अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट गरिन् अभिनयमा डेब्यु

जनपत्र
२५ असार २०८१, सोमबार १५:३४

गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु गरेकी छन् । उनको अभिनय रहेको नाटक मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ ।

उनले मण्डला नाटकघरमा छात्रवृत्तिमा एक वर्षको अभिनय कोर्स सकेकी हुन् । अभिनेता बुद्धि तामाङ लगायतले उनलाई अभिनय सिकाइरहेका थिए ।

मण्डलाबाट अभिनय कोर्स उत्तीर्ण गर्ने विद्यार्थीले बनाएको उक्त नाटक ‘राधा’मा पारितोषिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ । नाटकमा उनले शीर्ष पात्र राधाको भूमिका निर्वाह गर्नेछिन् ।

‘एक सन्तानप्रति आमाको माया कहिले पो क्षीण हुन्छ र’ भन्ने थिममा तयार भएको यो नाटकलाई तुलसी परियारले निर्देशन र सुमित्रा बोगटीले लेखेकी हुन् । मंगलबार दिउँसो २ र साँझ ६ बजे यो नाटक देखाउने तयारी छ ।

गायिका पन्तले पनि छोरीले अभिनय गर्न लागेको पहिलो नाटक थिएटरमै पुगेर हेरिदिन आग्रह गरेकी छन् । यो नाटक मण्डला ड्रामा स्कुलको दोस्रो ब्याचको उत्पादन हो ।

केही समयअघि मिडियासँगको कुराकानीमा पारितोषिकाले आफूलाई प्रदीप खड्कासँग फिल्म खेल्न मन लागेको बताएकी थिइन् । केही फिल्म निर्माताले आफूलाई अभिनयका लागि प्रस्ताव समेत राखेको उनले बताएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*