हेटौंडा अस्पतालको रूपान्तरण यात्राः सुविधा सम्पन्न नयाँ भवनसँगै स्वास्थ्य सेवा विस्तारको आशा
हेटौंडा । हेटौंडाको मुटुमा अवस्थित हेटौंडा अस्पतालमा तीव्र गतिमा निर्माण भइरहेको तीन वटा ब्लकको आधुनिक संरचना अब अन्तिम चरणमा पुगेको छ । कहिले रोगको सिकार भएर अस्पताल पुग्नेहरू, कहिले सेवाको अभावमा हैरान हुने जनताले अब भने आशाको उज्यालो देख्न थालेका छन् ।
२०७८ साल असार १८ गते औपचारिक सम्झौता गर्दै सुरू गरिएको यो भवन निर्माण, केवल इँटा, सिमेन्ट र फलामको संरचना होइन, यो सँगै जोडिएको छ—एक दशकदेखिको जनअपेक्षा, स्वास्थ्य सेवा विस्तारको सपनाहरू, र थुप्रै बिरामीहरूको उपचारमा सहजता ल्याउने भविष्यको आधार ।
हेटौंडा अस्पतालः पुरानो इतिहास र नयाँ चुनौती
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालनमा रहेको हेटौंडा अस्पताल मकवानपुर जिल्लाको प्रमुख स्वास्थ्य सेवा केन्द्र हो । यसले केवल मकवानपुर मात्र होइन, बारा, पर्सा, रौतहट जस्ता जिल्लाबाट समेत आएका बिरामीहरूलाई सेवा दिँदै आएको छ ।
तर, बिरामीको चाप दिनदिनै बढ्दै गए पनि पूर्वाधार भने पुरानै अवस्थामा थियो । तीन सय बेडको अस्पतालमा दिनहुँ करि एक हजार जना भन्दा बढी बिरामी उपचार गर्नुपर्ने अवस्था छ । त्यसमा पनि आकस्मिक कक्ष, ओपीडी सेवा, विशेषज्ञ परामर्श सबै एउटै भवनमा ठोक्किने, ठाउँको अभावमा विरामीलाई रिफर गर्नुपर्ने बाध्यता पनि छ ।
नयाँ भवनः आधुनिकता र सुविधा एकसाथ
सहरी विकास तथा भवन कार्यालय हेटौंडाले विकेवाइ नब सिर्जनशिल निर्माण कम्पनि मार्फत भवन निर्माणको ठेक्का मार्फत काम भइरहेको हो । हाल निर्माणाधीन यो भवन एक नमुना संरचना बन्न लागेको छ ।
कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अङ्कित श्रेष्ठका अनुसार, तीन वटा ब्लकमध्ये एउटा ब्लकमा अण्डरग्राउण्डसहित ६ तला र बाँकी दुई ब्लकमा ५–५ तला निर्माण गरिएको छ । अहिले अन्तिम फिनिसिङका कामहरू—भित्ताको पेन्टिङ, स्यानिटरी फिटिङ, इलेक्ट्रिकल जडान, फर्निचर व्यवस्थापन—तीव्र गतिमा भइरहेको छ ।
अस्पतालको नयाँ भवनमा लिफ्ट जडान, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, हावादार कोठा, फायर सेफ्टी प्रणाली, सीसीटीभी र आधुनिक डिजाइन प्रयोग गरिएको छ । भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको यो भवन केवल आजको आवश्यकता हैन, भावी पिँढीका लागि पनि उपयोगी हुने बनाइएको छ ।

लागत र समयरेखा
यस भवनको निर्माण लागत २८ करोड ५४ लाख ६३ हजार रुपैयाँ रहेको छ । सहरी विकास तथा भवन कार्यालयका सब–इन्जिनियर कृष्ण साह भन्छन्, “२०७८ सालमा सम्झौता गरिएको यो संरचना भदौ २०८२ भित्र सम्पन्न गरिसक्नुपर्ने छ । अहिलेको प्रगति हेर्दा, लक्ष्य समयमै पुग्नेछ भन्ने अपेक्षा गरिएको छ ।”
यो खर्च भवनमै सीमित छैन—भोलिका दिनमा यसै आधारमा उपकरणहरू खरिद, विशेषज्ञ डाक्टर थप्ने र सेवा विस्तार गर्ने प्रदेश सरकार र मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानकोे रणनीतिक योजना समेत छ ।
२ सय नयाँ बेडः बिरामीको सहजता र आत्मविश्वास
हाल अस्पतालमा तीन सय बेड छन्, जसमा प्रायः ९०% भन्दा बढी सदैव भरिएको अवस्था हुन्छ । प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवाली भन्छन्–‘ “नयाँ संरचनामा थप दुई सय बेड राखिनेछ । त्यसपछि अस्पतालको क्षमता ५ सय बेड पु¥याइनेछ । यसले हामीलाई डायलासिस सेवा विस्तार, मुटुरोगको बिशेषज्ञ सेवा विस्तार गरिने छ । सघन उपचार सेवा, सुत्केरी वार्ड र अपरेसन थिएटर विस्तार गर्न सहयोग पु¥याउनेछ ।”

सेवा विस्तारः मृगौला प्रत्यारोपणदेखि मुटुरोग विशेषज्ञसम्म
भोलिको दिनमा प्रतिष्ठानले सञ्चालन गरेको हेटौंडा अस्पतालले गर्ने सेवा विस्तार अझ उत्साहजनक छ । उपकुलपति डा. ज्ञवालीका अनुसार, अब डायलासिस सेवा थप विस्तारित हुनेछ । अहिले बिरामीहरू चितवन वा काठमाडौँ धाउनुपर्ने बाध्यता हट्नेछ ।
साथै, भविष्यमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लक्ष्य रहेको छ । यस्तो सेवा अझैसम्म प्रदेशमै सिमित गिन्तीका अस्पतालमा मात्र उपलब्ध छ । यति मात्र हैन, मुटुरोग विशेषज्ञ, कार्डियाक केयर, महिला विशेषज्ञ, शल्यक्रिया सेवा, मानसिक स्वास्थ्य कक्षजस्ता सेवा पनि अहिले भइरहेको भन्दा थप विस्तारको तयारी छ ।
“हामी अब प्राथमिक उपचारमात्र होइन, बंशाणुगत, दीर्घकालीन र जटिल रोगहरूको उपचार पनि हेटौंडामै दिनेछौं,” डा. ज्ञवालीको भनाइ छ ।

प्रशासनिक सुधार र व्यवस्थापन प्रणाली
भवनको प्रशासनिक ढाँचा पनि नयाँ सोचअनुसार निर्माण गरिएको छ । बिरामीले अब फरक–फरक सेवाका लागि फरक तलामा जानुपर्नेछ । ओपीडी सेवा, आकस्मिक सेवा, भर्ना, एक्सरे, ल्याब, फार्मेसी, प्रशासनिक कक्ष सबै स्पष्ट रूपमा वर्गीकृत गरिएको छ । यो व्यवस्थापनले काम गर्ने स्वास्थ्यकर्मीको कार्यसम्पादन, बिरामीको चाप व्यवस्थापन, र सेवाको गति तीनवटै पक्षमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
भवनले मात्र हैन, भावना पनि बनाउँदैछ
यो भवन कङ्क्रीटको संरचना होइन, यो स्वास्थ्यप्रेमीहरूको सपना हो । गाउँबाट उपचारका लागि आउने गरिब, असहाय, अपाङ्ग, वृद्धवृद्धाको लागि यो भवनले उपचार पाउने ढोका खोल्नेछ । यो संरचना हेर्दै गर्दा एक आमाको आशा देखिन्छ—सुत्केरी हुँदा सहुलियत मिल्नेछ भनेर । एक वृद्ध बाबुको राहत देखिन्छ—अब आफ्ना सासफेर्ने दिन गाउँमै सेवा पाइनेछ भनेर ।
भवन निर्माणमा खटिएका कामदारहरूका अनुहारमा गर्व देखिन्छ । इन्जिनियर, ठेकेदार, सरकारी कर्मचारी, डाक्टर, नर्स—सबैको सामूहिक प्रयासको फल हो यो ।
एउटा अस्पताल, सयौं आशा
जब तीन वटै ब्लकका ढोका खुल्नेछन्, र सयौं बिरामी दिनहुँ नयाँ कोठामा उपचार पाउनेछन्, तब यो भवनले आफ्नो वास्तविक मूल्य देखाउनेछ । यो केवल स्वास्थ्य सेवा हैन—यो जनताको अधिकार हो, सरकारको जवाफदेहिता हो, र समृद्धिको सूचक हो।
हेटौंडा अस्पतालको यो विकास यात्राले बागमती प्रदेशका अन्य अस्पतालहरूलाई पनि प्रेरणा दिनेछ । यस्तो भव्य र उपयोगी संरचनाले अस्पताल मात्र हैन, जनताको जीवन र सोचमा पनि परिवर्तन ल्याउनेछ ।







