हप्तामा दुई दिन बिदाको प्रभावः मकवानपुरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
हेटौंडा। हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्याससँगै मकवानपुरका प्रमुख पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ। विशेषगरी शनिबार र आइतबारको बिदालाई उपयोग गर्दै परिवार, साथीभाइ तथा समूहगत रूपमा घुम्न निस्कनेहरूको संख्या बढेसँगै जिल्लाका पर्यटकीय स्थलहरूमा चहलपहल बढेको हो।
ज्हेटौंडा उपमहानगरपालिकाभित्र रहेको शहिद स्मारक, कुस्माण्ड सरोवर त्रिबेणीधाम, बनस्खण्डी, मकवानपुरगढी, थाहा नगरपालिकाको दामन, पालुङ, इन्द्रसरोवर लगायतका क्षेत्रमा पर्यटकहरु बढेका हुन् । यी क्षेत्रमा पछिल्ला केही सातादेखि आन्तरिक पर्यटकको उपस्थिति उल्लेख्य रूपमा बढेको स्थानीय व्यवसायीहरूले बताएका छन्।
विशेषगरी राजधानी काण्डमाण्डौ, मकवानपुर, चितवन, धादिङ, सिंधुली तथा आसपासका जिल्लाबाट छोटो समयमै पुग्न सकिने भएकाले मकवानपुरका गन्तव्यहरू छोटो यात्राका लागि आकर्षक बन्दै गएको चितवनबाट शहिद स्मारक घुम्नका लागि आउनु भएका उजिर कार्की बताउँछन्।
शहिद स्मारकमा पिकनिक, पारिवारिक घुमघाम र फोटोसेसनका लागि आउनेहरूको संख्या बढेको छ भने कुस्माण्ड सरोवर त्रिबेणी धाममा धार्मिक पर्यटकको चाप बढेको छ। त्यसैगरी मकवानपुरगढीमा ऐतिहासिक स्थल अवलोकन गर्ने र दामन तथा इन्द्रसरोवर क्षेत्रमा प्राकृतिक दृश्यावलोकन र विश्रामका लागि पुग्नेहरूको संख्या उल्लेख्य रहेको जनाइएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार बिदाको समय बढेसँगै मानिसहरू छोटो दूरीका गन्तव्य रोज्न थालेका छन्। मकवानपुरका पर्यटकीय क्षेत्रहरू सडक पहुँच, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र ऐतिहासिक पक्षका कारण आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका हुन्।
स्थानीय होटल, रेष्टुरेन्ट तथा साना व्यवसायमा समेत पर्यटक आगमनले सकारात्मक प्रभाव परेको इन्द्रसरोवरका होटल व्यावसायी उपेन्द्र थापा बताउँछन्। पर्यटकको आगमन बढेसँगै स्थानीय अर्थतन्त्र चलायमान बन्न थालेको र पर्यटन प्रवर्द्धनमा टेवा पुगेको उनीहरूको भनाइ छ।
स्थानीय तहले पनि पर्यटकीय पूर्वाधार विस्तार, सरसफाइ, सूचना केन्द्र स्थापना तथा प्रचारप्रसारलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। पर्यटनसँगै स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा समेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मकवानपुरका पर्यटनकर्मीहरूले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नियमित कार्यक्रम, गन्तव्यको स्तरोन्नति र सहज पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका छन्। हप्तामा दुई दिन बिदाको अभ्यासले छोटो यात्राको संस्कृतिलाई बढावा दिँदा मकवानपुरका पर्यटकीय क्षेत्रले त्यसको प्रत्यक्ष लाभ लिन थालेका छन्।






