भुवन, पूजा र बेनिशा उडे लण्डन, केही कलाकार विवाहमा सहभागी हुन बैंककतिर

जनपत्र
४ श्रावण २०८१, शुक्रबार १५:२८

छिमेकी मुलुक भारतमा त्यहाँका धनाढ्य मुकेश अम्बानीले छोरा अनन्तको विवाह यसैसाता सम्पन्न गरे । चार महिनासम्म चलेको विवाह समारोहमा संसारका चर्चित सेलिब्रेटी, व्यवसायी र राजनीतिज्ञको सहभागिता रह्यो ।

अम्बानीको यो विवाहलाई सम्झाउने गरी यतिबेला थाइल्याण्डको बैंककमा नेपालीभाषी व्यवसायीले छोरीको विवाह गरिरहेका छन् । उनले नेपालका १०० भन्दा बढी कलाकारलाई निम्तो दिएको बुझिएको छ । जसमध्ये केही कलाकार विवाहमा सहभागी हुन बैंकक पुगिसकेका छन् ।

अन्य कलाकारले जाने वा नजाने निधो गरिसकेका छैनन् । नेपाली फिल्म ‘प्रेमगीत २’ मा छोटो रोलमा अभिनय गरेका कुमार कार्कीले बैंककको प्रिन्स प्यालेसमा छोरी आरतीको विवाह कार्यक्रम गरिरहेका छन् । आरती र रोहित चौहानबीच विवाह हुन थालेको हो ।

अभिनेता दिलीप रायमाझी, गायक आनन्द कार्की, कमेडियन सन्दीप क्षेत्री लगायत बैंकक पुगिसकेका छन् । व्यवसायी, कलाकार, पत्रकार र उनका नेपालका आफन्त बैंकक जाँदैछन् । विवाहका लागि कलाकारहरु राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, प्रियंका कार्की, रीमा विश्वकर्मा, केकी अधिकारी, पूजा शर्मा, अस्मिता अधिकारी, रचना रिमाल, प्राश्ना शाक्य लगायतलाई निम्तो दिएको बुझिएको छ ।

तर यी कलाकारले जाने निधो गरिसकेका छैनन् । कुमार कार्कीले नेपालबाट जाने निम्तालुलाई हवाई टिकटको समेत व्यवस्था गरेको बुझिएको छ । उनले बैंककमा नेपाली फिल्मको प्रवर्द्धनमा समेत सघाउँदै आएका छन् । म्यानमारका यी नेपालीभाषी व्यवसायीको सम्बन्ध नेपाली सेलिब्रेटीसँग निकट देखिन्छ ।

भुवनसहितका १३ कलाकार लण्डन उडे

थर्ड आईले लण्डनमा आयोजना गरेको नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित कलाकार पूजा शर्मा, बेनिशा हमाल, दिनेश डीसी, शुम्भजीत बासकोटासहितका कलाकार त्यसतर्फ प्रस्थान गरेका छन् ।

आगामी मंगलबार बोर्डको कार्यकाल सकिन लागेका अध्यक्ष केसी लण्डन जानुपूर्व घरबिदामा बसेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवसँग बिदा मागेर उनी लण्डनतिर गएका हुन् ।

बोर्डको आगामी अध्यक्षको रुपमा चर्चामा रहेका डीसी पनि सँगै त्यता लागेका छन् । केसी बिदामा बसेपछि सदस्य सचिव राजेशकुमार थापाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*