यो हो विश्वकै महँगो प्वाँख, एउटै प्वाँखको मूल्य ३७ लाख ९४ हजार रुपैयाँ

न्यूजिल्यान्डमा लामो समय अघि लोप भइसकेको चराको एउटा प्वाँख ४६ हजार ५२१ न्यूजिल्यान्ड डलर (२८ हजार ४०० अमेरिकी डलर)मा विक्री भएको छ । नेपाली रुपैयाँमा यो रकम ३७ लाख ९४ हजार हाराहारी पर्न आउँछ । प्वाँख लिलामी गर्ने लिलाम घर वेब्स अक्शन हाउसले बताएअनुसार हुइया नामक चरा अन्तिम पटक २० औँ शताब्दीको सुरुमा देखिएको थियो ।
यस अघि यही चराको एउटा प्वाँख ८ हजार ४०० न्यूजिल्यान्ड डलरमा विक्री भएको थियो । हुइया चराको प्वाँख यस पटकको लिलामीमा ३ हजार न्यूजिल्यान्ड डलरसम्म बिक्ने आशा गरिएको थियो । तर सोमबारको मूल्यसँगै यो विश्वमा बिक्री भएको सबैभन्दा महँगो प्वाँख बनेको छ । यो प्वाँखलाई उच्च हैसियतको प्रतीकको रूपमा हेरिन्छ । उच्च पदमा रहेका व्यक्तिहरूलाई मात्रै यसको प्वाँख कपालमा सिउरिन दिइन्थ्यो भनेर न्यूजिल्यान्ड संग्राहलयले बताएको छ ।
यो चराको प्वाँखलाई प्रायः बहुमूल्य वस्तुसँग साट्ने गरिन्थ्यो । मित्रता एवम् सम्मान दर्साउन अरूलाई उपहारका रूपमा दिने चलन पनि थियो । १९ औँ शताब्दीमा माओरी र यूरोपेली सिकारीहरूले ठुलो सङ्ख्यामा यो चरा मारेर यसको छाला र प्वाँखलाई कलेक्टर र फेशन व्यापारीहरूलाई बेचे । सन् १९०० को सुरुमा वैज्ञानिकहरूले बाँकी रहेको हुईया चरा जोगाउन कयौँ प्रयास गरेका थिए । तर तिनीहरूको प्रयास असफल भयो ।