हेटौंडा सिमेन्टको मेसिन थोत्रो, सवा अर्ब ऋणः के बालेनले चुनावमा भनेजस्तै ‘वाइवाइ’ जस्तै चलाउलान् ?
मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग बेलामौकामा खुल्ने र बन्द हुने नियतिबाट गुज्रिरहेको छ। लामो समय बन्द रहेर भर्खरै मात्र क्लिङ्कर उत्पादन सुरु गरेको यो उद्योग अहिले चरम आर्थिक संकट र अस्तव्यस्तताको सिकार बनेको छ।
बर्सेनि करोडौँ घाटा बेहोरिरहेको यस उद्योगका कर्मचारीले ९ महिनादेखि तलबसमेत पाएका छैनन्। तर, देशमा बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार बनेसँगै सवा अर्ब ऋणमा डुबेको यस उद्योगका कर्मचारीमा भने नयाँ आशा पलाएको छ।
उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठ विगत ३/४ वर्षयता उद्योगले चरम आर्थिक संकट भोगिरहेको बताउँछन्। उनका अनुसार अहिले उद्योगको कुल दायित्व १ अर्ब १६ करोड पुगिसकेको छ। पैसा नहुँदा सिमेन्ट उत्पादनका लागि चाहिने कोइलालगायत कच्चा पदार्थ र बिग्रिएका मेसिनका पाटपुर्जा किन्न सकिएको छैन।
कुनै बेला ११ सय कर्मचारीले भरिभराउ हुने उद्योगमा अहिले जम्मा १३६ जना मात्र कर्मचारी छन्। कर्मचारी अभावमा एकै जनाले दोहोरो–तेहोरो ड्युटी गर्नुपर्ने बाध्यता छ।
जीवनका ४० वर्ष उद्योगमा बिताएर २०७९ सालपछि अवकाश पाएका कर्मचारीले रित्तो हात घर फर्किनुपरेको छ भने नियमित काम गरिरहेका कर्मचारीले समेत ९ महिनादेखि तलबको मुख देख्न पाएका छैनन्। तत्काल उद्योग सञ्चालन गर्न २५ करोड ऋण र पुरानो ऋण तिर्ने कार्ययोजनासहित मन्त्रालयमा प्रस्ताव पठाए पनि सरकारबाट कुनै जवाफ नआएको श्रेष्ठ बताउँछन्।
उद्योग निरन्तर घाटामा जानुको अर्को मुख्य कारण वर्षौँ पुराना थोत्रा मेसिन पनि हुन्। उद्योगको ‘किल’ विभागमा कार्यरत कर्मचारी रुबिन माझीका अनुसार पुराना मेसिनले उत्पादन कम दिने तर बिजुलीको बिल भने महिनामै ३ करोड ७० लाखसम्म आउने गरेको छ।
क्षमताभन्दा कम उत्पादन हुँदा सञ्चालन खर्चसमेत उठ्न सकेको छैन। यसको विकल्पमा नयाँ र आधुनिक मेसिन जडान गर्न मन्त्रालयमा १ अर्ब ६० करोडको प्रस्ताव पठाइएको भए पनि सुनुवाइ भएको छैन। २८ सयदेखि ३ हजार मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट नभएसम्म उद्योग टिक्न नसक्ने माझीको भनाइ छ।चरम निराशाबीच अहिले उद्योगमा एउटा उत्साह थपिएको छ। चुनावअघि फागुन १५ गते चितवनको चुनावी सभामा बालेनले हेटौँडा सिमेन्ट उद्योगको नामै लिएर यसलाई वाइवाइ चाउचाउ जस्तै विश्वभर चिनाउने गरी सञ्चालन गर्ने घोषणा गरेका थिए। अहिले उनकै नेतृत्वमा सरकार बनेपछि कर्मचारीहरू गदगद भएका हुन्।
उद्योगमा भूगर्भविद्का रूपमा कार्यरत सविन शर्मा प्रशस्त चुनढुंगा र स्रोत हुँदाहुँदै पनि व्यवस्थापकीय कमजोरी र राजनीतिक खिचातानीले उद्योग थला परेको बताउँछन्। इन्जिनियर पृष्ठभूमिका बालेनले सरकारको नेतृत्व गरेपछि अब सरकारले इच्छाशक्ति देखाएमा उद्योग सजिलै नाफामा जाने शर्माको विश्वास छ। सहायक प्रबन्धक श्रेष्ठ पनि बालेनले चुनावमा गरेको बाचा पूरा गर्दै देशैभरि सिमेन्ट बिक्री गर्ने गरी उद्योगलाई निरन्तर सञ्चालन गर्ने वातावरण मिलाउनेमा ढुक्क देखिएका छन्। रातोपाटीबाट साभार ।







