यसकारण बालबालिकालाई चुम्बकबाट सधैँ टाढा राख्नुपर्छ

जनपत्र
१३ आश्विन २०७६, सोमबार ०६:४५

ससाना बालबालिकाहरुले ब्याट्री, सिक्कालगायतका घरेलु वस्तुहरु दुर्घटनावश् निल्ने गरेको धेरै सुनिन्छ तर चिकित्सकहरुले तीमध्ये पनि चुम्बकलाई सबैभन्दा खतरनाक ठहर गर्दै यसबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । त्यसैले शक्तिशाली चुम्बकहरु सधैँ बालबालिकाबाट टाढा राख्नुपर्ने भन्दै अभिभावकहरुलाई चेतावनी दिइएको हो ।

स्टेफनी हर्वेलका ९ वर्षीय छोरा डोमिनिकले त्यसरी नै एकदिन दुर्घटनावश् दुईवटा हाइ–पावर चुम्बक निलेपछि उनको डर वास्तविकतामा परिणत भयो । डोमिनिकका साथीहरुले स्कुलमा त्यसलाई खेलाउनाका रुपमा ल्याएका थिए । उनले सीबीएस न्युजसँग भने, ‘मैले जिस्किँदै त्यसलाई मुखमा राखिरहेको थिएँ । अनि अचानक दुवै चुम्बक एकअर्कासँग टाँसिए र मैले थाहै नपाइ एकदम छिटो त्यो मेरो घाँटीबाट तल पुग्यो ।’ यसपछि उनले स्कुलकी नर्सलाई खबर गरेका थिए जसमार्फत आमा स्टेफनीले थाहा पाएकी हुन् । यसरी स्टेफनी आफैँ एक नर्स भएपनि उनलाई ब्याट्री निल्दाका खतराबारे थाहा थियो तर चुम्बकका बारेमा भने कुनै ज्ञान थिएन । यस्तोमा उनले केही विज्ञहरुसँग सम्पर्क गर्न खोज्दा एउटा चुम्बक भएमा धेरै चिन्ता नगर्न भनियो तर चुम्बक दुईवटा भएमा चाहिँ तुरुन्तै उपचार गर्नुपर्ने सुझाव पाएको उनी बताउँछिन् ।

चुम्बक दुईवटा हुँदा शरीरका भित्री अङ्गहरुलाई च्यापेर त्यसले गम्भीर क्षति पुर्याउन सक्ने हुनाले नै यस्तो भनिएको हो । यसरी भाग्यवश् डोमिनिको खतराबाट बचे र दुवै चुम्बकहरु बिना समस्या निकाल्न सफल भएको उनी बताउँछिन् । तर अन्य परिवारलाई भने यो घटनाका भयानक परिणामबारे सचेत गराइएको छ ।

पछिल्लो समय बालबालिकाहरुका खेलाउनामा ससाना चुम्बकको प्रयोग बढ्न थालेकाले पनि यसका खतराबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ किनकी तिनीहरु फ्रिजमा टाँस्ने चुम्बक भन्दा ५–१० गुणा शक्तिशाली हुने गरेको पाइएको छ । यसअघि सन् २०१२ मा अमेरिकाको ‘कन्ज्युमर प्रडक्ट सेफ्टी कमिसन’ ले यस विषयमाथि प्रकाश पारेको थियो । त्यसबेला एक तीन वर्षकी बालिकाले ३७ वटा ससाना चुम्बक निलेकी थिइन् । उनका अभिभावकले पहिले त उनको पेट खराब भएको हुन सक्ने शंका गरेका थिए । यसरी एक्सरे गरेपछि मात्र उनको पेटमा गोलो बनेर बसेका दर्जनौँ चुम्बक फेला पारिएको हो जसले पछि तिनको आन्द्रामा तीनवटा प्वाल पारेको थियो । त्यस्तै अर्को घटनामा एक ६ वर्षीय बालकले १९ वटा चुम्बक निलेपछि त्यसैगरी आन्द्रामा प्वाल परेको थियो । यसरी २००९ देखि २०१३ का बीच अमेरिकामा मात्र चुम्बक निलिएका २९,०० घटना भएको बताइएको छ । त्यसैले एउटा चुम्बक निलेपछि अर्को चुम्बक वा कुनै फलामको टुक्रा पेट भित्र पुगेमा त्यो अत्यन्तै खतरनाक साबित हुने गर्दछ ।

हप्किन्स चिल्ड्रेन्स सेन्टरकी बाल विशेषज्ञ डाक्टर एमिना हुसेन भन्छिन्, ‘सबै अभिभावकले घरमा कतै चुम्बक छ भने त्यसलाई सधैँ बालबालिकाबाट टाढा राख्ने कुरामा ध्यान दिनुपर्छ अथवा घरमा चुम्बक राख्नै हुँदैन । त्यस्तै उनीहरुका खेलाउनामाथि पनि नजर राख्ने गर्नुपर्दछ किनकी कतिपय अवस्थामा खेलाउना फुट्न थालेमा बालबालिकाले सजिलै चुम्बक निल्न सक्छन् । ’ त्यस्तै बालबालिकाहरुलाई पनि यस किसिमका वस्तुहरु झुक्किएर निलेमा तुरुन्तै खबर गर्न भनि सिकाउनुपर्ने उनी बताउँछिन् ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*