मिथ्या तथा भ्रामक खवर, यसको नियन्त्रणमा सरोकारवालाहरुका चासोका विषयमा सार्वजनिक सुनुवाइ

जनपत्र
५ आश्विन २०८२, आईतवार १७:२१

हेटौंडा । मिथ्या तथा भ्रामक खवर र यसको नियन्त्रणका विषयमा सरोकारवालाहरुका विचमा आज हेटौंडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । युएनडीपी संसद सहयोग परियोजनाको सहकार्य तथा जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ बालजागृति इङलिस सेकेण्डरी स्कुलमा कार्यक्रम गरिएको हो । पछील्लो समयमा सामाजिक सञ्जालहरुमा मिथ्या तथा भ्रामक सूचनाहरु धेरैनै आइरहेका छन् । सत्य र तथ्य विषय केहो र कसरी जानकारी लिन सकिन्छ भन्ने विषयमा बिद्यालयमा अध्ययनरत कक्षा ९ र १० का बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले प्रशिक्षण दिदै हरेक व्यक्तिले सूचना प्राप्त गर्नु उसको हक अधिकार रहेको र कुन् सत्य वा कुन् तथ्यहिन खवर हुन् भन्नेकुरालाई छुट्याउन जरुरी रहेको बताउनुभयो ।

आम नागरिकले सरकारी र निजी सूचनाहरु लिन सकिने बताउँदै भन्नुभयो–‘सार्वजनिक निकायहरुबाट प्राप्त हुने सूचना सबैले लिन पाउँने र नागरिकले आधिकारिक सूचना भने सरकारी वेवसाइट, सरकारी र सार्वजनिक कार्यालयका फेसबुक पेजबाट लिन सकिन्छ । त्यसमा पनि आधिकारिक व्यक्तिले गरेका हस्ताक्षर सहित लेटरप्याडमा ती सूचना र जानकारी राखिएको हुन्छ ।’

सार्वजनिक निकायहरुले नागरिकको सूचनाको हकमा उल्लेख गरेका सबै सूचना दिनुपर्ने प्रवक्ता गुप्ताले बताउनुभयो । सरकारी कार्यालयहरुले गर्ने सबै काम नागरिकका निम्ती भएको बताउँदै उहाँले भन्नुभयो–‘सरकारलाई जिम्मेवारी र जवाफदेही बनाउनका लागि सबै नागरिकले खवरदारी गर्नुपर्छ । सूचना सार्वजनिक निकायका बुकलेट, पुस्तक, सूचना पाटी, नागरिकबढापत्र लगायतमा राखिएको हुन्छ । यसबाट लिन सकिन्छ । तर, सामाजिक सञ्जालमा आएका विषयहरुलाई सबैलाई आधिकारिता ठानेर धारणा बनाउन हुँदैन ।’

कार्यक्रममा नेपाल पत्रकार महाँसंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार प्रताप विष्टले आधिकारिक सूचना र जानकारीको स्रोत पहिले पत्ता लगाउनुपर्ने बताउनुभयो । उहाँले आफ्नो प्रशिक्षणका क्रममा भन्नुभयो–‘हामीले प्रामाणिक र आधिकारिक जानकारी सरकारी निकायका वेबसाइट, आधिकारिक प्रेस विज्ञप्ति, विश्वसनीय सञ्चारमाध्यम (रेडियो, टेलिभिजन, राष्ट्रिय पत्रपत्रिका) बाट लिनुपर्छ । सामाजिक सञ्जालमा आएको कुरा मात्रमा भर पर्नु हुँदैन ।’

धेरै मानिसहरू फुर्सदमा मोबाइल प्रयोग गरेर सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब) हेर्ने गर्छन् । यसले मनोरञ्जन र समाचार दुवै दिन्छ, तर समयको ठूलो हिस्सा यतै बित्ने गरेको पाइन्ने गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालका हजारौँ विषयको सत्यता जाँच्ने तरिका पनि रहेको बताउँदै उहाँले भन्नुभयो–‘एउटै खबर विभिन्न माध्यममा आएको छ कि छैन भन्ने जाँच गर्ने । स्रोत के हो ? कसले पोस्ट गरेको हो ? विश्वसनीय छ कि छैन ? आधिकारिक निकाय वा प्रतिष्ठित मिडियाबाट पुष्टि नभएसम्म विश्वास नगर्ने ।’

सामाजिक सञ्जालमा आधिकारिक र सत्य समाचार भन्दा पनि नराम्रा र तथ्यहिन बिषय भाइरल हुने गरेको बताउँदै उहाँले भन्नुभयो–‘पहिले वास्तविकता पुष्टि गर्न विश्वसनीय समाचार स्रोतमा खोज्नु जरुरी हुन्छ । अनि मात्र आफ्नो धारणा बनाउनुहोस ।’

कार्यक्रममा जनपत्र मिडिया प्रालिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले आफ्नो प्रस्तुतीका क्रममा अहिले एआइको जवाना पनि रहेको र तत्काल फेक भिडियो र फोटो पनि बनाइने हुनाले त्यसतर्फ बुझ्न पनि आग्रह गर्नुभयो । सामाजिक सञ्जालमा देखेका वा सुनेका कुरा सीधै विश्वास गर्नु पनि नहुने उहाँले बताउनुभयो ।

कुनैपनि कुराको आधिकारिता लिनका लागि एउटै विषयमा कम्तीमा २–३ वटा विश्वसनीय मिडियामा आएको छ कि छैन हेर्ने । आधिकारिक निकाय (सरकार, प्रहरी, अस्पताल, अदालत, आयोग) का प्रेस नोट हेर्ने । अन्तर्राष्ट्रिय वा राष्ट्रिय प्रतिष्ठित सञ्चारमाध्यमले कस्तो रिपोर्टिङ गरेको छ जाँच्ने । त्यसपछी मात्र आफ्नो धारणा बनाउनका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक मोहन प्रसाद शर्माले अहिले प्रविधिको युग रहेको र यसलाई दुरुपयोग गर्नु भन्दा पनि सदुपयोग गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा आउने धेरै बिषय आउने र यसलाई भ्रामक सूचनालाई छोडेर कुनै नजानेको कुरा सिक्ने माध्यम बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिद्यालयका प्रिन्सीपल बिनोद सुवेदीले जेन–जी आन्दोलनका समयमा आफुले पनि धेरै सामाजिक सञ्जाल हेरेको र अरुले पनि त्यही गरेको बताउनुभयो । सामाजिक सञ्जालमा आउने धेरै अफवाहहरु सबैको टाउको दुखाइ पनि बनेको बताउनुभयो । कार्यक्रममा बालजागृति स्कुल व्यावस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीले भ्रामक सूचना लिनु भन्दा पनि आधिकारिक सूचना लिनका लागि आग्रह गर्नुभयो । एआइको जवाना रहेको र त्यसैबाट धेरै विषय लिने भन्दा पनि आधिकारिकतामा जोड दिनकालागि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागि बिद्यार्थीहरुले भने आफुहरुले फुर्सदको समयमा सामाजिक सञ्जाललाई सिक्ने र मनोरंजनको माध्यम बनाएको बताएका छन् । उनीहरु धेरैले सामाजिक सञ्जालमा फेसबुक, टिकटक, इन्स्ट्राग्राम, युटुब, टुइटर लगायतका सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको बताए ।

कार्यक्रममा बालजागृति स्कुलका कक्षा १० का बिद्यार्थी देविना सञ्जेल, साहस न्यौपाने, उत्सब बर्तौला, अमन जयशवाल, प्राप्ती श्रेष्ठ, प्रनिका राजथला लगायतकाले सामाजिक सञ्जाल आफुहरुले सानै कक्षा देखि चलाउँदै आएको बताए । पढाइ र सिकाइमा प्रयोग गर्नुका साथै मनोरंजनको माध्यम पनि बनाएको बताएका छन् । उनीहरुले सामाजिक सञ्जालमा भाइरल भएका विषयवस्तुलाई पत्याउने गरेको र यो कार्यक्रमपछी भने अब सत्य कुरा मात्र पत्याउने बताएका छन् । सत्य विषयमा जानकारी लिनका लागि आधिकारिक समाचारका श्रोतहरुलाई अबका दिनहरुमा प्रयोग गर्ने उनीहरुले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*