बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा, अकस्मात् छापामारीप्रति आपत्ति
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा उनी विगतमा आबद्ध रहेको निर्माण कम्पनीमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले सोमबार हेटौँडाको सानोपोखरास्थित उनको निवास र बानियाँ निर्माण सेवा (बीएनएस) को कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार, विभागले काठमाडौंको नक्साल र सुन्धारास्थित उनका अन्य सम्पर्कित स्थानहरूमा समेत छानबिन गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको सम्पत्ति तथा कारोबारमा केही अस्वाभाविक गतिविधि देखिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
छापामारीका क्रममा घर तथा कार्यालयबाट केही महत्वपूर्ण कागजात र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का तयार गरिएको विभाग निकट स्रोतले जनाएको छ। नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ विगतमा निर्माण व्यवसायमा सक्रिय थिए भने हाल पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको बताइएको छ।
घटनापछि मुख्यमन्त्री बानियाँले प्रेस वक्तव्य जारी गर्दै छापामारीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गरेका छन्।
उनले सार्वजनिक खर्च कटौती, आर्थिक मितव्ययिता र आवश्यकता तथा औचित्यमा आधारित योजना तथा बजेट कार्यान्वयनमा पारदर्शितालाई नीतिगत रूपमा अघि बढाएको उल्लेख गरेका छन्।
बानियाँले आफ्नो राजनीतिक तथा व्यावसायिक जीवनसँग सम्बन्धित कुनै पनि छानबिनलाई सकारात्मक रूपमा लिएको स्पष्ट पार्दै संवैधानिक र कानूनी दायराभित्र हुने अनुसन्धानमा पूर्ण सहयोग रहने बताएका छन्।
यद्यपि, राज्यका निकायले आवश्यक पर्दा आफूलाई प्रत्यक्ष उपस्थित गराउन सक्ने अवस्था हुँदाहुँदै अकस्मात् गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको उनको भनाइ छ।
मुख्यमन्त्री बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबाट भ्रमित नहुन बागमती प्रदेशवासी तथा आफ्ना शुभेच्छुकलाई आग्रह गर्दै सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।







