समयमै नियन्त्रण र निरन्तर वर्षाले जोगिए मकवानपुरका जंगल, डढेलोको क्षति न्यून

जनपत्र
२१ बैशाख २०८३, सोमबार ०८:१५

हेटौंडा। यस वर्ष मकवानपुरका वन क्षेत्रमा विगतका वर्षहरूजस्तो व्यापक डढेलोको क्षति हुन नपाएको डिभिजन वन वन कार्यालय मकवानपुरले जनाएको छ। निरन्तर परेको वर्षा र समयमै अपनाइएको नियन्त्रणात्मक उपायका कारण जिल्लाका अधिकांश जंगल डढेलोबाट जोगिएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको हो।

डिभिजन वन कार्यालय मकवानपुरको निर्देशनमा जिल्लाभर रहेका सबै सवडिभिजन वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा नियन्त्रित डढेलो लगाउने, अग्निरेखा सरसफाइ गर्ने तथा जोखिमयुक्त क्षेत्रको नियमित निगरानी गर्ने काम प्रभावकारी रूपमा अघि बढाइएकाले डढेलो फैलिन नपाएको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत हेमकुमार पाठकका अनुसार यस वर्ष डढेलोको जोखिम उच्च रहे पनि पूर्वतयारी र निरन्तर सतर्कताका कारण ठूलो क्षति हुन पाएन।

उनले भने, “डढेलो फैलिन नदिन जंगलभित्रका अग्निरेखा समयमै सरसफाइ गरियो, नियन्त्रित डढेलो लगाइयो र स्थानीय उपभोक्तासँग समन्वय गरेर जोखिम क्षेत्रको निगरानी बढाइयो। त्यसैले यसपटक ठूलो क्षति हुन पाएन।”

वन क्षेत्रमा सुक्खायाम सुरु भएसँगै डढेलोको जोखिम बढ्ने भए पनि यस वर्ष बीच–बीचमा परेको पानीले जंगलमा चिस्यान कायम राख्दा आगो फैलिने सम्भावना कम भएको वन कार्यालयको भनाइ छ। हेटौंडा उपमहानगरपालिका सहितका केही जंगलमा डढेलो लागेको भएपनि केही घण्टामानै नियन्त्रणमा ल्याइएको थियो ।

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र स्थानीयवासीको सक्रिय सहभागिताले पनि डढेलो नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको कार्यालयले जनाएको छ। वन क्षेत्र संरक्षणका लागि स्थानीय तह, सुरक्षा निकाय र वन उपभोक्ताबीचको समन्वयलाई थप प्रभावकारी बनाइएको बताइएको छ।

वन कार्यालयका अनुसार आगामी दिनमा पनि मौसम सुख्खा भए डढेलोको जोखिम कायमै रहने भएकाले सतर्कता नघटाइने जनाएको छ। जंगल क्षेत्रमा जथाभावी आगो बाल्न नहुने, वनभित्र सिगरेटका ठुटा वा आगोका स्रोत नफाल्न कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

मकवानपुरका वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि अपनाइएको पूर्वतयारी र सामुदायिक सहभागिताले यस वर्ष वन संरक्षणमा सकारात्मक परिणाम दिएको वन कार्यालयको निष्कर्ष छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*