चीन अत्यधिक गर्मीको चपेटामा, तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस

जनपत्र
४ श्रावण २०८०, बिहीबार १०:४७

unn.prixa.net

युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ ।

चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको तुरफन डिप्रेशनको सानबाओ टाउनशिपमा तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा रहेको तुरफन डिप्रेशनको सानबाओ टाउनशिप अंगुरका लागि पनि प्रख्यात छ । त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै मापन भएको थियो ।

यस्तै, चीनको राजधानी बेइजिङमा २८ दिनदेखि अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै छ ।

युरोप र अमेरिकामा अत्यधिक गर्मी बढेपछि नागरिकका लागि एड्भाइजरी जारी  गरिएको छ । इटालीमा हिजो तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो । अत्यधिक गर्मीका कारण चीन, अमेरिका र युरोपमा तातो आवा अर्थात लू चल्ने चेतावनी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*