हेटौंडाका भीम विरागको गीतसम्बद्ध उद्गार !
नेपाली वाङमयको क्षेत्रमा भीम विरागको नाम गीतकार, कवि, कथाकार, संस्मरण लेखकका रूपमा स्थापित छ । आफ्नो जीवन व्यावसायिक रूपमा पत्रकार भएर बिताएका उनी नेपाली संगीतको क्षेत्रमा बढी लोकप्रिय भए । हुन पनि उनका गीत कुनै समय मानिसका ओठओठमा झुण्डिन्थे । त्यति लोकप्रिय र कर्णप्रिय थिए ती गीत । उनका गीतहरू नारायण गोपाल, प्रकाश श्रेष्ठ, मीरा राणा, मधु क्षेत्रीलगायत नेपाली गायनका विशिष्ट प्रतिभाहरूको स्वरमा सजिएर स्रोताहरूको कर्णकुहर हुँदै हृदयहृदयमा बास लिन पुग्यो । उनी आफैँ संगीतकार र गायक पनि थिए ।
वीरगञ्जमा जन्मेर पछि हेटौँडालाई जीवनपर्यन्त कर्मक्षेत्र बनाएका उनले हेटौँडामा उच्च छवि र उच्च सम्मानको जीवन व्यतित गरेका थिए । राजा महेन्द्रले भारतलाई छुने अञ्चलहरूमा नेपाली भाषाको प्रवर्द्धनका लागि अञ्चल प्रेसको स्थापना गरेका थिए । भीम विराग नारायणी अञ्चल प्रेसको जिम्मेवारी लिएर हेटौँडा आएका थिए र आजीवन हेटौँडामै बसे ।
१५ माघ १९९१ मा माईस्थान वीरगञ्जमा जन्मेका उनका गीतसङ्ग्रहहरू दुखेको इन्द्रेनी (२०२३), अतृप्त स्पर्श (२०४३), भीम विरागका गीत गजल (२०५७), कवितासङ्ग्रहरू तातो सुस्केरा (२०३२), भीम विरागका कविता (२०५४), खण्डकाव्य अज्ञात प्रारम्भ, महाकाव्य मोहभङ्ग (२०५९) कथासङ्ग्रह आठटुक्रे बादल (२०२९), संस्मरण स्वर सम्राटको सम्झना (२०५७) कृतिहरू प्रकाशित छन् । तर, उनको कवि र गीतकार व्यक्तित्व नै अग्लो रहेको पाइन्छ । नेपाली साहित्यका लौह समालोचक मानिएका कृष्णचन्द्र सिंह प्रधानले उनलाई ‘कवितामा भीम, गीतमा विराग’ उपमा दिएका थिए ।
राजधानीभित्रका राष्ट्रियस्तरका मान सम्मान पुरस्कार राजधानीबाहिर हम्मेसी उपत्यका काटेर बाहिर उस्तो नपुगिरहेको बखतमा २०४३ सालको छिन्नलता गीत पुरस्कार उनले प्राप्त गरेका थिए । तर, यो पुरस्कार पनि सहज रूपले भने पाएका थिएनन् । सुरुमा छिन्नलता पुरस्कार गुठीले सो पुरस्कार गीतकार चाँदनी शाह अर्थात् श्री ५ बडामहारानी ऐश्वर्यलाई दिन प्रस्ताव गरिएको थियो र राजदरबारमा बिन्ती चढाइएको थियो । तर, रानीले सो पुरस्कार स्वीकार गरिनन् ।
एक त जनस्तरको पुरस्कार, त्यसमाथि राजपरिवारकै अनौपचारिक विवाहिताको नामको पुरस्कार बहालवाला महारानीबाट स्वीकार हुने अवस्था पनि थिएन । त्यसपछि सो पुरस्कार कसलाई दिने ? एकपल्ट अस्वीकार भएको पुरस्कार अर्को प्रतिभाले स्वीकार गर्ने हुन् कि नगर्ने हुन्, त्यो पनि सोचनीय पक्ष थियो । तर, भीम विरागले यसलाई स्वीकारे, यो जानकारीसहित । उनको भनाइ थियो, ‘म त्यस्तो अभिमान किन गरूँ ? पुरस्कारका लागि योग्य मानेर दिने निर्णय हुन्छ भने मलाई स्वीकार गर्न कुनै आपत्ति छैन ।’ यसरी उनले पुरस्कार लिने निर्णय गरे ।
प्रस्तुत उद्गार सोही छिन्नलता पुरस्कार वितरण समारोहमा भीम विरागले सुनाएका थिए । यो उद्गारमा उनका साहित्यिक र गीति भावना, गीति रचनाका पृष्ठभूमिलगायत उल्लेख गरेका छन् ।
यस्ता बहुमुखी प्रतिभा भीम विरागको निधन १५ फागुन २०६८ मा काठमाडौंमा भयो । (गोगिप्रे)
छिन्नलता पुरस्कार वितरण समारोहमा भीम विरागका उद्गारहरू
श्रीमान् सभापतिज्यू, यस सभाका मुख्य अतिथिज्यू, छिन्नलता गीत पुरस्कार गुठीकी संस्थापिका श्रीमती रमोलादेवी शाह ‘छिन्नलताज्यू’, उपस्थित विशिष्ट साहित्यकार महानुभाव, भद्र महिला एवं सज्जन वृन्द, आज यस समारोहमा उभिएर केही शब्द बोल्न पाउँदा मैले आफूलाई निकै भाग्यशाली ठानेको छु । मलाई यस ठाउँमा उभिएर आफ्ना दुई चार कुरा बोल्ने मौका दिनुभएकोमा यस समारोहका आयोजक समितिलाई म हृदयदेखि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
२०४३ सालको छिन्नलता गीत पुरस्कारले आफू पुरस्कृत भएकोमा मलाई ज्यादै खुसी लागेको छ । यस परिस्थितिमा छिन्नलता गीत पुरस्कार गुठीप्रति म आभार व्यक्त नगरिरहन सक्दिनँ । एउटा गीतको ३०/४० रुपैयाँ दरबन्दी कायम भएको हाम्रो मुलुकमा यस शोषित क्षेत्रको प्रोत्साहन र उत्थानका लागि श्रीमती रमोलादेवी शाह ‘छिन्नलता’ज्यूबाट भएको प्रयास अत्यन्त सराहनीय छ । उहाँ स्वयम् पनि एउटा गीतकार हुनुभएका कारणले गर्दा उहाँले हुरीसँग संघर्ष गरिरहेको एउटा दियोलाई आफ्नो ममतापूर्ण अचराको छेकबार लाउनुभएको छ । छिन्नलता पुरस्कार गुठीको स्थापनाले गीतप्रति उहाँको दर्द, प्रेम र उच्छवास टड्कारै देखापरेको छ । छिन्नलताज्यूको विशाल दानशीलतालाई म साधुवाद टक्र्याउन चाहन्छु ।
‘जब चोट खान्छ मानिस तब कलम घाइते हुन्छ, सादा कागजको छाती अनि दु:खेको गीत बन्छ ।’
गीत कहिले देखि लेख्न थालेँ भन्ने थालनीको समय मलाई सम्झना रहेन । २००७ सालपछि देशमा नयाँनयाँ कुराहरूको सुरुवात हुन थालेको सम्झना हुन्छ । संघ, संस्था, उद्घाटन, सभा समारोहहरूमा स्वागत गीतको प्रचलन भइरहेको थियो ।
राजधानीभित्रका राष्ट्रियस्तरका मान सम्मान पुरस्कार राजधानीबाहिर हम्मेसी उपत्यका काटेर बाहिर उस्तो नपुगिरहेको बखतमा २०४३ सालको छिन्नलता गीत पुरस्कार उनले प्राप्त गरेका थिए । तर, यो पुरस्कार पनि सहज रूपले भने पाएका थिएनन् ।
स्वागत गीत लेख्ने, संगीतबद्ध गरेर स्कुलका केटीकेटीलाई सिकाउने प्रायशः जिम्मेवारी मेरै हुन्थ्यो, यो २०११/१२ सालतिरको कुरा हो । २०१५ सालको सरस्वती पूजाको उपलक्ष्यमा खेलिएको एउटा नेपाली नाटकमा ‘सम्झनाको बाली दियालो मेरो मसानमा आउनू, मरेर पनि हेर्नेछु बाटो मेरो चिहान सजाउनू’ भन्ने गीत गाउँदा स्रोताहरूले मलाई जुन प्रोत्साहन दिएर बारम्बार सुन्ने आग्रह गरे, त्यसले मलाई गीत लेख्नेतिर सजग र सचेत गरायो । गीत लेखन कार्यमा म विशेष गम्भीर भएँ, त्यस कारण म आफ्नो गीतको लेखनकाल २०१५ साल नै मान्छु ।
२०१७ सालमा वीरगञ्ज सांस्कृतिक संगीत परिषद्को स्थापनापछि प्रत्येक प्रदर्शनका लागि नयाँ गीतहरू लेख्नुपर्ने स्थितिले पनि त्यस अवधितिर मेरो गीत लेखनमा तीव्रता आएको हुनुपर्छ, त्यसैको फलस्वरूप पाँच वर्षभित्र नै ‘दु:खेको इन्द्रेणी’ को रूपमा मेरा गीतहरूको एउटा संकलन २०२० सालमा निस्कन सक्यो । त्यसपछि पूरै २३ वर्षपछि २०४३ सालमा ‘अतृप्त स्पर्श’ को रूपमा मेरा गीतहरूको अर्को संकलन निस्कियो । मेरो पहिलो गीत संकलन ‘दु:खेको इन्द्रेणी’ मेरा एक जना व्यापारी स्रोताले काठमाडौंमा छपाएर किताब तयार भएपछि १ हजार प्रति मलाई जिम्मा लगाइदिनुभयो ।
किताबमा धेरै अशुद्ध देखेर म साह्रै दुःखी भएँ । त्यस किताबलाई बजारमा ल्याउन सकिनँ, बाँडेरै सकियो । तर २३ वर्षपछि गीतसंग्रह ‘अतृप्त स्पर्श’ को प्रकाशन गर्दा मलाई गीतकार बनाउने मेरो पहिलो गीत ‘सम्झनाको बाली दियालो’ र मलाई मन परेका दुई तीन अन्य गीतहरू यसमा समावेश गरी मेरा गीतहरू प्रति मैले आफ्नो अनुरागलाई व्यक्त गरेको छु ।
गीत साहित्यको अत्यन्त संवेदनशील विधा हो । भाव, लय, शब्द र शब्द शृंगार नै यसको जीवन हो । स्रोताहरूलाई सबै गीतहरूले छोइरहेको हुँदैन । कुनै एउटा गीतले अचानक चस्काइदिन्छ र यसलाई एकाग्र पारिदिन्छ । त्यति हो सफल गीतको परिभाषा । स्रोतालाई चस्काइदिने त्यो गीत लेख्न गीतकारको मुटु कति ठाउँमा बिजाएको छ भन्ने कुरा गौण रहे तापनि रगत आउन कतै काटिनु नै पर्छ यो सत्य हो ।
स्रोताका आँखामा आँसु टिलपिलाइदिने गीत लेख्न गीतकार कति रोएको छ भन्ने कुरा कमलाई थाहा हुन्छ । तर, स्रोतालाई छुने सन्दर्भमा गीतको मात्र भूमिका हुँदैन, त्यहाँ स्वर र संगीतको पनि त्यत्तिकै योगदान हुन्छ । गीत, संगीत र स्वर यी तीनै कुराको परिपक्वताले एउटा अमर गीतको सिर्जना हुन्छ । यी तीनमध्ये एउटाको पनि कमजोर भूमिकाले गीत लङ्गडो हुन्छ, अपाङ्ग हुन्छ, बेकार हुन्छ । एउटा सशक्त गीतलाई संगीतको आवश्यकता पर्छ भने सशक्त स्वरको पनि आवश्यकता पर्छ । यी तीनै कुरा एकअर्काका परिपूरक हुन् ।
गीतको भाव र शब्द संयोजनअनुरूप संगीतको संरचना गरिनुपर्छ, उतार, चढावमा ध्यान दिनुपर्छ । त्यस्तै, संगीतको सिँढीमा चढेर स्वरले गीतको भावलाई स्रोताको अगाडि स्पष्ट उभ्याई दिन सक्नुपर्छ । अनि स्रोताले आफूलाई बिर्सन्छ, कलाकार धन्य हुन्छ । म प्रायःजसो संगीत र गीतलाई सँगसँगै कम्पोज गर्छु । त्यस कारणले मेरो एउटा गीत महिनौँमा पनि पूरा हुँदैन ।
कहिलेकाहीँ एक या दुई दिनमै पूरा पनि भएको छ । यहाँ मैले के अनुभव गर्न सकेँ भने गीत र संगीतलाई सँगसँगै लिएर जाँदा कुनै बेला गीतको बोललाई सुहाउँदो संगीत कहाँकहाँबाट आफैँ जुट्न आउँछ- कुनै-कुनै बेला बालुवामा सियो हराएजस्तो खोज्नु मात्र हुन्छ ।
यसै सन्दर्भमा एउटा गीतको सन्दर्भ सम्झना आउँछ- म स्पोन्डलाइटिसको रोगले वर्षौंदेखि बिरामी थिएँ । स्व. श्री ५ महेन्द्र सरकारको अपूर्व र असीम निगाहबाट मलाई इलाज गराइबक्स्यो । स्पोन्डलाइटिसले अण्टावक्रको रूपमा आफ्नो छाप मेरो शरीरमा छोडे पनि रोगमुक्त भएँ ।
एकरात अचानक स्व. श्री ५ महेन्द्रबाट बक्सिएको जीवनदानको प्रतिदान म के दिऊँ भन्ने कुराले छटपटिइरहेँ । तर म के दिन सक्ने र आफ्नो विवशतामा रूनबाहेक । रातभरिको मेरो छटपटीले भोलिपल्ट एउटा गीतले जन्म लिइसकेको थियो- ‘जिन्दगी दियौ तिमीले म के दिऊँ तिमीलाई’ पछि प्रकाश श्रेष्ठ र मीरा राणाको स्वरमा रेडियोमा टेप गरियो ।
त्यसैगरी, बाथरुममा अचानक एक दिन गीतको एक लाइन दिमागमा आयो, मीठो लाग्यो, बिर्सेला भनेर तुरुन्त बाहिर निस्केर त्यो लाइन लेखिहालेँ । महिनौँपछि त्यो लाइन डायरीमा देखेर अर्को लाइन दिमागमा आयो अनि तुरुन्त दुई लाइन संगीतबद्ध गरेर टेप गरिराखेँ, अनि फुर्सतमा अरू लाइनहरू कम्पोज गरिसकाएँ । त्यो गीत हो– ‘फूलैफूल मात्र पनि होइन रहेछ जीवन, काँडाबीच फुल्ने फूल रहेछ जीवन’ । मधु क्षेत्रीको स्वरमा टेप भएको छ । म्युजिक नेपालले नारायण गोपालको नयाँ क्यासेट तयार पार्दै छ, मेरा नयाँ गीतहरू त्यसमा समावेश भएका छन् । तपाईंहरूलाई ती गीतहरूले कति भित्रसम्म छुन सक्छ, त्यति नै मेरो सफलताको सीमा हुनेछ ।
अन्त्यमा काठमाडौं भ्यालीभित्र नै सीमित रहेको यहाँका प्रतियोगिताका आयोजनाहरूको परम्परालाई चार भन्ज्याङको सीमा काटी सिम भन्ज्याङको डाँडामुनि तराईतिर दृष्टि पुर्याउन सकेको छिन्नलता गीत पुरस्कार गुठीप्रति पुनः एकपटक आभार व्यक्त गर्दै म आफ्ना केही भावोद्गारहरूलाई यहीँ टुंग्याउँछु ।
धन्यवाद, भीम विराग ।