हेटौंडा-सिन्धुली सडकको डेढ किलोमिटर अझै अधुरो, बजेट अभावले काम रोकियो

जनपत्र
१ असार २०८२, आईतवार ०७:२३


हेटौंडा / मदन भण्डारी राजमार्गअन्तर्गत हेटौंडा-सिन्धुली खण्डको करिब डेढ किलोमिटर सडक अझै निर्माण हुन सकेको छैन। झण्डै १२० किलोमिटर लामो यो खण्ड दुई वर्षदेखि सञ्चालनमा आए पनि केही स्थानमा स्थानीयको अवरोध र पछिल्लो समय बजेट अभावका कारण सडक निर्माण अधुरो रहेको हो।

सिन्धुलीतर्फको ८५ र हेटौंडातर्फको ३५ किलोमिटर सडकमध्ये अधिकांश कालोपत्रे भए पनि कमलामाई नगरपालिका–६ र ४ नम्बर वडाका चार स्थानमा अझै सडक बनेको छैन। सुरुमा मुआब्जा र सडक मापदण्डका विषयमा स्थानीयको असहमति थियो। अहिले सहमति बने पनि काम अघि बढ्न सकेको छैन।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलका अनुसार नाली बाहेक ११ मिटर सडक बनाउने सहमति पछि अधिकांश स्थानमा निर्माण सम्पन्न भए पनि विवादित क्षेत्र छाडेर निर्माण कम्पनीले काम सम्पन्न गरिसकेको छ। ती खण्ड सडक विभागलाई हस्तान्तरण भइसकेपछि छुटेका भागका लागि पुनः बजेट माग गर्नु परेको उनले बताए।

डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरु अधिकारीका अनुसार अधुरो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा माग गरिएको बजेट नपरेको र अब आगामी वर्षका लागि प्रक्रिया थालिएको छ।

विवादका कारण वडा नम्बर ६ को धुरानसिरान, वडा नम्बर ४ को ढकालगाउँ, साङबाले, खट्टार, मरिण र हरिहरपुरगढीमा करिब डेढ किलोमिटर सडक निर्माण हुन सकेको छैन।

यसैबीच, ग्वाङ्खोलामा २०६५ सालमा बनेको जीर्ण पुल अझै पनि प्रयोगमा छ। कमजोर संरचना भएका कारण अहिले सो पुल एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

यद्यपि बाँकी सडक दुई लेन कालोपत्रे भएकाले सिन्धुलीबाट हेटौंडा यात्रा सहज छ। ट्राफिक चाप न्यून भएकाले करिब साढे दुई घण्टामै गन्तव्य पुग्न सकिने यात्रुहरू बताउँछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*