भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु, नेपाल दक्षिण एसियामै पहिलो भएको प्राधिकरणको दाबी

जनपत्र
१८ बैशाख २०७८, शनिबार ०८:३३

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ ।

प्राधिकरणले आज राति १२ बजेबाट २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेञ्ज बजारबाट खरिद गरी ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ।

योसँगै भारतीय ऊर्जा एक्सचेञ्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताउनुभयो ।

पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत खरिद गर्न प्राधिकरण सफल भएको कार्यकारी शाक्यले उल्लेख गर्नुभयो ।

शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३ रुपैयाँ ८१ पैसा भारतीय रुपैयाँ रहेको उल्लेख गर्नुभयो ।

‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिवारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत पाएका छौँ, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ ’ उहाँले भन्नुभयो ।

प्राधिकरणले अहिले भारतबाट ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ४ रुपैयाँ १८ पैसा भारु छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ ।

प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई-नोभेम्बरमा २ सय ५० मेगावाटसम्म, डिसेम्बर-अप्रिलमा ३ सय ५० मेगावाटसम्म र मे-जुनमा २ सय  मेगावाटसम्म विद्युत खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।

भारतीय एक्सचेञ्ज बजारबाट विद्युत खरिदका लागि प्राधिकरणकातर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउने छ ।

एक्सचेञ्ज बजारमा कारोबार भएको विद्युतको दैनिक बिल एनभीभीएनले पेस गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनु पर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले उल्लेख गर्नुभयो । प्राधिकरणले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भइ विद्युत उत्पादन सुरु भएपछि आन्तरिक रुपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ ।

नेपाल भारतीय ऊर्जा एक्सचेञ्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत बिक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*