कसरी हुन्छ सहिदको सम्मान ?

सहिद को हुन् रु तिनै हुन, जसले नीजि कुराहरुवाट माथि उठेर देश दुनियाँका लागि जीवनको बाजी थापे । जसले अरुको लागि आफूलाई गुमाए । त्यसैले कवि इश्वर बल्लभले सहिदका बारेमा आफ्नो कवितामा लेखेका छन्–जसले आफुलाई समाप्त गरेर अरुलाई प्रारम्भ गरेका छन्’ ।
वास्तवमा हामीले टेकेको यो खुला धरती, हिँडेको बाटो, राजनीतिक मार्ग र वर्तमान तिनै महापुरुषहरुको बलिदानबाट प्राप्त भएको हो । मानव इतिहास भनेकै क्रान्ति, संघर्ष, बलिदान र उत्सर्गको एउटा अथाह सागर हो ।
इतिहासमा प्रत्येक घटनाक्रममा मानव जातिकै उन्नति प्रगति र स्वतन्त्रता प्राप्तिका लागि यो धरतीमा पनि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने थुप्रै वीर—वीरङ्गनाहरु छन् । ती वीर—वीरङ्गनाहरु जसले यो देशको उन्नति, प्रगति र स्वतन्त्रता तथा समानता प्राप्तिका लागि हाँसी—हाँसी बैरी सामु टाउको नझुकाई आफ्नो जीवनको बलिदान गरे त्यस्ता वीर–वीरङ्गनाहरु यथार्थमा देशका अमूल्य सम्पत्ति र साझा निधि सहिद हुन् ।सहिद शव्द नै गरिमामय छ । यसको पर्याय नै आस्था, विश्वास, त्याग र बलिदान हो । चाहे उपनिवेशवादी ब्रिटिस सेनाकाविरुद्ध राष्ट्रको स्वाधीनता र अखण्डताको रक्षार्थ लडेर वीरगति प्राप्त गर्ने भक्ति थापा हुन्, चाहे १०४ वर्षीय जहानियाँ राणाशासनकोविरुद्ध प्रजातन्त्र प्राप्तिको लडाँईमा अमरत्व प्राप्त गर्ने वीर सपुतहरु दशरथ चन्द, गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्री हुन् ।
पञ्चायती निरकुशताविरुद्ध छेडिएका विभिन्न जनसंघर्षका क्रममा वीरगति प्राप्त गर्ने रत्नकुमार वान्तवा, ऋषि देवकोटा, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, सरोज कोइराला किन नहुन् यी सवै महापुरुषहरु हुन् । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्न अर्थात् मुलुकबाट सामान्तवादको नाइके राजतन्त्रको उन्मुलन गर्न दश वर्षे जनयुद्ध वा ०६२र०६३ सालको जनआन्दोलनमा आफूलाई वलिवेदीमा होमेर उत्सर्ग गर्नेहरु गोरखाका वासुदेव वाग्ले हुन् वा मकवानपुरका रुद्र पाख्रिन,वासुदेव घिमिरे, सिन्धुलीका शेरमान कुँवर, नेपालगन्जका सेतु विक, दाङका गोविन्दनाथ शर्मा, दिपक कामीलगायतका सहिदहरु नेपाल र नेपालीका लागि आस्थाका पुन्ज र प्रेरणाका स्रोत हुन्, राष्ट्र निर्माणका मार्गदर्शक स्रष्टा हुन् ।
विभिन्न कालखण्डमा जीवन आहुति दिने यी सहिदहरुको स्मृतीमा हेटौंडा नगरपालिका–११ मा तीन दशकअघि निर्माण गरिएको सहिद स्मारक अहिले सहिदहरुको तिर्थस्थल बन्न पुगेको छ । सहिदहरुप्रति सम्मान जाहेर गर्न देशभक्त र परिवर्तनकारीहरु सहिद स्मारकमा पुग्नेमात्र गर्दैनन्, उनीहरुले पछयाएको मार्गमा हिँड्ने कसम पनि खान्छन् ।
नेपालको राष्ट्रियता, प्रजातान्त्र र जनजीविकाकालागि इतिहासका विविध कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरुको प्रतिकस्वरुप १२ जना सहिदका आकृति एउटै ढुङ्गामा कुँदेर स्थापना गरिएको यथार्थमा जनस्तरबाट निर्माण गरिएको एक धरोहरको रुपमा परिणत भएको छ ।
२५ टनको एउटै अजङको ढुंगामा राष्ट्रको स्वाधीनताका निम्ति ब्रिटिस सेनाकाविरुद्ध लडेर वीरगति प्राप्त गर्ने भक्ति थापा, १०४ वर्षींय जहानियाँ राणाशासनकाविरुद्ध प्रजातन्त्र प्राप्तिको लडाईमा अमरत्व प्राप्त गर्ने वीर सपुतहरु दशरथ चन्द, गंगालाल, धर्मभक्त, र शुक्रराज शास्त्री र २०१७ सालपछि पञ्चायती निरंकुशताविरुद्ध छेडिएका विभिन्न जनसंघर्षका क्रममा वीरगति प्राप्त गर्ने रत्नकुमार बान्तवा, भीमदत्त पन्त, क्याप्टेन यज्ञवहादुर थापा, दुर्गानन्द झा, वीरेन्द राजवंशी,मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका छन् । हेटौंडाबाट ७ किलोमिटर पश्चिममा रहेको सहिद स्मारकको २०५१ साल माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले अनावरण गरेका थिए । सहिद स्मारकमा २०४६ सालसम्मका विभिन्न कालखण्डका एक दर्जन सहिदहरुको आकृति कुँदिएका भएपनि त्यसपछिका जनयुद्ध र जनआन्दोलनका सहिदहरुको स्मृतिमा सहिद स्मारक हेटौंडाले ६५ फिट अग्लो सहिद स्तम्भ निर्माण गरेको छ । २०४६ सालदेखि ०६२र०६३ सालसम्मको जनआन्दोलमा अमरत्व प्राप्त गरेकाहरुको र्स्मतिमा सहिद स्तम्भ निर्माण गरिएको सहिद स्मारक हेटौडाका अध्यक्ष डोरमणि पौडेलले भने, ‘हेटौडाको सहिद स्मारक सहिदहरुको तिर्थस्थल हो, यस्ले विगतदेखि अहिलेसम्म मुलुकको परिवर्तनका निम्ति ज्यान बलिदान दिनेहरुको प्रतिनिधित्व गर्छ ।’ पृष्ठभूमिमा नेपालको नक्सा रहेको स्तम्भको तल्लो भागमा अमुर्त रुपमा सहिदहरुको आकृती रहेका छन ।
विभिन्न कालखण्डमा आन्दोलन दवाउन प्रयोग गरिएका हतियार पनि स्तम्भको तल्लो भागमा राखिएको छ । हेटौडा नगरपालिका–११ स्थित सहिद स्मारकको सवै भन्दा उचो भागमा सहिद स्तम्भ निर्माण गरिएको छ । करिब एक करोड १० लाखको लागतमा निर्माण गरिएको सहिद स्तम्भ सहिद स्मारक हेटौडाको पछिल्लो आकर्षण र सहिदहरुप्रतिको सम्मान हो । गत आवमा सहिद स्मारक हेटौडाको साढे दुई लाख भन्दावढी आन्तरिक एवं वाह्य पर्यटकहरुले अवलोकन गरेका थिए । १९ मिटरको अर्धव्यास रहेको स्तम्भमा सहिदहरुको अमूर्त चित्र, आन्दोलनमा प्रयोग भएका गोला, बारुद, बन्दुक र लाठीलगायतको सचित्र अंकित छन् । स्तम्भले विभिन्न कालखण्डका आन्दोलनका झलकसमेत दिएको छ । अत्याधुनिक प्रविधिका प्रयोगमा निर्माण गरिएको स्तम्भमा ग्रेनाइट सामाग्री प्रयोग गरिएको छ ।
सहिद स्वयं एउटा जीवन्त इतिहास हो । सहिदहरुको सम्मान गर्नु भनेको उनीहरुले दिएका प्रेरणालाई आत्मसात गर्नु हो । उनीहरुले देखाएका मार्गको अबलम्बन गरी सहिदको सपनालाई मूर्तरुप दिनु नै सहिदहरुप्रति सच्चा सम्मान गरेको ठहर्छ । सहिदहरुको सम्मान गर्ने नाममा उनीहरुको त्याग, तपस्या, बलिदान र असिमित व्यक्तित्वलाई वैचारिक दायरामा सिमित राख्नु त्यो सहिदहरुप्रतिको अपमान हो ।
जुनसुकै कालखण्डमा होस् अध्याराका विरुद्ध उज्यालोको पक्षमा लड्ने क्रममा जीवनलाई उत्सर्ग दिनेहरु सबै सहिद हुन्, उनीहरु मुलुकका निधी हुन् । सहिद कसैको व्यक्ति वा समूहगत सम्पत्ति नभएकाले उनीहरुको सम्मान दलगत वा समूहगत स्वार्स्थभन्दा माथि उठेर गर्नुपर्छ । सहिदहरु कुनै दल र समूहको विचारसँग आबद्ध हुन सक्छन् तर जीवनको आहुति भने उनीहरुले देश र जनताको निम्ति दिएका हुन्छन् । जीवित हुँदा उनीहरु कुनै पार्टी र समूहको घेरामा कैद परेका हुन सक्छन् तर जीवन वलिदान गर्दा आकाश जस्तो फराकिलो भएर देश र जनताको निम्ति दिने गर्छन् ।
सहिदहरुद्धारा छरेको प्रकाशको आलोकमा सवै कर्तव्यपथमा लम्केमात्र उनीहरुको रंगिन सपनाहरु पुरा गर्न सक्छौ । तर अहिले सहिदलाई ‘सहिद’ बनाउने काम भएको छ । सहिदका बलिदानबाट सत्तामा पुगेकाहरुले सहिदलाई होच्याउने काममात्र गरेका छैनन् । उनीहरुलाई सहिद बनाएका छन् । कान्तिपुरबाट ।