मकवानपुर–१ का उम्मेद्वार रामेश्वर रानाको घरदैलो
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा हेटौंडाको राजनीतिक माहोल क्रमशः तातिँदै गएको छ । जाडो क्रमश घटदै दैनिक तापक्रम जसरी वढदै छ,त्यसरी नै चुनावी माहौल पनि तातिदै गएको छ । मकवानपुरका दुवै क्षेत्रत्रका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन ।
यसैगरी मकवानपुर—१ का एमालेका उम्मेदवार रामेश्वर राना पनि घरदैलो अभियानमा सक्रिय रहदै अँएका छन् । घरदैलोमा पुगेर उनले मतदातालाई आफुतिर आकर्षित प्रयत्न जारी राख्दै आएका छन ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका—१६ र १८ मा घरदैला र भेटघाट कार्यक्रममा गरेका थिए । उक्त कार्यक्रममा स्थानीयवासीको उपस्थिती राम्रो रहेको थियो । टोल–टोलमा पुग्दा मतदाताले रानालाई स्वागत गर्दै विकास, सुशासन र स्थायित्वप्रतिको अपेक्षा राखेका थिए । केही स्थानीयले विगतमा जिल्लास्तरमा उनले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै अनुभवी र शालीन नेतृत्वको आवश्यकता औंल्याएका थिए ।
मतदातासंगको कुराकानीमा रानाले लोकतन्त्रको सुदृढीकरण, विकासको निरन्तरता र जनउत्तरदायी शासन आफनो प्राथमिकता रहेको बताए । पूर्व जिल्ला विकास समिति मकवानपुरका सभापति रहदै उनले दुर्गम क्षेत्रसम्म सडक सञ्जाल विस्तार, दीर्घकालीन विकास योजना निर्माण तथा संगठन सुदृढीकरणमा भूमिका खेलेको उनका समर्थकहरू बताउछन् ।
२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट केही समय टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । स्वच्छ छवि र संयमित स्वभावका कारण उनी स्थानीय राजनीतिमा फरक पहिचान बनाएका नेताका रुपमा चिनिन्छन् ।
मकवानपुर–१ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वडा, बकैया, बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वडा समेटिएका छन् । ४० वडा रहेको यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ तथा १० स्वतन्त्र गरी कूल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये ५ जना महिला उम्मेदवार रहेका छन्, जसमा ३ जना विभिन्न दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन मिति नजिकिदै जाँदा मतदाताको सक्रियता र उम्मेदवारहरूको घरदैलो अभियानले हेटौंडाको चुनावी वातावरण अझै चहलपहलपूर्ण बन्दै गएको छ । परिणाम जे आए पनि यस क्षेत्रको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।







