सरसफाइबारे जापानबाट के सिक्ने ?

जनपत्र
२८ आश्विन २०७६, मंगलवार ०७:२५

पहिलोपटक जापान भ्रमण गर्ने जो कोही पनि सर्वप्रथम त्यहाँको सफाइ देखेर आश्चर्यमा पर्ने गरेका छन् । यति मात्र नभएर सडकमा कतै ‘डस्टबिन’ नदेख्दा पनि मानिसहरु अचम्म मान्ने गर्दछन् । यसरी जापान त्यो देश हो जहाँ विद्यार्थीहरु छुट्टी भएपछि सीधै घर नगइ आफ्नो भागको सरसफाइ गरेर मात्र बाहिरिन्छन् ।  विद्यार्थी जीवनदेखि नै बालबालिकालाई आफूले गरेको फोहोर सफा गर्न लगाइने भएकाले पनि पछि ठूलो भएर उनीहरु यस कुरामा जिम्मेवार बन्ने गरेको बताइन्छ ।

त्यस्तै स्थानीय बासीहरु पनि सरसफाइको विषयमा अत्यन्तै संवेदनशील हुन्छन् । टोकियोको एक सरकारी अफिसका सहनिर्देशक माइको अवाने भन्छन्, “१२ वर्षको स्कुले जीवनमा हामीले सानैदेखि समय तालिका अनुरुप सफा गर्ने गरेका थियौँ । शौचालयदेखि मैदान, हामीले सबै सफा गर्र्यौँ । यता घरमा पनि बाबुआमाले सधैँ सबै व्यवस्थित र सफा राख्न सिकाउँदै आउनुभएको छ ।”

यसरी पछि आफैँले सफा गर्नुपर्ने भएकाले पनि विद्यार्थीहरु स्कुल फोहोर गर्न चाहँदैनथे जसले उनीहरुलाई जिम्मेवार नागरिकमा परिणत गराएको उनी बताउँछन् । यसैले पनि जापानीहरु स्कुल र आफ्नो छरछिमेक मात्र नभएर सहर र देशसम्मको स्तरमा सफाइका विषयमा जागरुक छन् ।

यसको उदाहरण सम्पूर्ण विश्वले ब्राजिल र रुसमा आयोजित विश्वकपमा पनि देखेको थियो । राष्ट्रिय टोलीका समर्थकहरुले अन्त्यसम्म स्टेडियमा रहेर सम्पूर्ण सफाइ सकाएपछि मात्र बाहिर निस्किएको दृश्यले सबैलाई अचम्मित पारेको थियो जसबारे फिफाका जेनेरल कोर्डिनेटर प्रिस्किला जेनसेन्सले ट्विट गरेकी थिइन् । यसबारे अवाने भन्छन्, “हामी अरुका सामु राम्रो छबि प्रस्तुत गर्नेप्रति अत्यन्तै सचेत छौँ । अरुले हामीलाई राम्रो शिक्षा नदिइ हुर्काइएको मानिसका रुपमा नहेरुन् भन्ने हामी चाहान्छौँ ।”

यसरी जापानमा धुम्रपान गर्दा समेत मान्छेले आफूसँग अस्थायी ट्रे बोकेर हिँड्ने निर्देशन दिइएको हुन्छ । सामाजिक जागरुकताको उदाहरण जापानीहरुको दैनिकीमा समेत देख्न सकिन्छ । जस्तैकि सामान बिक्रेतालगायत अफिसका कर्मचारीहरुले प्रत्येक दिन बिहान करिब ८ बजे आफ्नो घर वरपर सफा गर्छन् भने बालबालिकाहरुले महिना महिनामा समुदाय सरसफाइ कार्यक्रममा सहभागिता जनाउँछन् । वास्तवमा अधिकांश बटुवाहरुले आफूसँगको फोहोर कतै नफालि घर लगेर व्यवस्थित गर्ने गरेकाले पनि सडक धेरै सफा गरिरहनु नपर्ने बताइन्छ ।

यति मात्र नभएर एटीएमबाट निस्कने पैसासमेत अत्यन्तै सफा र आइरन गरेको सर्ट जस्तै चिटिक्क हुने गरेको पर्यटकहरु बताउँछन् । तर पनि पैसा फोहोर हुँदै जाने हुँदा उनीहरु कसैलाई पनि सीधा हातमा पैसा दिँदैनन् र होटल, पसल, ट्याक्सीलगायत सबै ठाउँमा पैसालाई ट्रेमा हाल्न लगाइन्छ । यसले अदृश्य फोहोर जस्तै ब्याक्टेरिया, किटाणुहरु फैलनबाट जोगाउँछ । त्यस्तै रुघाखोकी लाग्दा पनि त्यहाँका मानिसहरु अरुलाई संक्रमण नहोस् भनेर मास्क, पन्जा लगाएर हिँड्ने गर्दछन् ।

जापानीहरु कसरी सफाइप्रति यति सचेत भए ?

सन् १६०० मा जापानमा पाइला टेक्ने पहिला पश्चिमी वील एडम्सले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् कि त्यतिखेरदेखि नै जापान अत्यन्तै सफा थियो । जापान तातो ठाउँ भएकाले ब्याक्टेरियालगायतका किटाणु चाँडै फैलन सक्थ्यो भने रोग र संक्रमणले धेरै ठूलो रुप लिनेप्रति सबै चिन्तित थिए ।

खानेकुराहरु चाँडै बिग्रन सक्थ्यो । यसकारण पनि मानिसहरु सरसफाइमा विशेष ध्यान दिन चाहन्थे । त्यस्तै बुद्ध धर्मले पनि जापानको सरसफाइ रुचीलाई बढावा दिएको मानिन्छ । जस्तै १२ र १३ औँ शताब्दीमा बुद्ध धर्मले खाना पकाउने, नुहाउनेलगायतका दैनिक क्रियाकलापलाई पनि ध्यानका रुपमा व्याख्या गर्ने गरेको थियो । तर पनि जापान अन्य बुद्ध धर्म मान्ने देशहरु भन्दा किन यति धेरै सफा छ रु वास्तवमा बुद्ध धर्म सुरु हुनु अगाडि जापानको आफ्नै अर्को धर्म ‘सिन्टो’ थियो जसको अर्थ हो ‘भगवान्को तरिका’ र यसमा पनि सरसफाइलाई भगवानको उपदेशका रुपमा लिइन्थ्यो ।

त्यसैले जापानमा केही दिनका लागि जानेहरुमा समेत सफा जीवनशैलीको बानी पर्ने बताइन्छ । जस्तै सार्वजनिक स्थलमा नाक नपुस्ने, पसल, अफिसहरु जाँदा स्यानिटाइजरको प्रयोग गर्ने र फोहोरलाई दश भागमा विभाजित गरि रिसाइकल गर्ने । यसले सबैको जीवन स्तरमा सुधार ल्याउँछ । यसपछि जब मान्छे आफ्नो देश फर्किन्छन्, अन्जान व्यक्तिले आफ्नो मुख नजिकै आएर खोकेको देखेर उनीहरु दङ्ग पर्छन् जसबारे जापानमा सोच्न समेत सकिँदैन । बीबीसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*