बागमती प्रदेश सरकारको निर्णय अघि नै यातायात व्यवसायीले मनपरी रूपमा गरे गाडी भाडा बृद्धि
हेटौंडा । संघीय सरकारले अन्तर प्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडा बृद्धी गरेसँगै बागमती प्रदेशभित्र पनि सवारी भाडा मनपरी रूपमा बढाइएको पाइएको छ। संघीय सरकारको निर्णय अनुसार एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने बिद्युतिय सवारी बाहेकका साधनको भाडा बढाइएको भए पनि बागमतीभित्र चल्ने अधिकांश सवारीले भने आधिकारिक निर्णय नआउँदै भाडा बढाएर असुल्न थालेका छन्।
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले प्रदेशभित्र भाडा समायोजनका विषयमा आज सर्वपक्षीय बैठक बस्न लागेको जानकारी दिएका छन्। उनका अनुसार बैठकले अधिकतम १६ प्रतिशतसम्म भाडा बृद्धी गर्ने विषयमा छलफल गर्नेछ। “केही दिनभित्रै मन्त्रालयले भाडा समायोजनको टुंगो लगाउँछ,” मन्त्री थापाले बताएका छन्।
प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडा निर्धारण गर्ने अधिकार प्रदेश सरकारसँग भए पनि हाल भने व्यवसायीहरूले स्वेच्छाचारी रूपमा भाडा बढाएको उपभोक्ताहरूको गुनासो छ। विशेषगरी प्रदेश राजधानी हेटौंडा र आसपासका रुटहरूमा चल्ने साना तथा ठूला सवारीले भाडा बृद्धी गरिसकेको यात्रुहरू बताउँछन्। प्रदेशभित्रका सबै जिल्लामा चल्ने सवारीका साधनहरुले गाडी भाडा बृद्धी गरेर लिएको यात्रुहरुले गुनासो गरेका छन् ।
उपभोक्ताहरूका अनुसार संघीय सरकारले निर्णय गर्नुभन्दा अघिदेखि नै स्थानीय रुटहरूमा भाडा बढाउने क्रम सुरु भएको थियो, जसले अहिले थप व्यापक रूप लिएको छ।
यता नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले भने प्रदेश सरकारले आधिकारिक रूपमा भाडा नबढाएसम्म आफूहरूले भाडा नबढाएको दाबी गरेका छन्। “व्यवसायीहरूले आफुखुसी भाडा बढाएको भए त्यसबारे हामीलाई जानकारी छैन,” उनले भने।
श्रेष्ठले पछिल्लो समय डिजेलको मूल्य अत्यधिक बढेकाले यातायात व्यवसायीहरू आर्थिक रूपमा संकटमा परेको बताए। “इन्धनको मूल्य वृद्धिका कारण गाडी चलाउनै कठिन भएको अवस्था छ,” उनले उल्लेख गरे।
यसबीच, उपभोक्ताहरूले सरकारी निर्णयअघि नै भाडा बढाएर असुल्नु अनुचित भएको भन्दै अनुगमन कडा बनाउन माग गरेका छन्। अब प्रदेश सरकारको निर्णयले भाडा विवादलाई कस्तो निष्कर्षमा पुर्याउँछ भन्ने चासो बढेको छ।







