शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर

जनपत्र
१२ बैशाख २०८१, बुधबार १६:२७

रक्सी खाएर गाडी चलाएको मामिलामा मुद्दा खेपिरहेका बेल्जियमका एक पुरुषलाई सोमबार निर्दोष ठहर गरिएको छ । ती पुरुष शरीरले आफैँ रक्सी बनाउने रोग अर्थात् ‘अटो ब्रुअरी सिन्ड्रोम’ (एबीएस)बाट पीडित थिए । नाम नखुलाइएका ती पुरुषका वकिलका अनुसार उनी ब्रुअरीमै काम गर्छन् । सीएनएनमा लेखिएको समाचारमा पुरुषलाई मादक पदार्थ सेवन (मापसे) गरेको आरोपमा कहिले समातियो र मुद्दा चलाइयो भन्नेबारे केही पनि उल्लेख गरिएको छैन ।

तीन जना डाक्टरले जाँचेपछि पुरुषमा एबीएसको समस्या पुष्टि गरेको उनको वकिलले बताएकी थिइन् । यस मुद्दाको फैसलामा न्यायाधीशले प्रतिवादी रक्सीको नसामा नभएको बताएका थिए । ब्रुजेज प्रहरी अदालतले भने ती पुरुषलाई रक्सी खाएर गाडी चलाएको मुद्दा चलाएको थियो । अदालतले यस विषयमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नमा कुनै पनि उत्तर दिएको छैन ।

एबीएस भएका मानिसको शरीरमा रक्सीजन्य पेयमा पाइने एक खालकै रक्सी उत्पादन हुने तर यसले उनीहरूलाई रक्सी खाए जस्तै गरी मात भने नलाग्ने बेल्जियमको एजेड सिन्ट–लुकास अस्पतालमा क्लिनिकल बायोलोजिष्ट लिसा फ्लोरिनले बताइन् । मान्छेमा जन्मदै एबीएसको समस्या देखिँदैन । आन्द्रासँग सम्बन्धित कुनै रोगका कारण यस्तो खालको रोग लाग्न सक्ने उनले बताइन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*