हेटौँडामा जलेको मुख्यमन्त्री सभाहलमा तिहारअघि बागमती प्रदेशसभा बैठक राख्ने तयारी
मकवानपुर । लामो समयदेखि अवरुद्ध प्रदेश सभाको बैठक तिहार अघि नै सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौँडा–२ स्थित मुख्यमन्त्री सभाहलमा बैठक राख्ने तयारी गरेको हो ।
प्रदेश सभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रूपमा बैठक सञ्चालन गर्न लागिएको हो ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालनको तयारी गरेको हो । हाल उक्त भवनलाई सरसफाइ र व्यवस्थापन गर्ने काम भइरहेको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवनको अधिकांश भाग जलेका छन् ।
अल्मोनियम र युपिभिसी प्रोफाइलबाट निर्माण गरिएको उक्त भवनको सरसफाइ र विद्युतीकरणको काम गरेर बैठक चलाउने तयारीमा सरकार अघि बढेको हो ।
सहरी विकास तथा भवन कार्यालयले सो सभाहलको व्यवस्थापनको काम गरिरहेको छ । जलेका भागहरू हटाएर रंगरोगन गर्ने र अस्थायी प्रकृतिको व्यवस्थापनमा कार्यालयले काम गरिरहेको हो ।
कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार सो भवनमामा जलेका स्थानमा सफा गरेर रङ्ग लगाउने र विद्युतीकरणको काम गर्ने तयारी रहेछ । सोमबारसम्ममा सबै काम सक्ने योजना रहेको उनले बताए ।
आगलागीका कारण क्षतिग्रस्त बनेको बागमती प्रदेश सभाको भवन मर्मत गरी पुनः बैठक सञ्चालनको तयारी थालिएको छ । प्रदेश सभाका सचिव रामकुमार पौडेलले यही असोज अन्तिम तिर बैठक बोलाउने गरी अनौपचारिक छलफल अघि बढाएको हो ।
यद्यपि, दलहरूको केन्द्रीय तहमा समेत बैठकहरू रहेकाले अन्तिम मिति भने तय भइसकेको छैन । सरकार र उपसभामुख अप्सरा चापागाईँले दलहरूसँगको परामर्शपछि बैठकको मिति निश्चित हुने प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ ।
सोही भवनलाई सामान्य मर्मतसम्भार गरेर बैठक बस्न योग्य बनाउने प्रयास भइरहेको सचिव पौडेलले बताए ।
भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सरसफाइ र रङरोगनको काम अघि बढेको र बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको उनको भनाई छ ।
आगलागीले सचिवालयका महत्त्वपूर्ण कागजात, कम्प्युटर र फर्निचर नष्ट भए पनि केही ल्यापटप र डेस्कटप कम्प्युटरहरू बचेकाले त्यसैबाट काम–कारबाही पुनः सुरु गरिएको उनको भनाई छ । संसदीय दलहरूले प्रयोग गर्दै आएको भवनमा सचिवालयको कार्यालय व्यवस्थापन गरी काम भइरहेको उनले बताए ।
‘आगलागीले क्षति पुगेको सभा हललाई नै सामान्य मर्मतसम्भार र सरसफाइ गरी बैठक बस्न योग्य बनाउँदैछौं । हाम्रो प्रयास असोज अन्तिम सातासम्ममा बैठक बोलाउने भन्ने छ । यद्यपि दलहरूको केन्द्रीय तहमा पनि कार्यक्रमहरू रहेकाले अन्तिम मिति तय गर्न बाँकी छ । उपसभामुख र दलका नेताहरूसँगको परामर्शपछि हामी चाँडै नै औपचारिक मिति घोषणा गर्नेर्छौँ,’ उनले भने ।
मुख्यमन्त्री सभाहल व्यवस्थापनमा १० लाख खर्च हुने अनुमान
उक्त अस्थायी व्यवस्थापनका लागि आवश्यक टेबल, कुर्सी तथा माइक जस्ता प्राविधिक सामग्री जुटाउन करिब १० लाख रुपैयाँभन्दा कम खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
तत्कालका लागि सो व्यवस्था गरिएको र दीर्घकालीन समाधानका लागि पुरानै भवन मर्मत गर्ने विषयमा समेत छलफल चलिरहेको उनले बताए । सङ्कटकालीन अवस्थामा गरिने पुनर्स्थापनाका कामले प्रदेश सरकारलाई केही आर्थिक व्ययभार बढ्ने उनले बताए ।
‘लामो समयदेखि रोकिएको सभा सञ्चालन गर्नु हाम्रो प्राथमिकता हो । तत्कालका लागि अस्थायी व्यवस्थापन गर्न लागेका छौँ । जेन जी आन्दोलनको क्षतिका कारण केही समय व्यवस्थापनमा लागिपरेको छ ।’ उनले भने, ‘आन्दोलनको क्रममा सरकारी भवनहरूमा आगजनी र तोडफोडका कारण बैठक बस्ने स्थान समेत अभाव छ । बैठक सञ्चालन र दैनिक कार्य सम्पादनको लागि सामान्य उपकरण र फर्निचर समेत छ । सोको व्यवस्थापनका लागि काम भइरहेको छ । तत्कालका लागि आवश्यक टेबल, कुर्सी र माइक प्रणाली जडान गर्न करिब १० लाखभन्दा कम लागत लाग्ने हाम्रो प्रारम्भिक अनुमान छ ।’
सभामुखको राजीनामा र नयाँ निर्वाचन प्रक्रियाको छलफल प्रारम्भ
सो प्रदेश सभा बैठकको मुख्य एजेन्डामध्ये सभामुखको राजीनामाको विषय समेत रहेको छ । बैठकको अर्को प्रमुख एजेन्डा सभामुखको राजीनामा हुनेछ ।
मन्त्री तामाङका अनुसार सभामुख भुवनकुमार पाठक पदबाट दिएको राजीनामा पत्रलाई पहिले सभामा औपचारिक जानकारी गराइनेछ । सभाले उक्त राजीनामा स्वीकृत गरेर पद रिक्त भएको घोषणा गरेपछि मात्र नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ ।
हालसम्म दलहरूबिच नयाँ सभामुख चयनका विषयमा कुनै छलफल प्रारम्भ नभएको उनले बताए ।गत भदौ २४ मा सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा घोषणा गरी असोज १ मा राजीनामा पत्र समेत पठाएका थिए ।
उक्त पत्र आगामी बैठकमा पहिलो बैठकमा पढेर सुनाइने छ भने राजीनामा स्वीकृत भएसँगै नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ सचिव पौडेलले बताए ।
‘संविधानतः राजीनामा स्वीकृत भएको १५ दिनभित्र नयाँ सभामुखको निर्वाचन प्रक्रिया टुङ्ग्याउनुपर्ने हुन्छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले दलहरूसँगको छलफलपछि निर्वाचनको मिति तय गर्नेछ,’ उनले भने ।
दुई नयाँ विधेयक दर्ता
यसैबिच प्रदेश सभा सचिवालयमा २ वटा नयाँ विधेयक दर्ता भएका छन् । खानेपानी तथा सरसफाइसम्बन्धी र प्रदेशको वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक बैठकमा पेस हुनेछन् ।
आगामी बैठकमा छलफलका आर्थिक उत्तरदायित्वसम्बन्धी विधेयक र खानेपानीसम्बन्धी विधेयक दर्ता भएको सो विधेयक अघि बढ्ने छ भने लामो समयदेखि रोकिएको चिठ्ठा विधेयकलाई पारित गर्ने विषय रहेको मन्त्री तामाङले बताए । यसका साथै प्रदेश मामिला समितिको यातायातसम्बन्धी प्रतिवेदन पनि बैठकमा पेस हुने तयारी रहेको उनको भनाई छ । रातोपाटीबाट साभार ।







