मध्यरातमा घरभित्र छिरेको चोरले दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गर्न थालेपछि…
चोरी गर्ने उद्देश्यले राति अर्काको घरभित्र छिरेको चोरले सोही घरको एक दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गर्न थालेपछि घटनाले नयाँ मोड लिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको छत्तीसगढ राज्यको दुर्ग निवासी २८ वर्षीय विनयकुमार साहु सरकारी जागिर खान चाहन्थे । तर यसका लागि दिएको परीक्षामा उनी सफल हुन सकेनन् ।
त्यसपछि उनी सानोतिनो चोरीमा संलग्न भए । तरकारी बजारतिर डुल्दै उनी ग्राहकको मोबाइल चोरी गर्न थाले । त्यसपछि उनी घरमा पसेर चोरी गर्न थाले । यही क्रममा उनी यसअघि दुई पटक चोरी गरिसकेको घरमा तेस्रो पटक पनि चोरीकै लागि प्रवेश गरे ।
यस क्रममा विनयकुमारले बेडरुममा पति–पत्नीले अन्तरङ्ग पल बिताइरहेको देखे । त्यसपछि उनी झ्यालमा छलिएर सो दृश्यलाई भिडियोमा कैद गर्न थाले ।
भिडियो खिचिसकेपछि बिहान उनले सोही घरका मालिकलाई ह्वाट्सएपमा अन्तरङ्ग भिडियो पठाएर ब्ल्याकमेलिङ गर्न थाले । उनले १० लाख रुपैयाँ नदिए उक्त भिडियो भाइरल गरिदिने धम्की दिए ।
त्यसपछि सो दम्पतीले प्रहरीमा उजुरी गरे । प्रहरीले विशेष टोली परिचालन गरी आरोपितको खोजी सुरु ग¥यो । अन्ततः विनयकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो ।
प्रहरीले उनको साथबाट चोरीका तीन वटा मोबाइलसमेत बरामद गरेको छ । प्रहरीले उनको मोबाइलमा खिचिएको अन्तरङ्ग भिडियोसमेत डिलिट गरिदिएको बताइएको छ ।







