बागमतीमा मन्त्रालय संख्या ७ मा सीमित गर्ने र ७ सय कर्मचारी कटौती गर्दैछौं – मुख्यमन्त्री बानियाँ

जनपत्र
२३ चैत्र २०८२, सोमबार १७:५६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेश सरकारको संरचना पुनर्संरचना गर्दै मन्त्रालय संख्या घटाउने घोषणा गरेका छन्। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हाल कायम १३ वटा मन्त्रालयलाई घटाएर ७ वटामा सीमित गर्ने बताएका हुन्।

मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारका अनावश्यक कार्यालयहरू खारेज गरिनेछ भने ७ सयभन्दा बढी कर्मचारी कटौती गर्ने तयारी गरिएको छ। यद्यपि, उक्त निर्णय कहिलेदेखि कार्यान्वयन हुने भन्ने विषयमा उनले स्पष्ट समयसीमा भने सार्वजनिक गरेनन्। प्रदेश सरकारका एक मन्त्रीका अनुसार मन्त्रालय र कर्मचारी कटौतीको प्रक्रिया आउँदो आर्थिक वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, विभिन्न मन्त्रालय अन्तर्गत रहेका निर्देशनालयहरू पनि पुनर्संरचना गरिनेछ। हाल रहेका धेरै निर्देशनालयहरू खारेज गर्दै अब दुई वटा मात्र निर्देशनालय कायम गर्ने योजना रहेको मुख्यमन्त्री बानियाँले बताए।

पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यकालमा महत्वपूर्ण र जनमुखी निर्णयहरू गरिएको दाबी गरे। “म मुख्यमन्त्री भएपछि धेरै सकारात्मक कामहरू भएका छन्, जसबाट जनताले प्रत्यक्ष लाभ लिएका छन्,” उनले भने। साथै, अघिल्ला सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले लिँदै आएका विभिन्न सेवा–सुविधाहरू आफूले नलिएको पनि उनले उल्लेख गरे।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ ले चालु खर्चतर्फ करिब २ अर्ब रुपैयाँ कटौती गरिएको जानकारी दिए। उनले प्रदेशमा हालसम्म ५ हजार १ सय किलोमिटर सडक कालोपत्रे गरिएको पनि बताए।

त्यसैगरी, स्वास्थ्य मन्त्री किरण थापा ले प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे। पत्रकार सम्मेलनमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरूको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*