ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र
ज्येष्ठ नागरिक परिवारका संरक्षक हुन्, समाजका पथप्रदर्शक हुन् भने राज्यका अमूल्य निधि हुन् । लामो जीवन भोगाइका अनुभवले खारिएका उनीहरू ज्ञान, सीप र कलामा निपुण हुन्छन् ।
सूचना र प्रविधिको विकासले समाजमा परम्परागत ज्ञान, सीप, धारणा र कला ओझेलमा पर्दै गएको र पारिवारिक वातावरणमा मात्र समय व्यतीत गर्न कठिनाइ हुँदै गएको अहिलेको परिवेशमा ज्येष्ठ नागरिकका लागि दिनभर भलाकुसारी तथा विविध कार्य गर्ने व्यवस्था मिलाउन सकिन्छ । त्यसका लागि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र वा मिलन केन्द्र स्थापना र सञ्चालन उपयुक्त विकल्प हो ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ अनुसार, ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा गरेका नेपाली नागरिक सम्झनुपर्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार ज्येष्ठ नागरिकको जनसंख्या २९ लाख ७७ हजार ३ सय १८ अर्थात् कुल जनसंख्याको १०।२१ प्रतिशत छ । औसत आयु बढ्दै गएको र १५–५९ वर्ष उमेर समूहका मानिस ६२ प्रतिशत भएको हुँदा ज्येष्ठ नागरिकको संख्या निरन्तर बढ्दै जाने देखिन्छ ।
ज्येष्ठ नागरिक ज्युँदा इतिहास हुन् । उनीहरूका लागि स्थानीय तहले दिवा सेवा केन्द्र वा मिलन केन्द्र स्थापना गर्नुपर्छ । प्रत्येक वडाले दिवा सेवा केन्द्र स्थापना गर्न सक्छन् । सार्वजनिक सेवा प्रवाहका लागि निर्माण गरिएका भवन, हल वा मन्दिर जहाँ सम्भावना हुन्छ, त्यहीँ ज्येष्ठ नागरिकले भलाकुसारी गर्ने थलो व्यवस्थापन गर्न सकिन्छ । त्यहाँ उनीहरूका लागि दिनभर बस्ने, सुखदुःखका कुरा गर्ने, कला प्रदर्शन गर्ने, नाचगानसहित मनोरञ्जन गर्ने तथा कला, साहित्य, अनुभवका कुरा अर्को पुस्तामा हस्तान्तरण गर्ने वातावरण मिलाउनुपर्छ ।
ज्येष्ठ नागरिक हाम्रा अग्रज हुन् । उनीहरूसँग अनुभव छन्, परम्परागत ज्ञान र सीप छन् । हाम्रै ठाउँमा पाइने वस्तुहरू प्रयोगमा ल्याउन सकिने पुराना प्रविधि छन् । पारिवारिक रूपमा सँगै बस्न नपाएको पछिल्लो पुस्ताले उनीहरूमा रहेका यी विविध विषयको जानकारी पाउने अवसर पाएका हुँदैनन् । ज्येष्ठ नागरिकले परिवारमा हस्तान्तरण र पुस्तान्तरण गर्न नपाएका अनुभवलाई सामाजिक रूपमा भए पनि हस्तान्तरण गर्ने परिपाटी विकास गर्नुपर्ने देखिन्छ ।
दिवा सेवा केन्द्रमा बालबालिकालाई ज्येष्ठ नागरिकसँग भेटाउने कार्यक्रम राख्न सक्ने हो भने उनीहरूले हाम्रा पुराना धार्मिक एवं पौराणिक कहानीका साथै नैतिकता सिकाउने प्रेरणादायी भनाइ र सिकाइ, कथा वा श्लोकबारे ज्ञान लिन सक्छन्, अनुसरण गर्न सक्छन् । अर्कातर्फ, सिकाउन पाउँदा वा आफूसँग भएका कुरा सुन्ने चासो देखाउँदा ज्येष्ठ नागरिकले सम्मानित महसुस गर्छन् । यसले सिकाइलाई बृहत् बनाउन, पारिवारिक–सामाजिक सौहार्दलाई बढावा दिन, मर्यादित वातावरणमा जिउन र भावी पुस्तालाई असल आचरणयुक्त बनाउन सहयोग पुर्याउँछ ।
पछिल्लो समय युवापुस्ता विदेश पलायन हुने क्रम अस्वाभाविक रूपमा बढ्दो छ । यसले निरन्तरता पाइरहने हो भने केही वर्षमा ज्येष्ठ नागरिक मात्र बाँकी रहने परिस्थिति आउने देखिन्छ । घरमै भएका छोराछोरी पनि आआफ्नो धुनमा व्यस्त रहनाले बाबुआमासँग बोल्ने, छलफल गर्ने, उनीहरूका गुनासा सुन्ने फुर्सत छैन । यसबाट ज्येष्ठ नागरिकले एक्लो महसुस गरिरहेका छन्, बेसहारा भएका छन् । एक्लिएको जीवन जिउन कठिन भइरहेको अवस्थामा आफ्ना दौंतरीसँग भेटघाट गरेर पीडा बिसाउने वातावरण बनाइदिँदा उनीहरूलाई निकै राहत हुन जान्छ ।
कतिपय ज्येष्ठ नागरिक नियमित रूपमा औषधि सेवन गर्नुपर्ने, थेरापी गर्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने अवस्थामा छन् । उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउन दिवा सेवा केन्द्रमा समय–समयमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनुपर्छ, मनोपरामर्शको प्रबन्ध पनि मिलाउनुपर्ने हुन्छ । मनोरञ्जन र समयसापेक्ष गतिविधिको जानकारी गराउनका लागि टेलिभिजन जडान, खानेपानी र शौचालयको व्यवस्था, स्थानीय बाजागाजा उपलब्धताका उपयुक्त बसाइको व्यवस्थापन गर्न सके दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकमैत्री बन्छ ।
ज्येष्ठ नागरिकमा पुरानो प्रविधिमा आधारित सीप र कला हुन्छ । स्वस्थ ज्येष्ठ नागरिक कुनै न कुनै काम नगरी यसै बस्न नसक्ने पनि हुन्छन् । उनीहरूको ज्ञान, सीप, कला र अनुभव प्रयोग गरी आयमूलक कार्यमा संलग्न गराउने व्यवस्था दिवा सेवा केन्द्रमा मिलाउन सकिन्छ । कच्चा पदार्थ उपलब्ध गराएर उनीहरूबाट उत्पादित सामग्रीको बजारीकरणको व्यवस्था मिलाउन सके थप प्रोत्साहन मिल्छ ।
कतिपय परिवारमा ज्येष्ठ नागरिकले निकै अपहेलना भोगिरहेका हुन्छन् । परिवारका सदस्यले अशक्त ज्येष्ठ नागरिकलाई बोझका रूपमा लिने गर्छन् । परिवारको अपमानपूर्ण व्यवहार र आफ्नो अशक्तताका कारण केही ज्येष्ठ नागरिक परिवार छोडेर हिँड्ने, आफन्तकहाँ बस्ने, वृद्धाश्रम खोज्ने, तीर्थाटनमा गएर बस्न चाहने हुन्छन् । तसर्थ स्थानीय सरकारले यस्ता ज्येष्ठ नागरिकका मुद्दा सम्बोधन गर्न दिनभर साथीहरूसँग बसेर रमाउने वा व्यस्त बन्ने अनि बिहान–बेलुकी आफ्नै परिवारमा बस्ने वातावरण बनाइदिनुपर्छ ।
सहर–बजारमा डेरा लिएर बसेका छोराछोरी या परिवारका सदस्यसँग बस्नुपर्ने अवस्थाका ज्येष्ठ नागरिकले एकदुइटा कोठामा बस्नुपर्दा थुनिएको महसुस गर्नु अस्वाभाविक होइन । सहर–बजारमा अरूका घरमा गएर बस्ने, भलाकुसारी गर्ने परिपाटी हुँदैन । जोडिएका घरका मानिससँग त के, उही घरको अर्को कोठामा बस्नेसँग पनि निकटता हुँदैन । व्यस्त रहनका लागि काम हुँदैन । यस्तो सन्दर्भमा दिवा सेवा केन्द्रको सञ्चालन ज्येष्ठ नागरिकका लागि राम्रो विकल्प हुन्छ ।
हाम्रो सामाजिक परिवेश निकै बदलिएको छ । गाउँका मानिस सेवासुविधाका लागि सहरबजार झर्ने, छोराछोरी पढाउन सहर जाने, रोजगारी वा अध्ययनका लागि विदेश जाने परिपाटी एकातर्फ छ भने अर्कोतर्फ मोबाइल, टीभी र इन्टरनेटको प्रयोगले सँगै भएको मानिस पनि निकै टाढाको महशुस भइरहेको हुन्छ । परिवारको सदस्यसँग संवाद हुँदैन तर सात समुद्रपारि रहेको आफन्त वा साथीले के तरकारी पकायो खायो, त्यो जानकारीमा हुन्छ । यस्तो पारिवारिक परिवेशले पनि हाम्रा बाआमालाई एक्ल्याएको छ ।
प्रविधिसँग साक्षात्कार छैन, सामाजिक सञ्जालमा रमाउन सिकिएको छैन, तेस्रो पुस्ताका हाउभाउसँग भिज्न सकिएको छैन । त्यसैले उनीहरूसँग जोडी मिल्ने, भावना मिल्नेसँग भेट गराउने दिवा सेवा केन्द्रको सञ्चालन अपरिहार्य देखिन्छ । कान्तिपुरबाट साभार ।
(बिष्णुकुमारी लामिछाने हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालका महासाखाका प्रमुख हुनुहुन्छ ।