मकवानपुरको भविष्यका लागि महेश बर्तौलालाई जिताउनै पर्छ– भारती पाठक
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की केन्द्रीय सदस्य भारती पाठकले मकवानपुरको समग्र विकास, स्थायित्व र उज्ज्वल भविष्यका लागि महेश बर्तौला लाई विजयी गराउन मतदातासँग अपिल गर्नुभएको छ।
कैलाश गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेतृ पाठकले बर्तौला स्वच्छ छवि, इमानदार र जनताको घरदैलोमा भिजेका नेता भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यो भूगोललाई नजिकबाट बुझेको, जनताको पीडा आफ्नै जस्तै ठानेर काम गर्ने नेतृत्व आजको आवश्यकता हो। त्यो पात्र महेश बर्तौला नै हुनुहुन्छ।”
पाठकले मकवानपुर–२ लाई अब राजनीतिक प्रयोगशाला होइन, विकासको नमुना क्षेत्र बनाउनुपर्ने बताउँदै त्यसका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो। “हामीलाई भाषण गर्ने होइन, परिणाम दिने नेता चाहिएको छ,” उहाँले भन्नुभयो, “बर्तौलासँग स्पष्ट दृष्टिकोण, अनुभव र इमान्दारिता छ।”
उहाँका अनुसार बर्तौला जनमुखी सोचका, सरल स्वभावका र संगठन तथा जनताबीच बलियो सम्बन्ध राख्ने नेता हुन्। “जनताको विश्वास जितेको नेताले मात्र विकासको नेतृत्व गर्न सक्छ,” पाठकले जोड दिनुभयो, “त्यसैले मकवानपुरको समृद्धिका लागि महेश बर्तौलालाई जिताउनु अपरिहार्य छ।”
पाठकले यो निर्वाचनलाई मकवानपुरको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रित गर्दै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्नुभयो। “हामी भावनामा होइन, भविष्यको योजनामा मतदान गरौँ,” उहाँले भनिन्, “हाम्रो मतले हाम्रो भोलि बनाउँछ।” नेतृ पाठकको अपिलले चुनावी माहोल थप सक्रिय बनेको छ। उहाँले अन्त्यमा दोहोर्याउनुभयो—“मकवानपुरको उज्ज्वल भविष्य चाहने हो भने, महेश बर्तौलालाई विजयी गराऔँ।”







