हेटौंडामा नेपाली सेनाको भर्ना छनोट सम्बन्धी वर्कशप, सेनामा युवाहरुको आकर्षण बृद्धी गरिने
हेटौंडा । हेटौंडामा नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाको आयोजनामा भर्ना छनोट सम्बन्धी एकदिने वर्कशप कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मध्यपृतना हेडक्वार्टर हेटौंडाका पृतनापति विष्णु कुमार खड्का रहुनुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै भर्ना छनोट निर्देशनालयका निर्देशक सहायक रथी रोज प्रताप राणाले भर्ना प्रक्रियालाई सरल, सहज र विश्वसनीय बनाउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो। उहाँले भर्नाका क्रममा कुनै पनि प्रकारको लेनदेन र भनसुन नहुने स्पष्ट पार्नुभयो।
यसैगरी, खुला पदपूर्ति शाखाका प्रमुख सेनानी निरज भण्डारीले भर्ना छनोट प्रक्रियाका विभिन्न चरणबारे जानकारी गराउनुभयो भने अर्का प्रमुख सेनानी रवि केसीले नेपाली सेनामा प्रवेशका लागि आवश्यक विविध प्रक्रिया र मापदण्डबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी तथा प्राध्यापक, सञ्चारकर्मी, तथा नेपाली सेनाका विभिन्न पदमा कार्यरत अधिकृतहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य नेपाली सेनामा भर्ना हुन इच्छुक युवाको संख्या वृद्धि गर्नुका साथै उनीहरूलाई आवश्यक जानकारी प्रदान गरी आकर्षण बढाउनु रहेको आयोजकले जनाएको छ।
नेपाली सेनाले भर्ना प्रक्रियामा सहभागी हुने सबै उम्मेदवारलाई हार्दिक स्वागत गर्दै आफ्नो योग्यता, दक्षता र क्षमताका आधारमा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेको छ। सेनाले आवश्यक जनशक्ति छनोट गर्दा स्वच्छ, निष्पक्ष, पारदर्शी र स्वस्थ प्रतिस्पर्धात्मक विधि अपनाइने भएकाले ढुक्क भएर सहभागिता जनाउन अनुरोध गरेको छ।
साथै, परीक्षाका क्रममा कुनै पनि प्रकारको आर्थिक लेनदेन, व्यक्तिगत प्रलोभन वा भनसुनमा नपर्न आग्रह गरिएको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा दिने र लिने दुवै पक्षलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ। नेपाली सेनाले राष्ट्र सेवामा समर्पित संस्थामा योग्य, दक्ष र क्षमतावान व्यक्तिहरूलाई सधैं प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।







