हेटौंडाको मेनरोड सुमोपार्क जस्तै, अटो र मयुरीले अस्त व्यस्त वजार

हेटौंडा । हेटौंडाको साघुरो मेनरोड । सडकको दायाँ, बाँया असोकका विरुवाको सुन्दर हरियाली । सडक पेटीमा थरी थरीका पसलेका सामान । मेनरोडमा भने टाटा सुमो पार्क जस्तो । हेटौंडाको बुद्धचोक देखि मकवानपुर उद्योग बाणिज्य संघ सम्म ११ वटा टाटा सुमो यात्रुको पर्खाइमा सडकमा लाइन लगाएर राखिएको थियो । तर, बुद्धचोक र मकवानपुर उद्योग बाणिज्य संघ अगाढी बसेका ट्राफिक प्रहरी मेनरोडमा यात्रु कुरेर वसेका सुमोको रमिता हेर्दै थिए ।
यता सुमोको टिकट काट्नका लागि सुमोले राखेका दलालहरु भने अटोमा कुनै यात्रु आएको देख्ने बित्तिकै झम्टी रहेका देखिन्थे । हातमा सुमोका टिकटको प्याड बोक्दै काठमाण्डौ– काठमाण्डौ भन्दै कराउँदै पनि थिए । सुमोनै पिच्चेका दलाल ट्राफिक प्रहरी जस्तो मेनरोडको बिचमा आएर सुमोमा काठमाण्डौ जाने यात्रुहुन या नहुन सबैलाई काठमाण्डौ जाने हो भनेर सोध्ने अनी कोही काठमाण्डौ जाने भईहालेमा उनीहरुलेनै ताना– तान गर्ने ।
आज विहान १० बजे मेनरोडमा देखिएको दृस्य हो यो । मेनरोडमा टाटा सुमो रोकिराख्ने र त्यहीबाट टिकट काट्ने गरेको आफुले पनि देख्ने गरेको तर, कार्बाहीको दायरामा ल्याउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरि बिष्णु ढकाल वताउनुहुन्छ । यसलाई केही दिन भित्रमा व्यवस्थित वनाउन लागिएको उहाँको भनाई छ ।
प्रदेश ३ राजधानीको मुटु बुद्धचोकमा सधैको जाम
प्रदेश नम्बर ३ को राजधानी रहेको हेटौंडाको बुद्धचोकमा हरेक दिन सडक जाम हुने गरेको छ । जनपथ प्रहरी र ट्राफिक प्रहरी सवारीका साधनलाई व्यविस्थत ढंगले गन्तव्यमा पु¥याउन लाग्छन् । तर, जाम भने उत्तिकै छ ।
बुद्धचोकमा जाम भईरहेको हुन्छ । तर, मेनरोडको कृष्ण मन्दीर नजिकै भने टाटा सुमो सडकमा राकेर यात्रु कुरीरहेका हुन्छन् । प्रदेशको राजधानीमा हरेक दिन मन्त्री, सचिव, मेयर, असक्त बिरामी सधै जाममा पर्छन् । तर, मकवानपुरको ट्राफिक प्रहरी मेनरोडमा सवारीका साधन रोके पनि टुलु टुलु हेरेर वसेको हुन्छ ।
बिशेषगरी मेनरोडको स्कुलरोड चोक देखि मकवानपुर उद्योग बाणिज्य संघ अगाढी सम्म बिहान दश बजेपछी दिउसो ४ बजे सम्म धेरै नै जाम हुने गरेको छ । तर, सधैको साघुरो सडकमा रोकिराखेका सवारीका साधनलाई नहटाउँदा झनै समस्या हुने गरेको छ ।
मेनरोडको बुद्धचोकमा सवारीको जामलाई व्यवस्थित बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह वताउनुहुन्छ । साघुरो सडक र हेटौंडा उपमहानगरपालिकाले कुनैपनि सवारीलाई पार्कको रुपमा विकल्प नदिदा समस्या भएको उहाँको भनाई छ ।
सुन्दर कान्तिराजपथ सधैको बसपार्क जस्तै
हेटौंडाको कान्तिराजपथ सडक हेटौंडाकै नमुना सडक हो । तर, ट्राफिक प्रहरीको मिलेमहतोमा सधैको वसपार्क जस्तै भएको छ यो सडक । दुईलेनको कान्तिराजपथ सडकको बिचमा डिभाइडर राखेर बिभीन्न थरीका रंगि, बिरंगि फूल फुलेका छन् । सडक पनि अरु सडक भन्दा धेरै फराकिलो छ । पसलमा सामान खरिद गर्न जानका लागि सडक छोडेर अली परै जानुपर्छ ।
फुटपाथ पनि मेनरोडको तुलनामा फराकिलो छ । तर, सडकको दायाँ बायाँ नै बिहान देखि वेलुका सम्म म्याजीकहरु यात्रु कुरेका हुन्छन् । ठुला ट्रकहरु, निजी कारहरु, टेम्पोहरु, अटो, मयुरहीहरुको पार्किङ गर्ने थलो जस्तै भएको छ कान्तिराजपथ सडक । त्यती फराकिलो सडक दुईतिर लाइनै सवारीका साधनहरु पार्किङ गरेर अस्तव्यस्त वनाएको प्रतक्षदर्सीहरु वताउँछन् ।
म्याजीकहरु त यहाँ उनीहरुले पार्कनै बनाएका छन् । जहाँका यात्रु पनि यही पार्कमा म्याजीक चढ्न आउनुपर्छ । लाईनै उनीहरुका साधन रोकिराखेका हुन्छ् । तर, ट्राफिक प्रहरी रमिते बनेर वस्ने गरेको कान्तिराजपथका व्यापारीहरु वताउँछन् । कान्तिराजकपथमा ट्रक लगायतका अरु सवारीलाई पार्किङ गर्न नदिनका लागि काम भईरहेको ट्राफिक प्रमुख ढकालको भनाई छ । आफुहरुले देखेमा हटाउने गरेको समेत उहाँले वताउनुभयो ।
मेनरोड र कान्तिराजपथमा सवारी पार्किङ गर्न दिएर ट्राफिम प्रहरीको असुली धन्दा
कुनैपनि राजमार्गमा सवारीका साधन रोके वापत सवारी चालकले ट्राफिक प्रहरीलाई जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था छ । अझै सधै जाम हुने मेनरोडमा सुमोको पार्क जस्तै हिजो आज किन भयो भनेर सबैले अचम्म समेत मानेका छन् । अनी कान्तिराजपथ सधैको वसपार्क जस्तो किन भयो भनेर सबैको ध्यान तानिएको छ । तर, ट्राफिक प्रहरी यस क्षेत्रमा रमिता मात्र हेर्छ काम किन गर्दैन भन्ने जिज्ञासा पनि हुन सक्छ ।
हेटौंडाको मेनरोड र कान्तिराजपथमा टाटा सुमो, ट्रक र म्याजीक रोक्न दिए वापत मकवानपुरको ट्राफिक प्रहरीलाई रकम दिने गरेको गाडीका चालकहरु वताउँछन् । अहिले मेनरोडमा सुमो रोकेर यात्रु चढाए वापत प्रतिटिपका दरले ट्राफिक प्रहरीलाई पैसा दिने गरेको एक जना सुमो व्यावसायीले वताए । पहिले हेटौंडाको चौकिटोलमा रहेको सुमो काउन्टरमा मात्र रोक्दै आएका सुमो व्यावसायीहरुले मेनरोडमा काउन्टर संचालन गर्ने र सुमो रोके वापत पैसा दिने गरेको र पैसा नदिनेलाई मेनरोडमा रोक्नै नदिने गरेको सुमो व्यावसायीहरु वताउँछन् ।
सुमो मेनरोडबाट काठमाण्डौ छुट्दाको समयमै टिपको हिसावले पैसा बुझाउने गरेको उनीहरुको भनाई छ । मेनरोड र कान्तिराजपथमा सवारीका साधन रोक्न दिएर रकम असुलीको काम नभएको ट्राफिक प्रहरी प्रमुख ढकाल वताउनुहुन्छ । सडकमा वसेका कुनै ट्राफिकले रकम लिएको जानकारी पाएमा कार्वाही समेत गर्ने उहाँको भनाई छ ।
अटो र मयुरीले अस्त व्यस्त हेटौंडा वजार
तीन पाङ्ग्रे सवारीका साधन अटो र मयुरीका कारण हेटौंडा बजार क्षेत्र अस्त व्यस्त भएको छ । राजमार्ग क्षेत्रमा चल्ने स्वीकृति समेत नपाएका मयुरी र अटोका कारण हेटौडा बजार क्षेत्रमा धेरै जाम बढेको यात्रुहरु र स्वयं सवारीका चालकहरु वताउँछन् । जताततै लाईसेन्स समेत नभएका अटो र मयुरीका चालकले बजार क्षेत्र वढी अस्त व्यस्त वनाएका छन् । कुनैपनि ट्राफिक नियम पनि पालना नगर्ने र मेनरोड, कान्तिराजपथ, बद्धचोक क्षेत्र जताततै अटो, मयुरी पार्किङले वढी समस्या भएको छ ।