमा पुगिरहेका छन् ।

क्षेत्र नम्बर–१ का ग्रामीण भेगमा धेरै परिवार पुस्तौँदेखि जग्गा भोगचलन गरिरहेका भए पनि औपचारिक स्वामित्व नहुँदा कानुनी असुरक्षामा छन् । कतिपयसँग थोरै जमिनको मात्र लालपुर्जा छ भने धेरै जमिन अझै अभिलेखीकरणबाहिर छ । यसले उनीहरूलाई कृषि ऋण, सरकारी सुविधा तथा दीर्घकालीन योजना बनाउनबाट वञ्चित बनाएको छ ।

यस्तै अवस्था क्षेत्र नम्बर–२ को हेटौँडा–११ स्थित सिमलटार बस्तीमा पनि देखिन्छ । यहाँ एक हजारभन्दा बढी परिवार वर्षौंदेखि भूमिहीनको रूपमा बसोबास गर्दै आएका छन् । सडक, खानेपानी, विद्युत् र ढलजस्ता आधारभूत पूर्वाधार पुगे पनि ‘हातमा लालपुर्जा कहिले आउँछ ?’ भन्ने प्रश्न अझै अनुत्तरित छ । एक पुस्ता यही आश्वासन पर्खिँदै बितिसकेको छ भने अब समस्या अर्को पुस्तामा सरेको स्थानीयको गुनासो छ ।

यसै सन्दर्भमा क्षेत्र नम्बर–२ का नेकपा (एमाले) उम्मेदवार महेश बर्तौला हालै सिमलटार पुगेर भूमिहीनका मुद्दालाई आफ्नो प्राथमिक एजेण्डा बनाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भूमि अधिकार मञ्च मकवानपुरले उहाँलाई चारबुँदे सुझावपत्र बुझाउँदै संविधानअनुसार भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई खाद्यान्न, आवास र खेतीयोग्य जमिनको सुनिश्चितता गर्न माग गरेको थियो ।

ध्यानाकर्षणपत्र बुझ्दै बर्तौलाले आफू पुनः निर्वाचित भए संसद्मा भूमिहीनको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मैले विगतमा पनि संसद्मा यहाँका समस्याबारे पटक–पटक कुरा उठाएको छु । निर्वाचित भए लगत्तै भूमिहीन सुकुमवासी र दलितका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर आवश्यक संयन्त्र सक्रिय बनाउन पहल गर्नेछु,” उहाँले भन्नुभयो ।

तर स्थानीयहरू भने चुनावी समयमा मात्रै नेताहरू आउने र आश्वासन दिने परिपाटीप्रति सशंकित छन् । भूमि अधिकार मञ्च वडा नं। ११ की लक्ष्मी विश्वकर्माका अनुसार लालपुर्जा प्राप्तिको आश्वासन वर्षौँदेखि दोहोरिँदै आएको छ । “नगरपालिका धाउँदा काखे बच्चा हुर्कियो, बाटो र पानी आयो तर लालपुर्जा अझै आएन,” उहाँले बताउनुभयो ।

प्रारम्भिक चरणमा वडाबाट साढे पाँच सय फाराम नगरपालिकामा पठाइए पनि आयोगसम्म नपुगेपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।

यता क्षेत्र नम्बर–१ का विभिन्न बस्तीमा पनि उम्मेदवारहरूले भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाइरहेका छन् । तर विगतका निर्वाचनहरूमा पनि यस्तै आश्वासन दोहोरिँदै आएको भन्दै स्थानीय मतदाता यसपटक कार्यान्वयनमुखी पहलको अपेक्षामा छन् ।

यसरी मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा भूमिहीनको लालपुर्जा मुद्दा चुनावी बहसको केन्द्रमा आएको छ । तर वर्षौँदेखि आश्वासनमै सीमित रहेको यो समस्या अब समाधानतर्फ उन्मुख हुन्छ वा पुनः अर्को चुनावसम्म स्थगित हुन्छ भन्ने प्रश्न अझै खुला नै छ ।

१ नम्बर क्षेत्रमा कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राप्रपाका दीपकबहादुर सिंह, रास्वपाबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेमकिपाबाट रञ्जना सुवाल, नेकपा (माओवादी) बाट महेश नेपालीले चुनावी प्रचार प्रसारको काम अन्तरगत भूमिहिनका समस्यालाई आफुहरुले समाधान गर्ने बताइरहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, श्रम संस्कृति पार्टीका युनिश लामा स्याङतान, रास्वपाका प्रशान्त उप्रेती, उज्यालो पार्टी नेपालबाट प्रविणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हिरालाल स्याङतान, नेमकिपाबाट सरोज तामाङ, नेकपा ९माओवादी०बाट राम घलान ‘वाटर’ तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा चुनावी मैदानमा छन् । उनीहरुले चुनावी प्रचारको अभियान अन्तरगत भूमिहिनका समस्याहरुलाई पनि आफ्नो प्राथमिकतामा राखेर चुनावी प्रचार प्रसार गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*