ऐन अभावले आदिवासी जनजाति फिल्म ओझेलमा पर्‍यो : अध्यक्ष केसी

जनपत्र
२३ असार २०८१, शनिबार ०६:२४

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ऐन अभावका कारण आदिवासी जनजाति फिल्महरु ओझेलमा परेको बताएका छन् । बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले बिहीबार बालग्राम सुनसरीमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले अब नयाँ ऐन पारितका लागि फिल्मकर्मीहरुले आवाज उठाउनुपर्ने बेला आएको धारणा व्यक्त गरे ।

अध्यक्ष केसीले भने- ‘नेपालमा निर्माण भएका आदिवासी जनजाति फिल्मले विश्वमा आदिवासीहरु र नेपालकै नाम राख्ने काम गरेको छ । तर, आदिवासी जनजातिहरुले आफ्नो भाषा, कला, साहित्य, संस्कृतिलाई मुख्य कथावस्तु बनाएर फिल्म बनाइरहेको भए पनि ऐन अभावले गर्दा ओझेलमा परेको छ । त्यसैले अब नयाँ ऐन पारितका लागि फिल्मकर्मीहरुले आवाज उठाउने समय आएको छ ।’

कार्यक्रममा अभिनेत्री मिरुना मगर, गीतकार मीना सिंगक, कलाकार सञ्जय खतिवडा, निर्माता तथा निर्देशक लाख बहादुर तामाङ, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बू फिल्म निर्देशक विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघका वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल आदिलाई सम्मान पनि प्रदान गरियो ।

उक्त कार्यक्रममा सम्मानित मिरुनाले फिल्म क्षेत्र आफ्ना लागि विद्यालयजस्तै रहेको बताइन् । आफूले फिल्ममा विभिन्न समुदायको पात्रमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक तथा फिल्म निर्माता ज्योतिराज राईले फिल्म क्षेत्रको विकासमा आदिवासी जनजाति फिल्मको एकदमै ठूलो भूमिका रहेको जिकिर गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*