असुरक्षित गर्भपतनभित्र लुकेको पीडा

आधुनिकतामा रमाएकी ऊ सँग रमाइलो विगत छन् जस्तो लागेर मैले सुनिरहन चाहे। उनले विगतको खुसीभन्दा पीडा सुनाइन् ।
सरिता दाहाल
१८ श्रावण २०७६, शनिबार ०९:०३

प्रसंग १

‘म अविवाहित हुँ। पढाइको सिलसिलामा काठमाडौं पसेकी। उतै रमाएको सात वर्ष भो। पढाइपछि काम पनि उतै गर्न थाले। पछिल्ला तीन वर्षदेखि सल्लेरीको एउटा केटासँग लिभिङ टुगेदरमा छु। यसरी बस्दा आर्थिक रूपमा पनि सहज, आपसी सेयरिङ, केयरिङ दुवै हुने। बानी पनि पर्‍यो। तर, हामीबीच आपसमा पूरा जिन्दगी नकाट्ने समझदारी चाहिँ छ।’

आधुनिकतामा रमाएकी ऊ (३१ वर्षीया युवती) सँग रमाइलो विगत छन् जस्तो लागेर मैले सुनिरहन चाहे। उनले विगतको खुसीभन्दा पीडा सुनाइन् यसरी :

‘हामी प्रेमीप्रेमिका होइनौं। दैनिकी सहजताका लागि लिभिङ टुगेदरमा बसेका हौं। प्रेम र सेक्स फरक मामिला हो भन्ने हामीले बुझेका थियौं। तैपनि, म महिला भएका कारण समस्या बढी भोगिरहेकी छु। लिभिङ टुगेदरमा रहँदा पनि उसले मलाई हेपेको फिल मैले गरेँ। एक महिना भो। म बिरामी परेर उपचाररत छु। केही साता आराम गरूँ भनेर अहिले घर (हेटौंडा) आएको। उसँग रहँदा मैले ३/४ पटक गर्भपतन गरे। मेरो स्वास्थ्यको सधैं मैले ख्याल गर्नुपर्ने। उसले पनि मेरो ख्याल गर्दियोस् भन्ने लाग्यो तर, कहिल्यै गरेन। म ऊसँगको लिभिङ टुगेदरमा बसेर आफ्नो स्वास्थ्य बिगारे भन्ने लागेर अब नबस्ने सोचेकी छु। उसलाई मेरो निर्णय सुनाउन बाँकी छ। अविवाहित मान्छे कसरी गर्भपतन गर्न जाऊँ। पढेलेखेको र स्वास्थ जटिलता बुझेकै भएर पनि मैले तीनपटक नै आफैंले घरैमा (जसलाई स्वास्थकर्मीले असुरक्षित भन्छन्) गर्भपतन गरेँ। म गर्भपतनपछिको रेस्ट पिरियडमा रहँदा पनि मेरो लिभिङ पार्टनरबाट खासै केयर पाइनँ मैले।’

उनका गह भरिए बोल्न छाडिन।

‘अबको सोच के छ त ?’ मैले सोचे।

‘त्यो बसाइ गलत रैछ,अब कुनै पनि हालतमा त्यो गल्ती गर्दिनँ। मैले गर्भपतनको असुरक्षित बाटो रोजेको कारण पाठेघरमा समस्या छ। परिवारलाई सबै पीडा सेयर गरेँ। धन्न मलाई आमाबाबा र दाजुले साथ दिनुभयो। अब हिम्मत जुटेको छ। असुरक्षित गर्भपतन कसैले नगरून्।’

उनले कुरा टुंग्याइन् र, अन्तमा भनिन्। मबाट अरुले शिक्षा लिऊन् तर, मलाई नचिनून् कसैले, विगतको गल्ती सच्याएर अब खुसीले बाँच्न चाहन्छु।’

प्रसंग २

‘श्रीमान वैदेशिक रोजगारबाट अपर्झट फर्किए। उनी (श्रीमान्) विदेश गएदेखि तीनमहिने सुई लगाउन छाडेकी थिएँ। तीनमहिने सूई लगाएकै कारण नियमित रक्तश्राव भएर हैरान थिएँ। श्रीमान् नै घरमा नभएपछि किन लगाउने भनेर छाडेको। सूई लगाउन छाडेको १५ महिना मलाई आनन्द थियो। नियमित महिनावारी पनि भयो, रक्तश्राव पनि पहिलेजस्तो हुन छाड्यो। तीन वर्षका लागि भनेर श्रीमान् मलेसिया गएका थिए। श्रीमान् आएपछि स्थायी बन्ध्याकरण गर्दै परिवारको व्यवस्थित योजना गर्ने छोराछोरीलाई राम्रो स्कुल पढाउने आफ्नै सानो घर बनाउने। सानोतिनो बिजनेस गर्ने सुन्दर कल्पना मनभरि थियो। तर, आज अस्पतालको बेडमा डरलाग्दो भविष्य देखिरहेको छु। डर मात्रै लाग्छ। बाँच्छु कि बाँच्दिनँ, छोरीहरू बेडको वरपर झुम्मिँदै के भो आमा भन्छन्, मुटु भक्कानिन्छ।’

उनी पनि अवाक भइन्। म के बोलूँ र ? केही बोलिनँ, अरु बिरामी कुरुवाको आवाज खल्याङमल्याङ सुनिन्थ्यो। उनले लामो सास फेरिन्। मकवानपुरबाट उपचारको क्रममा भरतपुर अस्पतालमा रहेकी उनी (नाम गोप्य) ले पटकपटक गला अवरुद्ध पारिन्। फेरि आफूलाई सम्हाल्दै विस्तारैविस्तारै आफ्नो पीडा सुनाइरहिन्।

मैले सोधेँ, ‘यो अवस्था आयो चाहिँ कसरी ?’

लामो सास फेर्दै उनले भनिन्, ‘दुई सन्तान भएपछि हामीलाई सन्तानको रहर पुग्यो। दुवैको सहमतिमा स्थायी बन्ध्याकरण रोज्यौं। स्वास्थ्यकर्मीले छोराछोरी सानै भएको र हाम्रो उमेर पनि धेरै नभएकाले स्थायीभन्दा अस्थायी बन्ध्याकरण गर्न सुझाव दिए। हामीले तीनमहिने सुई रोज्यौं। सोही रोजाइअनुसार मैले ५ वटा सुई लगाएपछि श्रीमान् विदेश जाने कुरो भयो। मलाई सुईले खासै राम्रो गरेको थिएन। नियमित थोरैथोरै रक्तश्राव भैराख्थो, श्रीमान् बाहिर गएपछि मैले सुई लगाउन छाडेकी थिएँ। उनी उता (विदेशमा) राम्रो नभएपछि १५ महिनामै घर फर्के यता मैले सुई छाडेको १४ महिना भएको थियो। उनी घर आए। मैले सुई छाडेको कुरा उनलाई भनेँ, तर उनले खासैं वास्ता गरेनन्। म स्वास्थ्यसंस्था जान्छु भनेर सोच्दासोच्दै गर्भ बस्यो। गर्भपतनका लागि सुरुमा घरेलु औषधि खाए। गर्भ गएन, फेरि तीन दिनपछि घरेलु औषधि नै दोहोर्‍याएँ। त्यसपछि लगातार रक्तश्राव भयो। दुई हप्ता भैसक्यो, यहाँ (अस्पतालमा) एउटा हातबाट रगत र अर्को हातबाट सलाइनसँगै चढाएर बसेको छु, सुधार छैन। भविष्य सबै चकनाचुर हुने भए …….’

बोल्दै थिइन् उनका श्रीमान् सेतो पिलिथिन झोलामा केही थान औषधि बोकेर भित्रिए। उनले कापेको स्वरमा मलिन अनुहार पार्दै मलाई बाहिरिन भनिन्। सायद श्रीमान्को अगाडि आन्तरिक कुरा खोल्न चाहन्नथिन्। म बाहिरिएँ।

यी दुई फरक युवतीहरू फरक परिस्थितिका कारण एउटै रोग (समस्या) को उपचार गराइरहेका छन्। नेपालमा सुखी परिवारको योजना गर्दैगर्दा वा राम्रो करिअर बनाउँदै गर्दा जानाजान वा अन्जानमा दुःख बेसाउनेहरू यत्रतत्र भेटिन्छ। सुरक्षित गर्भपतन सेवालाई सरकारले मान्यता दिएपछि महिलाको स्वस्थ्यमा प्रजनन् समस्या झन् बढ्दो देखिन्छ। जुन घटना हत्तपत्त बाहिर आउँदैनन्।

यी दुई त स्वास्थ्य समस्याका बाबजुद पनि जीवन जिइरहेका छन्। तर नेपालमा बर्सेनि सुनौलो भविष्यका लागि अनिच्छित गर्भपतन गर्नेमध्ये ८ प्रतिशतको मृत्यु नै हुने गरेको छ। गर्भपतन परिवार नियोजनको विकल्प हैन। तर, महिलाले सन्तानको रहर पुगेपछि थप सन्तानबोझ कम गर्नका लागि आफैं स्वेच्छाले वा श्रीमान्को करमा गर्भपनत गर्ने गरेका छन्। जसको कारण वर्षेनी गर्भपतन गराउनेहरु मध्ये ८ प्रतिशत महिलाको मृत्यु हुने गरेको छ।

गर्भपतन गराउने महिलामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्यांकले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार प्रतिवर्ष देशमा ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेका छन्। तीमध्ये ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन्। सुरक्षित गर्भपतनबारे प्रचारप्रसारको अभावको कारण यो चुनौती अझै पनि टड्कारो रहेको हो। मकवानपुरमा अघिल्लो वर्ष ८ सय ८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए। यस वर्ष जेठसम्ममा मात्रै १ हजार ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ।

२०५९ सालमा नेपाल सरकारले गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो, त्यसयता गर्भपतनलाई महिला अधिकारसँग जोडेर वकालत गर्ने गरिए पनि यो महिलाको प्रजनन् समस्याको रुपमा झन्झन् जकडिँदो रहेको जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनीले बताइन्। अहिले मुलुकमा यो सेवा महिलाको अधिकारको रुपमा स्थापित छ। मुलुकी ऐनको ११ औ संशोधन गरिएपछी नेपालमा गर्भपतनले कानुनि मान्यता प्राप्त गरेको हो।

गर्भपतन सेवालाई सुचारु गर्नका लागि २०६० सालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया थालनी भएको थियो। २०६० साल चैतदेखि प्रसुति गृह थापाथलीबाट नेपालमा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएको थियो। जिल्ला समन्वय समितिका उपप्रमुख पुडासैनी सुरक्षित गर्भपतनबारे महिला र पुरुषलाईसँगै राखेर अभिमुखीकरण गरिनुपर्ने बताउँछिन्। सुरक्षित गर्भपतनबारे आमधारणामा परिवर्तन आए मात्र सुरक्षित गर्भपतन सेवा प्राप्तका लागि महिला सहजै स्वास्थ्यसंस्था आउने पुडासैनीको धारणा छ। मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी ३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन्। नेपाल न्युजबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*