बागमती प्रदेशमा हरेक दिन बालबालिका बेपत्ता

जनपत्र
२१ चैत्र २०८२, शनिबार १०:०३

हेटौंडा : बागमती प्रदेशमा बर्सेनि बालबालिका हराउने क्रम बढ्दो छ। पछिल्लो ३ वर्षमा मात्र बागमतीमा १ हजार ८ सय ३० जना बालबालिका हराएको पाइएको छ। जसमध्ये १ हजार ७ सय ८७ जना बालबालिका फेला परे पनि अझै ४३ जना बालबालिका फेला नपरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक रहेको छ। फेला नपरेका बालबालिकामध्ये बालक १४ र बालिका २९ जना गरी ४३ जना छन्। यस्तै, हराउने बालबालिकामध्ये बालिकाको संख्या बढी छ।

पछिल्ला वर्षहरूमा प्रदेशका १३ जिल्लामध्ये उपत्यकाका ३ जिल्लाहरू काठमाडाैं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लाहरूबाट मात्र ४ सय ६२ जना बालकहरू हराउँदा बालिकाहरू हराउने संख्या भने १ हजार ३ सय ६८ जना रहेको छ। प्रदेश प्रहरी कार्यालयको हेटौंडाको अनुसार आर्थिक वर्ष २०७९/२०८० मा प्रदेशका विभिन्न १० जिल्लाबाट बालक १ सय ३४ जना र बालिका ३ सय ८४ जना गरी ५ सय १८ जना बालबालिका हराएका छन्। जसमध्ये १ सय ३३ जना बालक र ३ सय ८२ जना बालिका फेला परे पनि अझै १ बालक र २ बालिका गरी ३ जना बालबालिका फेला पर्न नसकेको प्रहरीको तथ्याङ्क रहेको छ।

यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १ सय १७ जना बालक र ३ सय ८१ जना बालिका गरी ४ सय ९८ जना बालबालिका हराएका थिए। तीमध्ये १ सय १३ जना बालक र ३ सय ७८ जना बालिका फेला परेका थिए। जसमध्ये अझै ४ बालक र ३ बालिका गरी ७ जना बालबालिका फेला पर्न सकेका छैनन्। यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा १ सय ५१ जना बालक र ४ सय २९ जना बालिका गरी ५ सय ८० जना बालबालिका हराएका थिए। जसमध्ये १ सय ४९ जना बालक र ४ सय २३ जना बालिका गरी ५ सय ७२ जना बालबालिका फेला परे। तीमध्ये २ बालक र ६ बालिका गरी ८ जना बाल– बालिकाहरू अझै फेला परेका छैनन्। उक्त आर्थिक वर्षमा बागमतीमा सबैभन्दा बढी बालबालिका हराएको देखिन्छ। उक्त आर्थिक वर्षको अन्त्यसम्म ५ सय ८० जना बालबालिका हराएका थिए।

यस्तै, चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि मंसिरसम्म प्रदेशका १० जिल्लाबाट २ सय ३४ जना बालबालिका हराइसकेका छन। जसमध्ये प्रहरीले २ सय ९ जना बालबालिका फेला पारेको छ। भने अझै २५ जना बालबालिका फेला पार्न सकेको छैन। चालु आर्थिक वर्षको मंसिरसम्म विभिन्न जिल्लाबाट हराएका बाल बालिकाहरूमा ६० जना बालक र १ सय ७४ जना बालिका रहेका थिए। जसमध्ये प्रहरीले ५३ जना बालक र १ सय ५६ जना बालिका फेला पारे पनि अझै २५ जना बालबालिका फेला पार्न नसकेको हो। फेला नपरेका बालबालिकाहरूमा ७ जना बालक १८ जना बालिका रहेका छन्।

चितवन र मकवानपुरमा रेड अलर्ट

बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको मंसिर महिनासम्मकोे तथ्यांक हेर्दा चितवन र मकवानपुर जिल्लामा सबैभन्दा बढी बालबालिका हराएका छन्। काभ्रे, धादिङ र सिन्धुली जिल्लामा बढी संख्या रहेको छ भने रसुवा र रामेछापमा भने तुलनात्मक रूपमा बालबालिका हराउने घटना न्यून देखिएको छ।

चितवन जिल्लामा मात्र आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको मंसिरसम्म ५ सय ३३ जना बालबालिका हराएको प्रहरी तथ्यांक छ। उक्त वर्षहरूमा हराएका बालबालिकामध्ये ५ सय १७ जना बालबालिका फेला परे पनि १६ जना बालबालिका अझै सम्पर्कविहीन अवस्थामा रहेको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।

चितवनमा आर्थिक वर्ष २०७९/०८० मा बालक ३४ जना र बालिका १ सय ५ जना गरी १ सय ३९ बालबालिका हराएका थिए। आर्थिक वर्ष २०८०/०८१ मा ३१ जना बालक र १ सय १७ जना बालिका गरी १ सय ४८ जना बालबालिका हराएका थिए। यस्तै, वर्ष २०८१/०८२ मा ४८ जना बालक र १ सय २९ जना बालिका गरी १ सय ७७ जना बालबालिका हराएका थिए। चालु आर्थिक २०८२/०८३ को साउन महिनादेखि मंसिरसम्म ५ महिनाको अवधिमा १८ बालक र ५१ बालिका गरी ६९ जना बालबालिका हराइसकेका छन्। जसमध्ये प्रहरीले १५ जना बालक र ४३ जना बालिका गरी ५८ जना हराएका बालबालिका फेला पारे पनि अझै ३ जना बालक र ८ जना बालिका गरी ११ जना बालबालिका फेला पार्न सकेको छैन।

मकवानपुर जिल्लामा मात्र आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनासम्म बालक ८३ जना र बालिका २ सय ७० जना गरी ३ सय ५३ जना बालबालिका हराएका थिए। जसमध्ये प्रहरीले बालक ८२ जना र बालिका २ सय ४१ जना फेला पारे पनि अझै ७ जना बालबालिका फेला पार्न सकेको छैन। मकवानपुरमा आर्थिक वर्ष २०७९/०८० मा बालक ३४ जना र बालिका ८५ जना गरी १ सय १९ जना बालबालिका हराएका थिए। जसमध्ये उक्त वर्ष प्रहरीले राम्रै सफलता हात पार्‍यो। आर्थिक वर्ष २०८०/०८१ मा १९ बालक र ८४ जना बालिका गरी १ सय ३ जना बालबालिका हराए जसमध्ये प्रहरीले १८ बालक र ८४ जना बालिका गरी १ सय २ जना हराएका बालबालिका फेला पार्‍यो। यस्तै, २०८१/०८२ मा २३ बालक र ७१ बालिका गरी ९४ जना बालबालिकाहरू हराएको प्रहरीको तथ्यांक रहेको छ।

चालु आर्थिक वर्षको ५ महिनामा मकवानपुरमा ७ बालक र ३० बालिका गरी ३७ जना बालबालिका हराएका छन्। सिन्धुली जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म बालक ४४ जना मात्र हराउँदा बालिकाहरूको संख्या भने बालकको संख्याको तुलनामा तेब्बरभन्दा बढी १ सय ६० जना रहेका छन। उक्त वर्षहरूमा बालक र बालिका गरी २ सय ४ जना बालबालिकाहरू हराएका थिए। यद्यपि, प्रहरीले सिन्धुलीमा हराएका ती बालबालिकाहरूमा अधिकांश फेला पारेको छ। प्रहरीले हराएका बालबालिकाहरूमध्ये ४३ जना बालक र १ सय ५९ जना बालिका गरी २ सय २ जना बालबालिका फेला पारेको छ। भने हराएमध्ये १ बालक र १ बालिका गरी २ जना बालबालिका भने अझै फेला परेका छैनन्।

रामेछाप जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म बालक १८ जना बालक र ३१ जना बालिका गरी ४९ जना बालबालिका हराएका छन्। जसमध्ये अंधिकांश फेला परे पनि १ बालक र १ बालिका गरी २ जना अझै फेला परेका छैनन्। दोलखा जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म बालक ४१ जना र बालिका ४२ जना गरी ८३ जना बालकबालिका हराएका थिए। जसमध्ये ४० बालक र ४२ जना बालिका गरेर ८२ जना बालबालिका फेला परे पनि १ जना बालक अझै फेला परेको छैन।

काभ्रे जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म बालक ५४ जना र बालिका १ सय ५२ जना हराएका थिए। जसमध्ये ५३ बालक र १ सय ४९ जना बालिका फेला परेको भए पनि अझै १ बालक र ३ बालिका गरी ४ जना बालबालिका फेला पर्न नसकेको प्रहरीको तथ्यांक रहेको छ। काभ्रे जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ९ बालक र ४८ जना बालिका गरी २३ जना बालबालिका हराएका थिए। जसमध्ये ९ बालक र ४७ जना बालिका फेला परे पनि १ जना बालिका फेला परिनन्।

सिन्धुपाल्चोक जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म २७ बालक र ८१ बलिका गरी १ सय ८ जना बालबालिका हराए। जसमध्ये २६ बालक र ७९ बालिका फेला पर्दा १ बालक र २ बालिका गरी ३ जना फेला पर्न सकेन्न। नुवाकोट जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनासम्म बालक २८ जना र बालिका १ सय १४ जना गरी १ सय ४२ जना बालकालिका हराएका छन। जसमध्ये २७ बालक र १ सय १३ जना बालिका गरी १ सय ४० जना बालबालिका फेला परे तर २ जना बालक अझै फेला परेका छैनन्।

धादिङ जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म ३२ जना बालक र ९७ जना बालिका गरी १ सय २९ जना बालबालिका हराए। जसमध्ये ३१ बलक र ९४ जना बालिका फेला परेपनि अझै ४ जना बालबालिका फेला परेका छैन्न। ती फेला नपरेका ४ जना बालबालिकामध्ये १ बालक र ३ बालिका रहेका छन्। रसुवा जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म ४ बालक र १९ बालिका गरी २३ जना बालबालिका हराए। जसमध्ये ३ बालक र १८ बालिका फेला परे भने १ /१ बालक र बालिका फेला परेका छैनन्।

  • ३ वर्षमै १,८३० बालबालिका हराउनु चिन्ताजनक अवस्था
  • अधिकांश फेला परे पनि जोखिम बाँकी
  • हराउनेमध्ये करिब ७५% बालिका
  • चितवन–मकवानपुर ‘रेड अलर्ट’: बालबालिका हराउने घटना उच्च
  • सामाजिक सञ्जाल, गरिबी र परिवार विखण्डनले बढायो जोखिम
  • पछिल्ला वर्षहरूमा संख्या घट्ने होइन, उतार–चढावसहित उच्च नै

तीन वर्षमा १ हजार ३ सय ६८ बालिका बेपत्ता

बागमती प्रदेशमा बालकको तुलनामा बालिका हराउने संख्या उच्च रहेको पाइएको छ। आर्थिक वर्ष २०७९/०८० देखि चालु आवको मंसिरसम्म हराएका बालबालिकाहरूमा बालकको संख्याको तुलनामा बालिकाको संख्या दोब्बरभन्दा बढी रहेको पाइएको हो। बागमतीमा आर्थिक वर्ष २०७९/०८० देखि चालु आवको मंसिर महिनासम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको थिए। जसमध्ये बालकको संख्या ४ सय ६२ जना थियो भने बालिकाको संख्या बालकको तुलनामा दोब्बरभन्दा बढी अर्थात् १ हजार ३ सय ६८ जना रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक रहेको छ। ती हराएका बालबालिकाहरूमा १ हजार ७ सय ८७ जना बालबालिका फेला परे पनि अझै ४३ जना बालबालिका फेला परेका छैनन्। जसमध्ये १४ र बालिका २९ जना गरी ४३ जना बालबालिका रहेका छन्। ती फेला नपरेको संख्यामा समेत बालकको तुलनमा बालिकाको संख्या नै उच्च रहेको छ।

बागमती प्रदेशअन्तर्गतका १० जिल्लामध्ये सबैभन्दा बढी चितवनमा बालिका असुरक्षित रहेको देखिएको छ। रसुवा जिल्लामा अन्य जिल्लाहरूको तुलनामा कम बालबालिका हराउने गरेको पाइएको छ। चितवन जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आवको मंसिरसम्म ४ सय २ जना बालिका हराएको पाइएको छ। जसमध्ये ३ सय ९१ जना बालिका फेला परे पनि ११ जना बालिकाहरू अझै सम्पर्कविहीन अवस्थामा रहेको प्रहरीको तथ्यांक रहेको छ। यस्तै, दोस्रो स्थानमा रहेको मकवानपुरमा आर्थिक वर्ष २०७९/०८० देखि चालु आवको मंसिरसम्म २ सय ७० जना बालिका हराएका छन्। ती हराएका बालिकाहरूमध्ये २ सय ६४ जना बालिका फेला परे पनि ६ जना बालिका अझै फेला परेकी छैनन्। तेस्रो स्थानमा सिन्धुली जिल्लामा मंसिरसम्म १ सय ६० जना बालिका हराएका छन्। जसमध्ये १ सय ५९ जना बालिका फेला परे पनि १ जना बालिका बेपत्ता छन्।

चौथो स्थानमा रहेको काभ्रेमा १ सय ५२ जना बालिका हराउँदा १ सय ४९ जना बालिका फेला परेको प्रहरीको तथ्यांक रहेको छ। यद्यपि, उक्त वर्षहरूमा हराएका अधिकांश बालिका फेला परे पनि ३ जना बालिका अझै बेपत्ता छन्। यस्तै, पाँचौं स्थानमा नुवाकोटमा आर्थिक वर्ष २०७९/०८० देखि चालु आवको मंसिरसम्म १ सय १४ जना बालिका हराएका थिए। जसमध्ये १ सय १३ जना बालिका फेला परे पनि १ जना बालिका अझै फेला परेकी छैनन्।

छैटाैं स्थानमा रहेको धादिङ जिल्लामा ९७ जना बालिकाहरू हराउँदा ९४ जना बालिका फेला परेका छन्। यद्यपि, ३ जना बालिका अझै फेला परेका छैनन्। सातौं स्थानमा रहेको सिन्धुपाल्चोकमा ८१ बालिका हराएकामा ७९ जना बालिका फेला परेका छन्। २ जना बालिका बेपत्ता छन्। यस्तै, आठौं स्थानमा रहेको दोलखामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आवको मंसिरसम्म ४२ जना बालिका हराएकामा सबै फेला परेको प्रहरीको तथ्यांक छ।

नवौं स्थानमा रहेको रामेछापमा ३१ बालिका हराएकोमा सबै फेला परेको छ। रसुवामा आर्थिक वर्ष २०७९/०८ देखि चालु आवको मंसिरसम्म १९ जना बालिका मात्र हराएका थिए। जसमध्ये १८ जना बालिका फेला परे भने १ जना बालिका अझै फेला पर्न नसकेकी प्रहरीले जनाएको छ। अन्नपूर्ण पोष्टका लागि सरोज पौडेलले लेखेको समाचार हामीले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*