जेन–जी आन्दोलनपछि हेटौंडाका क्षतिग्रस्त सरकारी भवन मर्मत सम्पन्न, ५ मन्त्रालय पुरानै भवनमा फर्कने
हेटौंडा । जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका हेटौंडास्थित मन्त्रालय तथा सरकारी कार्यालयका भवनहरुको मर्मत कार्य सम्पन्न भएको छ। मर्मत गरेर पुनः प्रयोग गर्न सकिने भवनहरुलाई प्राथमिकतामा राख्दै काम सम्पन्न गरिएको हो।
हेटौंडाको चौकिटोल क्षेत्रका विभिन्न मन्त्रालयका भवन, प्रदेशसभा अन्तर्गत समितिको भवन, प्रमुख सचिव निवास तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको भवनलगायत संरचनाहरुको मर्मत सकिएको सम्बन्धित निकायले जनाएका छन्।
बागमती प्रदेशमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट क्षति पुगेका सरकारी संरचनाहरु मर्मतपछि सम्बन्धित निकायलाई हस्तान्तरणसमेत भइसकेको छ।

पुनर्निर्माण सम्पन्न भएका भवनहरुको सोमबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन्। उद्घाटनपछि उनले पुनःनिर्मित भवनमा छिट्टै मन्त्रालयहरुले कामकाज सुरु गर्ने जानकारी दिए।
आन्दोलनका क्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय तथा श्रम, रोजगार तथा यातायात मन्त्रालयका भवनमा उल्लेखनीय क्षति पुगेको थियो। मर्मतपछि ती संरचनाहरुलाई पुरानै अवस्थामा फर्काउन सफल भएको भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटाले बताए।
हेटौंडा उपमहानगरपालिका–१ स्थित पाँच तले भवन, जहाँ पाँच वटा मन्त्रालय सञ्चालनमा थिए, सो भवनको पुनर्निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो। त्रिभुवन राजपथ नजिकै रहेको उक्त भवनमा अब ऊर्जा, खानेपानी, सहकारी तथा गरिबी निवारण, श्रम तथा कृषि मन्त्रालयहरु सञ्चालनमा आउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।






