विद्यालय तहबाटै नागरिक चेतना विकासमा सामाजिक शिक्षकको भूमिका महत्वपूर्ण
हेटौंडा । जनपत्र मिडिया प्रालि, हेटौंडा–२ को आयोजना तथा UNDP संसद सहयोग परियोजनाको सहकार्यमा मकवानपुरका दुई स्थानीय तहका सामाजिक विषय अध्यापन गराउने शिक्षकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
हेटौंडामा आयोजित कार्यक्रममा अन्तर्गतका विद्यालयमा कार्यरत सामाजिक शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सामाजिक विषयको महत्व, विद्यार्थीमा नागरिक चेतना विकास, संसदीय प्रणालीको अभ्यास तथा लोकतान्त्रिक मूल्यबारे छलफल गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सामाजिक विषयको अर्थ र यसको विद्यालय तहमा रहेको महत्वबारे विशेष प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतिमा सामाजिक भन्नाले समाजसँग सम्बन्धित सबै पक्षहरू मानिसबीचको सम्बन्ध, व्यवहार, संस्कृति, मूल्य, मान्यता, परम्परा र सहकार्यलाई समेट्ने विषय भएको उल्लेख गरिएको थियो।
वक्ताहरूले मानिस एक्लै बाँच्न नसक्ने र परिवार, समुदाय तथा राष्ट्रसँग जोडिएर जीवनयापन गर्ने भएकाले सामाजिक विषयले विद्यार्थीलाई समाजको संरचना, जिम्मेवारी र भूमिकाबारे बुझ्न महत्वपूर्ण आधार तयार गर्ने बताए। सामाजिक अध्ययन केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक जीवन जिउने तरिका सिकाउने विषय भएको उनीहरूको भनाइ थियो।

कार्यक्रममा विद्यालय स्तरमा सामाजिक विषयको महत्व निकै गहिरो रहेको उल्लेख गर्दै जनजागृति माविका सामाजिक शिक्षक मान कुमार दाहाल, ज्ञानदिप शिक्षा निकेतन माविका शिक्षक गोपाल प्रसाद खतिवडा, आधुनिक माविका शिक्षक लक्ष्मी खनाल, जाल्पा देवि माविका शिक्षक गंगा देवि गौतम, ज्ोती माविका शिक्षक निर्जना चौलागाई लगायतकाले यसले विद्यार्थीलाई असल नागरिक बन्ने आधार तयार गर्ने, समाजमा घुलमिल हुने क्षमता विकास गर्ने, सहकार्य, नेतृत्व तथा विविधताबीच सद्भाव कायम गर्ने सीप सिकाउने विषयमा जोड दिइयो।
सामाजिक शिक्षकहरूलाई सशक्त बनाउँदै विद्यार्थीहरूको नागरिक चेतना विकास गर्ने सक्षम सल्लाहकारका रूपमा स्थापित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। अभिमुखीकरण तथा अन्तरक्रियामार्फत शिक्षकहरूलाई संसदीय प्रक्रिया, लोकतान्त्रिक मूल्य र जिम्मेवार नागरिकतासम्बन्धी ज्ञान र सीपले सुसज्जित बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रममा विद्यालयको सामाजिक अध्ययनलाई केवल सैद्धान्तिक नभई व्यवहारिक र जीवनमुखी बनाउने उपायहरूबारे पनि छलफल भएको थियो। शिक्षकहरूलाई विद्यालयको विद्यमान पाठ्यक्रमभित्र संसदीय तथा नागरिक शिक्षा समेट्ने कार्ययोजना बनाउन प्रेरित गरिएको जनाइएको छ। यसले विद्यालयस्तरमै नागरिकतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
छलफलका क्रममा पछिल्लो समय बालबालिकामा सामाजिक घुलमिलको अवस्था किन कमजोर हुँदै गएको भन्ने विषय पनि उठाइएको थियो। वक्ताहरूले डिजिटल दुनियाँको प्रभाव, मोबाइल, गेम र सामाजिक सञ्जालले बालबालिकाको समय र ध्यान धेरै ओगटेकाले प्रत्यक्ष भेटघाट, खेलकुद र आमनेसामने संवाद घट्दै गएको बताए। यसले सामाजिक सीप विकास हुने अवसर कम गराएको उनीहरूको भनाइ थियो।
त्यस्तै, संयुक्त परिवारको संरचना घट्दै गएर साना परिवारमा सीमित हुँदा बालबालिकाले विभिन्न उमेर समूहसँग घुलमिल हुने अवसर कम पाएको तथा शैक्षिक दबाब र परीक्षा केन्द्रित प्रणालीले सहकार्य, समूहगत सिकाइ र नेतृत्व विकासका पक्षहरूलाई कमजोर बनाएको विषयमा पनि चर्चा गरिएको थियो।
कार्यक्रममा तीन तहका सरकार र संसदीय प्रणालीजस्ता विषय विद्यार्थीलाई सहज रूपमा कसरी बुझाउने भन्ने विषयमा पनि प्रस्तुतीकरण गरिएको थियो। वक्ताहरूले संघीय सरकारलाई अभिभावक, प्रदेश सरकारलाई समन्वयकर्ता र स्थानीय सरकारलाई प्रत्यक्ष काम गर्ने निकायका रूपमा उदाहरण दिएर सिकाउँदा विद्यार्थीले सहजै बुझ्ने बताए।
विद्यालय, सडक, सरसफाइ, स्वास्थ्य सेवा जस्ता दैनिक जीवनसँग जोडिएका विषय कुन तहको सरकारसँग सम्बन्धित छन् भन्ने व्यावहारिक उदाहरणमार्फत सिकाउँदा विद्यार्थीको बुझाइ अझ प्रभावकारी हुने निष्कर्ष निकालिएको थियो।
कार्यक्रममा संसदीय प्रणालीलाई कक्षाकोठामै अभ्यासका रूपमा लागू गर्ने उपायबारे पनि चर्चा गरिएको थियो। विद्यार्थीलाई सांसद, सरकार र सभामुखको भूमिकामा राखेर संसदको सानो अभ्यास गराउँदा बहुमत, सरकार गठन, प्रश्न–उत्तर तथा निर्णय प्रक्रियालाई व्यवहारमै बुझाउन सकिने सुझाव दिइएको थियो।
यसरी गरिएको अभ्यासले विद्यार्थीलाई लोकतन्त्र कसरी सञ्चालन हुन्छ, सरकार कसरी जवाफदेही हुन्छ, बहुमतको आधारमा निर्णय कसरी लिइन्छ र सबैको आवाज कसरी सुनिन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान दिने सहभागी शिक्षकहरूले बताएका छन्।
आयोजकका अनुसार यस्ता कार्यक्रमले सामाजिक शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालय तहबाटै लोकतान्त्रिक संस्कार, जिम्मेवार नागरिकता र संसदीय अभ्यासबारे सचेत नागरिक उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा बागमती प्रदेशसभा सचिवालयका सचिब राम कुमार पौडेलले बिद्यालयका सामाजिक विषय अध्यापन गराउने शिक्षकहरुका लागि यस्ता कार्यक्रम गरिनु अत्यन्त प्रभावकारी भएको बताउनुभयो । प्रदेशसभाले पनि बिगतका वर्ष र यो वर्ष विद्यालय स्तरमा गएर नमुना संसद कार्यक्रम गरिदै आएको बताउनुभयो । संघीय संसदमा लामो समय सम्म काम गरेको र त्यो अनुभव अहिले बागमती प्रदेशसभामा काम गरेको बताउँदै उहाँले भन्नुभयो–‘विद्यालयहरुले संसदका काम कार्बाहीका बारेमा जानकारी दिनका लागि विद्यार्थीहरुलाई प्रदेशसभाको अवलोकन पनि गराउँदा सामाजिक विषयलाई थप प्रभावकारी रुपमा बुझाउन सकिने छ ।’

शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीले सामाजिक विषयको ठुलो महत्व भएपनि बिद्यालयहरुले कम महत्व दिएको बताउनुभयो । यो विषयमा पाठ्य पुस्तकको पनि समस्या हुने गरेको उहाँले बताउनुभयो । यस कार्यक्रमले शिक्षकहरुलाई केही सिक्नका लागि सहयोग पुगेको बताउनुभयो । अहिले अरु जिल्लाबाट समेत हेटौंडामा गुणस्तरिय शिक्षा लिन आउनेहरु बढ्दै गएको समय उहाँले बताउनुभयो । कार्यक्रममा श्रमिक माध्यमिक बिद्यालय हेटौंडाका प्रधानध्यापक तथा सामाजिक बिद्यालयका शिक्षक श्रीराम दाहालले सामाजिक शिक्षा र अहिलेको परिवेशका बारेमा विस्तृत रुपमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले समग्र सामाजिक क्षेत्रका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।







