मकवानपुरको टिष्टुङमा तीन वर्षे जात्रा सुरु, परम्परा, तान्त्रिक विधि र आस्थाको अद्वितीय संगम

जनपत्र
१९ बैशाख २०८३, शनिबार १८:४३

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–६ टिष्टुङ बज्रबाराहीमा हरेक तीन वर्षको अन्तरालमा आयोजना हुने ऐतिहासिक बज्रबाराही जात्रा शनिबारदेखि सुरु भएको छ। वैशाख पूर्णिमाका अवसरमा मनाइने यो जात्रा तीन दिनसम्म विशेष धार्मिक विधि, पूजा–आराधना र सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन हुने परम्परा रहँदै आएको छ।

स्थानीय परम्पराअनुसार चण्डीपूर्णिमाको दिनबाट सुरु हुने जात्राको पहिलो दिन गाउँ–गाउँबाट विभिन्न देवताहरूलाई बाजागाजासहित टिष्टुङस्थित बज्रबाराही पीठमा ल्याएर स्थापना गरिन्छ। दोस्रो दिन, अर्थात् पूर्णिमापछिको शनिबार, स्थानीय बस्तीका हरेक घरधुरीबाट पूजा सामग्री र बलीसहित देवीलाई चढाइने गरिन्छ। तेस्रो दिनमा गाउँबाट ल्याइएका देवताहरूलाई पुनः विधिपूर्वक आफ्ना स्थानमा फर्काइन्छ।

स्थानीय विश्वासअनुसार टिष्टुङको बज्रबाराही देवीलाई यस क्षेत्रको इष्टदेवताको रूपमा पूजा गरिन्छ। देवीको आराधनाले मानव कल्याण, समृद्धि र क्षेत्रको रक्षा हुने धार्मिक मान्यता रहिआएको छ। यही आस्थाका कारण हरेक तीन वर्षमा हजारौँ भक्तजन जात्रामा सहभागी हुने गरेका छन्।

टिष्टुङको बज्रबाराहीलाई बज्रबाराही मन्दिरस्थित प्रसिद्ध बज्रबाराही मन्दिरको ‘आमा’का रूपमा लिइन्छ। स्थानीय जनविश्वासअनुसार उपत्यकाको रक्षा गर्ने चार बाराहीमध्ये ललितपुरको बज्रबाराही विशेष मानिन्छ, जसको निर्माण नेपाल सम्वत् ७८६ मा निवास मल्लले गराएको इतिहास रहेको छ।

स्थानीय तह र गुठी व्यवस्थापन समितिको समन्वयमा जात्राको सम्पूर्ण व्यवस्थापन भइरहेको छ। वडा नं। ६ का अध्यक्ष राजनभक्त श्रेष्ठका अनुसार जात्राको धार्मिक, सांस्कृतिक र व्यवस्थापकीय पक्षलाई व्यवस्थित बनाउन वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समिति सक्रिय छन्।

जात्रा सञ्चालनका लागि गुठीको नाममा रहेको २०४ रोपनी जग्गाबाट प्राप्त आम्दानी मुख्य स्रोत बनेको छ। यही आम्दानीबाट जात्रा व्यवस्थापन, मन्दिर सञ्चालन र अन्य धार्मिक गतिविधि सञ्चालन हुँदै आएको छ।

यस क्षेत्रको सामाजिक तथा सांस्कृतिक संरचनासँग जोडिएको यो जात्रामा विभिन्न जातजातिका समुदायले आ–आफ्नै मौलिक भेषभूषा, संस्कृति र बाजागाजासहित सहभागिता जनाउने परम्परा छ। जात्राको व्यवस्थापनका लागि १३ वटा गुठी क्रियाशील छन्। तीमध्ये गणेश गुठी, कुमारी गुठी, बाराही गुठी, इन्द्रायणी गुठी, भैरव गुठी तथा बाजा व्यवस्थापन गुठीलगायतका गुठी प्रमुख मानिन्छन्। एउटा गुठी नेपाल सरकारको नाममा समेत सञ्चालित रहेको बताइन्छ।

जात्राको अर्को विशेष पक्ष भनेको बली प्रथासँग जोडिएको परम्परा हो। जात्रा सुरु हुनुअघि नै बज्रबाराही पीठमा बलीका लागि दुई वटा राँगा खुला रूपमा छाडिन्छन्। धार्मिक मान्यताअनुसार ती राँगालाई कुट्न, लखेट्न वा थुन्न निषेध गरिएको छ। ती जहाँ पुगे पनि स्थानीयले सम्मानपूर्वक पिठोलगायतका खानेकुरा खुवाएर पठाउने चलन रहेको छ।
जात्राको मुख्य दिन आउनुअघि पुजारीहरूले आइतबारदेखि शुक्रबारसम्म मध्यरातमा मन्दिर परिसरभित्र विशेष तान्त्रिक पूजा गर्ने चलन छ, जसलाई स्थानीय भाषामा ‘चा पूजा’ भनिन्छ। नेवारी भाषामा ‘चा’ को अर्थ रात हुने भएकाले यसलाई रात पूजा भनिन्छ।

स्थानीयवासी महेश्वर महर्जनका अनुसार ‘चा पूजा’ गर्न जाने दुई जना पुजारी पूजा सम्पन्न गरी घर नफर्केसम्म एकअर्कासँग बोल्न नहुने, पछाडि फर्केर हेर्न नहुने कडा धार्मिक नियम छ। त्यसपछिको दिन देवीको विशेष पूजा गरिन्छ।

तान्त्रिक विधिअनुसार क्षमा पूजा सम्पन्न भएपछि स्थानीय कर्माचार्यमध्ये जसलाई देवीको शक्ति चढ्छ, उसैलाई खड्ग प्रदान गरिन्छ। यही व्यक्ति ‘खस् द्यो’ अर्थात् देवीको प्रतिनिधिका रूपमा चयन हुन्छ। चयनपछि उसले सेतो पोशाक र परम्परागत बेताली लगाएर हातमा खड्ग बोकी विशेष धार्मिक अनुष्ठानमा सहभागी हुन्छ।
जात्राको पहिलो दिन मध्यरातमा हुने विशेष पूजा यहाँको सबैभन्दा आकर्षक र रहस्यमय पक्ष मानिन्छ। यो पूजा प्रत्यक्ष अवलोकन गर्न स्थानीयदेखि बाहिरी क्षेत्रका भक्तजन राति नै मन्दिर पुग्ने गर्छन्।

यस क्रममा देउला समुदायले ल्याएको पूजा सबैभन्दा पहिले गरिन्छ, जसलाई सरकारी पूजा मानिन्छ। त्यसअन्तर्गत सर्प, भ्यागुतो, हाँस, भेडा, माछा, चरा, भाले, बोका र राँगालगायतका जीवजन्तुको बली चढाउने परम्परा अहिले पनि कायम रहेको छ।

धार्मिक आस्था, सांस्कृतिक विविधता र तान्त्रिक परम्पराको अद्वितीय संगम बनेको टिष्टुङको बज्रबाराही जात्रा मकवानपुरको मौलिक पहिचानका रूपमा स्थापित हुँदै आएको छ। तीन वर्षमा एकपटक लाग्ने यो जात्राले स्थानीय संस्कृति संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्थानीयको विश्वास छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*