कण्डम किन्न केको लाज ?

जनपत्र
१२ चैत्र २०७५, मंगलवार १६:०७

पसलमा महिला छिन् कि पुरुष हेर्छन् । महिला भए पुरुष ग्राहक आउन्न, पुरुष भए महिला । वरपर अरु ग्राहक छन् भने नजिकै आएर चुपचाप उभिन्छन् । जब पसलमा ग्राहक पातलिन्छन्, सुस्तरी माग्छन्, ‘ऊ दिनुस् न ।’ अधिकांश मेडिकल सञ्चालकले ग्राहकको हाउभाउका आधारमा भाषा बुझ्छन् । प्याकेट सिधै हातमा लिन पनि हच्किन्छन् । पत्रिकाले बेरेर, लुकाएर दिनुपर्छ । स्वाट्ट लिन्छन्, फटाफट हिँडिहाल्छन् । यस्तो व्यवहार देख्दा लाग्छ, ती व्यक्तिले जे किने त्यसको पोल खुल्यो भने बर्बादै हुन्छ तर किनेका हुन्छन्, कण्डम ।

शहरी दृश्य नै हो माथिको ।
समाज बद्लिँदै छ तर शहर होस् या ग्रामीण भेग– परिवार नियोजनको साधन कण्डम बारेको धारणा उस्तै देखिन्छ ।

कण्डम यौन सम्बन्धसँग मात्र जोडिने पाटो हैन, स्वास्थ्यसँग समेत जोडिन्छ । एड्स लगायतका सरुवा रोगबाट जोगिने उपाय पनि अस्थायी साधन कण्डमै त हो !

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा ३१ हजार २० जना एचआइभी संक्रमित छन् । त्यसमा १९ हजार २० पुरुष र १२ हजार महिला रहेको केन्द्रका उपस्वास्थ्य प्रशासक पुरुषोत्तम राज सेढाईँ बताउँछन् ।

नेपालको वयस्क (१५ देखि ४९ वर्ष उमेर समूह) जनसंख्यामा एचआइभीको व्याप्तता दर ०.५ प्रतिशत छ । अध्ययनअनुसार नेपालमा करिब ७७ प्रतिशत एचआइभी संक्रमण कण्डमबिना गरिने यौन सम्पर्कले भएका छन् । यसबाहेक करिब १० प्रतिशत व्यक्तिमा विभिन्न यौनजन्य रोग देखिएका छन् ।

यही तथ्यांकले देखाउँछ, कण्डम केवल यौन मनोरञ्जनका लागि मात्रै प्रयोग हुने साधन हैन, यो गम्भीर रोगबाट जोगाउने साधन पनि हो । तर यो पनि स्वास्थ्यका अन्य साधन जस्तै हो भन्ने सोचको विस्तार हुन नसक्दा कण्डम शब्दै उच्चारण गर्न अधिकांश अझै हिच्किचाउँछन् ।

हिजो टेलिभिजनमा ‘झिल्केदाइ छ–छैन कण्डम’ भन्ने विज्ञापन बज्दा जसरी संकोच मान्थे, अहिले पनि उस्तै अवस्था देखिन्छ । अरुले सुन्ने गरी कण्डम भन्न पनि लाजले भुतुक्कै हुन्छन् अहिलेको पुस्ता ।
३१ वर्षीय अभिनेता सुशान्त कार्कीकै अनुभव पढौँ न ।

उनी अहिले पनि कण्डम किन्न बढो लजाउँछन् रे ! कण्डम किन्न गएको पसलमा महिला विक्रेता छिन् भने त उनी कण्डमै नकिनी फर्किन्छन् । भिडभाड भए पनि किन्दैनन् ।
सुनसान भएपछि सानो स्वरमा माग्छन् र दायाँबायाँ कसैले देख्लान् कि भनेर स्वाट्टै गोजीमा हालेर हिँड्छन् ।

महिलाले प्रयोग गर्नसक्ने कण्डम पनि बनिसकेको छ । आवश्यक परे नेपालमा पनि किन्न सकिन्छ तर अधिकांश महिला आफूले प्रयोग गर्ने भन्दा पनि आफ्नो पार्टनरका लागि कण्डम किन्न मेडिकल स्टोर जान्छन् । र, उनीहरुको व्यवहार पनि पुरुषको भन्दा भिन्न हुँदैन ।

कोटेश्वरस्थित रिया फार्मेसीका सञ्चालक प्रदीप देवको अनुभवमा धेरैजसो महिलाले बाहिर अर्कै कागजले प्याकिङ गरेर मात्र कण्डम किनेर लैजान्छन् ।

‘भिडभाड भएको समयमा महिलाले कण्डम किन्दैनन्,’ देवले अनुभव सुनाए, ‘पर्खिएर, भिडभाड हटेपछि मात्र कण्डम किन्छन् ।’ महिला र पुरुष ग्राहक एकैचोटि पसलमा आए भने दुवै लजाउने गरेको उनले सुनाए ।

उनको अनुभवमा कण्डम मात्रै हैन, महिला–पुरुष दुवै आई–पिल, नीलोकनजस्ता अस्थायी साधन किन्न पनि उत्तिकै संकोच मान्छन् ।

‘कण्डम किन्न आउने अधिकांश २५ वर्षभन्दा माथिका हुन्छन्,’ देवले भने, ‘कसैले खोल सहितै लैजान्छन्, कसैले खोल पसलमै फ्याँकेर लैजान्छन् । कण्डम, किन्दा आँखासमेत जुधाउन सक्दैनन् । शहरी क्षेत्रमा पनि यसरी लजाएको देख्दा म छक्कै पर्छु ।’

(माेडल ः साेनिका राेकाया, तस्बिर ः कृष्पा श्रेष्ठ)

त्रिपुरेश्वरस्थित नीलम औषधि घरका सञ्चालक निरज मालाकारका अनुसार उनको पसलमा कण्डम किन्न महिला–पुरुष सराबरी नै आउँछन् । उनको पसलमा प्रायः बेलुकाको समयमा अस्थायी साधन बढी बिक्छन् । माग्दा भने अवस्था लाजले रातोपीरो हुँलाझैँ गर्छन् ।

‘अस्थायी साधन पनि अन्य औषधि किनेजस्तै त हो नि,’ उनले भने, ‘तर यत्ति धेरै संकोच मान्छन् कि देख्दै हाँसो लाग्छ ।’

गौशालास्थित दीपक फर्माका सञ्चालक दीपक मानन्धरको अनुभवमा यौनकर्मीले निर्धक्क कण्डम माग्छन्, अरु भने लजाउँछन् । सामान्य गृहिणी त अति संकोच मान्छन् नै, भिडभाडमा पुरुषले पनि आई–पिल, कण्डम माग्ने आँट गर्दैनन् ।

‘पसलमा अरु ग्राहक नगई माग्दै माग्दैनन्,’ उनले भने, ‘पसलअगाडि उभिएर पर्खिरहन्छन् । अनि के किन्न आए बुझिहालिन्छ ।’

उनको अनुभवमा कण्डम, पिल्स किन्न आउनेमा विवाहित नै बढी हुन्छन् ।

कण्डम हाउसमा लाज कम
कण्डम त पान पसलमा पनि पाइन्छ तर अन्य अस्थायी साधन मेडिकल पसलमा मात्रै पाइन्छ । पछिल्लो समय ग्राहकको यही बानी देखेर यौनसँग सम्बन्धित सामग्री मात्रै बिक्री गर्ने पसलहरु पनि खुलेका छन् ।
यौनसँग सम्बन्धित सामग्री मात्रै बेच्ने पसलमा जाँदा मेडिकल पसलमा आउने ग्राहकको तुलनामा त्यस्ता पसलमा आउने ग्राहक अलि कम लजाउने गरेको पाइयो ।

नेपाल कण्डम हाउसका सञ्चालक युवराज न्यौपाने आफ्नो पसलमा अस्थायी साधनसँगै यौनसँग जोडिने सामग्री किन्न महिला पुरुष बराबरी नै आउने गरे पनि त्यत्ति धेरै नलजाउने बताए । उनको अनुभवमा कण्डम किन्न पुरुष भन्दा महिला नै बढी सचेत छन् ।

‘पुरुषहरु दिनुस् भन्छन्, पैसा तिर्छन्, गोजीमा हालेर हिँडिहाल्छन्,’ उनले भने, ‘महिलाले भने विशेषताका बारेमा सोधखोज गर्छन्, ब्रान्ड सोध्छन् अनि मात्रै लैजान्छन् ।’

नाइस एन नट्टीका सञ्चालक प्रवीण ढकालको अनुभवमा पनि कण्डम किन्ने मामिलामा पुरुषभन्दा महिला नै बढी सचेत छन् । आफ्नो पसलमा आउने महिला ग्राहकले छानीछानी लाने गरेको तर पुरुषले माग्नासाथ हिँड्नै हतार गर्ने गरेको ढकालले बताए ।

‘पहिला त धेरै लजाउँथे, अहिले अलि कम भएको देखिन्छ,’ उनले शुक्रवारसँग भने, ‘तैपनि पुरुष भन्दा त महिला नै सोधखोज गर्छन्, प्याकेटमा रहेको डेट हेर्छन्, मूल्य हेर्छन् अनि मात्र किन्छन् ।’

पुरानो बसपार्कस्थित द कान्तिपुर कण्डम हाउसका सञ्चालक समीर बोहराको अनुभवमा पसलमा धेरै पुरुष छन् भने कण्डम किन्न महिला अझै पनि अप्ठेरो मान्छन् । बरु पर्खेर खाली भएको समयमा कण्डम किन्छन् ।

१५ रुप्पेदेखि हजारसम्म
नेपाली बजारमा डटेड कण्डम, रिब्ड, फ्लेबर, कन्ट्रुड कन्ड्रोल, स्पाइक लगायत विशेषता भएका कण्डम बिक्री हुने गरेका छन् ।

डटेड ,रिब्ड, कन्ट्रुड, स्पाइकले बढी घर्षण हुने भएकाले भेजाइना सुक्खा हुनेले यसको प्रयोग नगरेको राम्रो हुने वितरकहरु बताउँछन् । पछिल्लो समय पातलो कण्डम पनि बजारमा सहजै पाइन्छ । प्रायः पुरुषले यस्तो कण्डम रोज्छन् ।

विशेषताअनुसार कण्डमको मूल्य तोकिएको हुन्छ । नेपाली बजारमा गोटाको १५ रुपैयाँ पर्नेदेखि एक हजारसम्म मूल्यका कण्डम पाइने व्यापारीहरुले जानकारी दिए ।

पेशेवरको आफ्नै भाषा
व्यापारीसँगको कुराकानीमा अधिकांश ग्राहकले ठाडै ‘कण्डम दिनुस् न’ भनेर माग्दैनन् । अधिकांशले ब्रान्डको नाम लिन्छन् । पेशेवर यौनकर्मीहरुले यसका लागि आफ्नै कोड भाषा बनाएको फेला प¥यो ।

व्यापारी बोहराका अनुसार उनको पसलमा यौनको अस्थायी साधन किन्न आउने धेरैजसो ग्राहक पेशेवर यौनकर्मी हुन्छन् । उनीहरुले कण्डम माग्दा ‘सामान चाहियो’ भन्छन् रे !

वीर अस्पताल छेउको किरण सन्तोष फर्माका सञ्चालक सन्तोष बास्तोलाका अनुसार उनीकहाँ कण्डम किन्न आउने पेशेवर यौनकर्मीले ‘क्याप’, ‘टोपी’, ‘सेफ्टी’ जस्ता भाषामा कण्डम माग्छन् । आई–पिल किन्दा केहीले ७२ घण्टे भनेर माग्ने रहेछन् ।

कण्डममा पनि विदेशकै भर
नेपालमा पिल्स लगायतका केही अस्थायी साधन उत्पादन हुने गरे पनि कण्डम भने अझै उत्पादन हुँदैन । नेपालमा प्रयोग हुने सबै कण्डम आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा बाङ्लादेश, चीन, भारत, इन्डिया, कोरिया, ल्यात्भिया, मलेशिया, थाइल्यान्ड, जापान, भियतनाम, कम्बोडिया, स्पेनजस्ता मुलुकबाट कण्डम आउँछन् ।
विभागमा कुन प्रकृतिको अस्थायी साधन नेपाल आयात भइरहेका छन् भन्ने शीर्षक अनुसारको विवरण भने फेला परेन । एचएस कोडका आधारमा आयातित अस्थायी साधनलाई एकमुष्ठ ‘शेथ कन्टा«सेफ्टिभ’ भनेर तथ्यांक राख्ने गरेको पाइयो ।

औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार रबर कण्डमलाई ‘शेथ कन्टा«सेफ्टिभ’ भनिन्छ ।

‘शेथ कन्ट्रासेफ्टिभ’मा महिला र पुरुष कण्डम पर्छन्,’ अध्यक्ष दाहालले भने, ‘संगिनी सुई, पिल्सजस्ता अस्थायी साधन औषधिअन्तर्गत पर्छन् ।’

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार तीन वटा औषधि उत्पादक कम्पनीले गर्भनिरोधक चक्की उत्पादनको अनुमति लिएर काम गरिरहे पनि कण्डमको अनुमति भने नलिएको जानकारी दिए ।
‘नेपालमा ७२ घण्टे पिल्स उत्पादन हुन्छ, कण्डम हुँदैन,’ उनले भने ।

२१ करोडको कण्डम 
भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालीले हरेक वर्ष २१ करोड रुपैयाँ हाराहारीको कण्डम प्रयोग गर्छन् । आर्थिक वर्ष २०७२÷०७३ मा २१ करोड ११ लाख मूल्य बराबरको करिब ४ लाख ५७ हजार किलो कण्डम नेपाल भित्रिएको थियो ।

आर्थिक वर्ष ०७३÷०७४ मा ११ करोड ५६ लाखको कण्डम भित्रिएका थिए ।  २०७४÷०७५ मा १९ करोड ९३ लाखको तीन लाख सात हजार किलो हाराहारीमा कन्टा«सेफ्टिभ आयात भएको छ ।
०७५÷०७६ को पहिलो ६ महिनामा ६ करोड ७८ लाख मूल्य बराबरको कण्डम नेपाल आइसकेको छ ।

जानकार छन् प्रयोगकर्ता
नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे (एनडिएचएस—२०१६) को अध्ययनअनुसार नेपालमा ९९ प्रतिशत महिला परिवार नियोजनका अस्थायी साधनबारे जानकार छन् । ९८ प्रतिशत महिला स्थायी बन्ध्याकरणबारे जानकार छन् । पुरुष कण्डम प्रयोगका बारे ९६ प्रतिशत महिला जानकार देखिएका छन् ।
सर्भेअनुसार ९३ प्रतिशत महिला पिल्सजस्ता गर्भनिरोधक चक्कीबारे जानकार छन् । कण्डमबारे सतप्रतिशत पुरुष जानकार छन् ।

महिलाको अस्थायी साधनबारे ९५ प्रतिशत पुरुष जानकार देखिए । पुरुषको स्थायी बन्ध्याकरण (भासेक्टोमी) बारे ९४ प्रतिशत पुरुष जानकार देखिएकोे यौन रोग नियन्त्रण केन्द्रका उपस्वास्थ्य प्रशासक  सेढाइँले बताए ।

जति जानकार छन्, त्यति प्रयोगकर्ता भने छैनन् । नेपालमा कण्डम लगायतका परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या करिब ४३ प्रतिशत मात्र रहेको देखिन्छ ।

प्रजनन् उमेरका २४ प्रतिशत महिलामा परिवार नियोजनका साधनको माग अपुग रहेको केन्द्रको निष्कर्ष छ । केन्द्रको अध्ययनअनुसार नेपालमा औसतमा १७ वर्ष ९ महिनामा महिलाले पहिलोपटक यौन सम्पर्क गरेको पाइन्छ । पुरुषले भने औसतमा २० वर्ष पार गरेपछि यौन सम्पर्क गरेको पाइन्छ ।

स्वास्थ्य सेवा विभागको वार्षिक रिपोर्ट (०७२÷७३) अनुसार नेपालमा पहिलो पटक परिवार नियोजनको अस्थायी साधन अपनाउनेमध्ये ३५ प्रतिशत व्यक्तिले डिपोजस्ता परिवार नियोजनका अस्थायी साधन अपनाउँछन् ।

३२ प्रतिशतले कण्डम, १७ प्रतिशतले पिल्स, १२ प्रतिशतले इम्प्लान्ट र चार प्रतिशतले आइयुसिडी अपनाउँछन् । यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार ८ प्रतिशत पुरुषले मात्र कण्डम प्रयोग गरिरहेका छन् ।

नागरिकन्युजबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*