बागमती प्रदेशमा अलपत्र चौँतिस योजनाको निर्माण सुरु
हेटौँडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत लामो समयदेखि अलपत्र अवस्थामा रहेका योजनामध्ये ३४ वटाको निर्माण पुनः सुरु भएको छ ।
कुल ४३ वटा रुग्ण योजनामध्ये अधिकांशमा काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको ‘रुग्ण आयोजना पहिले सक्ने’ नीति अनुसार पूर्वाधार विकास कार्यालय मकवानपुर अन्तर्गत पर्ने विभिन्न योजनाले गति लिन थालेका हुन् । मकवानपुर गढीको सामरी, सिक्रे दोभान, लालझाडी पुल तथा राप्ती कोरिडोरलगायतका आयोजना पुनः सञ्चालनमा आएका छन् ।
हेटौँडा उपमहानगरपालिका–६ र ७ जोड्ने भाङटार खहरेखोलाको बक्सपुल निर्माण अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाले सुरु गरेको तर अधुरो रहेको उक्त पुल प्रदेश सरकारले करिब एक करोड ७९ लाख रुपियाँ विनियोजन गरेपछि सम्पन्न हुने अवस्थामा पुगेको हो । करिब १८ मिटर लम्बाइ र ८.४० मिटर चौडाइ रहेको पुलमा रेलिङ राख्ने काम मात्रै बाँकी रहेको छ ।
त्यसै गरी डिजाइन समस्याका कारण सुस्त बनेको हेटौँडा–१ स्थित राप्तीखोलामा लालझाडी जोड्ने पुलको निर्माण पनि तीव्र गतिमा अघि बढेको छ । तीनमध्ये दुई स्पानको ढलान सम्पन्न भइसकेको छ भने तेस्रो स्पानको काम सुरु हुने तयारीमा रहेको जनाइएको छ । हालसम्म ५९ प्रतिशत भौतिक प्रगति भएको उक्त पुलको लागत करिब नौ करोड ३२ लाख रहेको छ ।
चौकीटोलदेखि राप्ती पुलसम्मको २.३४ किलोमिटर राप्ती कोरिडोर निर्माण पनि डिजाइन र सीमा विवाद समाधानपछि तीव्र गतिमा भइरहेको छ । आयोजनाको हालसम्म ६३ प्रतिशत भौतिक प्रगति भएको छ । यसै गरी हेटौँडा–१७ र १८ जोड्ने कर्राखोलाको पुल ८८ प्रतिशत सम्पन्न भएर पनि अदालती प्रक्रियाका कारण रोकिएकोमा अब विवाद समाधान भएसँगै काम पुनः सुरु हुने भएको छ ।
चक्रपथ परियोजना अन्तर्गत हेटौँडा–१४ र १५ को खहरेक्षेत्रमा ढलान, फुटपाथ र ग्याबियन वाल निर्माण कार्य भइरहेको छ । हालसम्म उक्त योजनाको भौतिक प्रगति ३८ प्रतिशत पुगेको छ । भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले योजना तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिँदै रोकिएका आयोजना तत्काल अगाडि बढाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले आवश्यकता अनुसार कामदार थपेर निर्माण कार्यलाई गति दिन निर्माण व्यवसायीलाई समेत निर्देशन दिनुभएको छ । गोर्खापत्रबाट ।






