हेटौंडामा ब्रेक फेल भएर बसले कार र ट्याङ्करलाइ ठक्कर दिदा १० जना घाइते

जनपत्र
३२ जेष्ठ २०८२, शनिबार १८:३९

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित डाइभरडाँडामा आज दिउँसो सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग खण्डमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भई दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार ब्रेक फेल भएको बसले विपरित दिशाबाट आउँदै गरेको अनटेष्ट कारमा ठक्कर दिएको थियो। त्यसपछि अगाडि गइरहेको ना ८ ख ४४० नम्बरको ट्याङ्करलाई समेत पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले बसमा सवार ४ जना र कारमा सवार ६ जना घाइतेलाई उद्दार गरी हेटौंडा अस्पताल पठाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको अस्पताल प्रहरीले जनाएको छ।

बस कारलाई ठक्कर दिएपछि करिब १०० मिटर पर गएर एक सय मिटर अगाडी रहेको रुखमा ठोक्किएर रोकिएको थियो। ट्याङ्करको पछाडि भागमा सामान्य क्षति भएको जनाइएको छ। दुर्घटना स्थल प्रहरी चौकी रातोमाटेबाट करिब १ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*