जहाँ पुरुषले महिलासँग मागेर खर्च चलाउँछन्

जनपत्र
१३ जेष्ठ २०८१, आईतवार ०६:०२

पूर्वी रुकुमको तकसेरास्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक यन्श्वर पुनले तलब बुझेर सधैँ श्रीमतीलाई दिन्छन्।

पाँच वर्षअघिसम्म आफ्नो कमाइ आमालाई राख्न दिने गरेका उनले आमा बितेपछि त्यो जिम्मेवारी श्रीमतीको काँधमा सारेको बताए।

पुन मात्र होइन रुकुमका खामभाषी मगर समुदायका पुरुषले वर्षौँदेखि आफूले कमाएको पैसा परिवारका महिलालाई राख्न दिने र चाहिएको बेला मागेर चलाउने गर्दै आएका छन्।

पूर्वी र पश्चिम रुकुमको तकसेरा, हुकाम, मैकोट, काक्री, लुकुम, कलराङसी, महत, कोल, जाङ, प्वाङ, मोरवाङ, चुनवाङ, स्यालापाखा, दुलीलगायतका ठाउँका मगर समुदायमा आर्थिक रूपमा महिला नै सर्वेसर्वा रहँदै आएका छन्।

‘म्याडम ब्याङ्क’

पुन भन्छन, “म्याडम (श्रीमती) भनेकै ब्याङ्क हुन्। पैसा कमाएर राख्न दियो, चाहिएको बेला मागेर खर्च गर्‍यो।”

उनकी श्रीमती जुनु पनि घरमूलीको जिम्मेवारी वहन गर्दा गौरवको अनुभूति हुने बताउँछिन्।

उनी भन्छिन्, “श्रीमानले कमाएर पैसा राख्न दिँदा महिलाको आत्मबल र विश्वास दुवै बढ्ने गर्छ।”

थैली महिलाकै अधीनमा

रुकुमका मगर समुदायमा आर्थिक विषय महिलाकै अधीनमा हुने भएकाले त्यसमा पुरुषको केही चल्दैन।

पुथा हिमालय माध्यमिक विद्यालय मैकोटका शिक्षक ढुन्डीराज पुन भन्छन्, “कमाएको पैसा महिलालाई राख्न दिने र चाहिएको बेला मागेर खर्च गर्नुको विकल्प छैन।”

मेलामा महिला
तस्बिरको क्याप्शन,गाउँका मेलामा हुने व्यापारमा पनि महिला नै अग्रसर पाइन्छन्

श्रीमान र छोराहरूको कमाइका साथै भेडाबाख्रा, खसीबोका, अन्नपात, जडीबुटी र राडीपाखी बेचेर हुने आम्दानी पनि महिलाले नै राख्छन्।

पुरुषले आफूले कमाएको पैसा आमा, आमा नभए जेठी दिदी, जेठी भाउजु वा घरबाट छुट्टिएर बसेको भए श्रीमतीलाई राख्न दिने चलन रहेको उनीहरू बताउँछन्।

महिलाको सहमति अनिवार्य

विशेषगरि खामभाषी मगर समुदायमा मातृसत्तात्मक प्रणाली झल्कने गरेको बताइन्छ।

भूमे गाउँपालिका महतकी सविना रोङखामी मगर भन्छिन, “आर्थिक जिम्मा महिलाकै काँधमा हुने भएकोले परिवार उनीहरूकै खटनपटनमा चल्छ।”

जग्गाजमिन, पशु चौपाया किनबेच गर्दा होस् वा छोराछोरीको विवाह गर्दा वा ऐँचोपैँचोमा महिलाकै निर्णय अन्तिम हुन्छ।

आफूले भनेको पुरुषले नमाने महिलाहरू सम्बन्धविच्छेद गर्न समेत पछि नपर्ने उनी बताउँछिन्।

पुरुष कमाउन देश-विदेश जाने र भेडाबाख्रा चराउन गोठालो जाने भएकोले महिलाले नै घर हाँक्छन्।

“घरमूली नै महिला हुने भएकोले उनीहरूले हुन्छ नभनेसम्म कुनै पनि काम हुँदैन,” पूर्वी रुकुमको सिस्ने गाउँपालिकाका मोहन रोका भन्छन्।

आर्थिक कारोबार आफ्नै हातमा हुने भएकोले मगर समुदायमा पुरुषभन्दा महिला बढी शक्तिशाली र सम्मानित हुने गरेको तकसेराकी शिक्षिका सीता बुढामगर बताउँछिन्।

उनी भन्छिन्, “पैसाको आवश्यकता पर्दा पुरुषले वास्ता गदैनन्, महिलाले नै आफन्त र छिमेकीसँग ऋणसापट गरेर चलाउने गर्छन्।”

फजुल खर्च जोगिने

महिलाले अनावश्यक खर्च नगर्ने हुनाले महिलासँग मागेर पैसा चलाउँदा फजुल खर्च समेत जोगिने पुरुष स्वयं बताउँछन्।

आफ्नो कमाइ श्रीमती वा आमालाई दिँदा परिवारमा बेमेल नहुने, श्रीमान-श्रीमतीबीच विश्वास बढ्ने र घरमा शान्ति हुने गरेको अनुभव महिला-पुरुष सुनाउँछन्।

पुरुष

कतिपय पुरुष आर्थिक अधिकार महिलाको हातमा हुने भएकोले आफ्नो कमाइ आफ्नै इच्छा अनुसार खर्च गर्न नपाएको गुनासो पनि गर्छन्।

तकसेराका सुरेन्द्र पुन भन्छन, “हामीले कमाएर दिन्छौँ त्यसपछि कहाँ, कसरी, कुन काममा खर्च गर्ने भन्ने निर्णय गर्ने अधिकार महिलाकै हुन्छ।”

हेपिनु र हिंसा ‘सहनु पर्दैन’

“घर आफ्नै हातमा हुने भएकोले महिला नै सर्वेसर्वा हुन्छन। पुरुषहरू महिलाकै सल्लाह अनुसार चल्नुपर्छ,” चुनवाङका वडाध्यक्ष प्रवेश पुनले भने।

व्यापार व्यवसाय गरेर आफू पनि आत्मनिर्भर हुने भएकोले कसैबाट पनि हेपिनु र घरेलु हिंसा सहने नपर्ने अम्रिमाया पुन बताउँछिन्।

उनीहरूले भेडाबाख्राको ऊनबाट राडीपाखी बनाएर बेच्ने गरेको अनि जडीबुटीको व्यापार गरेर आयआर्जन गदै आएका छन्।

मगर समुदायका महिला निडर स्वभावका हुने भएकाले एक्लै घरबाहिर गएर व्यापार गर्ने महिला उद्यमी तीर्था पुन मगर बताउँछिन्।

तकसेरा गाउँ
तस्बिरको क्याप्शन,आर्थिक अधिकार महिलाको हातमा रहेको पूर्वी रुकुमको तकसेरा बस्ती

अरू समुदायमा पुरुषको भूमिका नै प्रधान हुने भएकोले महिला हेपिएका पनि हुन्छन्।

खामभाषी मगर समुदायमा भने अपवादको रूपमा मात्रै आर्थिक कारोबार पुरुषको हातमा हुन्छ।

अरू समुदायमा छोराले मात्रै दागबत्ती दिने चलन भएपनि मगर समुदायमा भने छोरीले समेत दागबत्ती दिने गरेको बताइन्छ।

इतिहासमा बाइसे-चौबीसे राज्यको पालादेखि नै मगर समुदायमा मातृसत्तात्मक प्रणाली चलेको मगर सुमदायका अगुवा बताउँछन्।

उनीहरूका अनुसार त्यतिबेला बाहिरी आक्रमणबाट मगर राज्यलाई जोगाउन घरको सबै अधिकार महिलाको जिम्मा छाडेर पुरुषहरू लडाइँमा जान्थे।

अहिले संविधानमा महिला अधिकारको कुरा लेखिएपनि मगर समुदायमा भने पुर्खादेखि नै उनीहरू अधिकार सम्पन्न भएको तकसेराका वडाध्यक्ष ज्योतिमान गुरुङले बताए।

उनी भन्छन्, “आर्थिक रूपमा मात्र होइन, समूह, सहकारी, विभिन्न सङ्घसंस्थाको नेतृत्व पनि महिलाले नै गर्दै आएका छन्।”

श्रोत : बीबीसी न्यूज नेपाली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*