डिसेम्बरमा मरेको मान्छेले जनवरीमा जमानत मागेपछि….
गत वर्षको डिसेम्बरमा ज्यान गुमाइसकेको व्यक्तिले जनवरी २४ मा जमानतको याचिका कसरी दायर गर्न सक्छ रु एनडीपीएसको एक मुद्दाका आरोपीको जमानत याचिकामा सुनुवाइ गर्दै भारतको चन्दीगढस्थित उच्च अदालतले यो प्रश्न उठाएको हो । उच्च अदालतले अभियुक्तका वकिललाई सुनुवाइका क्रममा अदालतमा उपस्थित हुन आदेश पनि दिएको छ ।
याचिका दिएका व्यक्तिको मृत्यु भइसकेको बताइएपनि याचिकामा उनको हस्ताक्षर समेत छ । उनले आफ्नो वकिललाई पावर अफ अटर्नी पनि दिएको अदालतले बताएको छ । गएको वर्ष मार्च १० मा गुरदासपुरको कलानौर पुलिस स्टेशनमा एनडीपीएस धारा अन्तर्गत मनजीत सिंह विरुद्ध एफआईआर दर्ता गरिएको थियो । गत वर्ष अगस्टमा गुरदासपुरको जिल्ला अदालतले उनको अग्रिम जमानत खारेज गरिदियो । यस वर्षको जनवरीमा उनले अग्रिम जमानतको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
बुधबार यस मुद्दाको सुनुवाइ सुरु हुँदा सरकारी वकिलले अभियुक्त मनजीत सिंहको मृत्यु प्रमाणपत्र उच्च अदालतमा देखाउँदै गत वर्ष डिसेम्बर २७ मा अभियुक्तको मृत्यु भएको बताए ।
प्रमाणपत्र हेरेपछि न्यायाधीस मञ्जरी नेहरू कौलले अचम्ममा परिन् । याचिका यही वर्ष जनवरी २४ अर्थात् अभियुक्तको मृत्यु भएको एक महिनापछि उच्च अदालतमा दायर गरिएको थियो । अचम्मको कुरा याचिकामा अभियुक्तको हस्ताक्षर पनि थियो । उच्च अदालतले यस विषयमा कडाईका साथ अभियुक्तका वकिललाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।एजेन्सी







