प्रेरक प्रसंग : असम्भव के नै छ र ?

जनपत्र
३ फाल्गुन २०८०, बिहीबार ०७:०२

सन् २००० मा म्यारिसेल एपातान ११ वर्षकी थिइन् । उनी आफ्ना काकाका साथमा घुम्न निस्किँदा केही गुन्डाको आक्रमणमा परी गम्भीर घाइते भइन् । उनीमाथि धारिलो हतियारले आक्रमण गरिएको थियो । उनीमाथि अमानवीय तरिकाले अक्रमण भयो । उनी मरेकी ठानेर जब ती गुन्डा भागे, तब उनी बिस्तारै उठेर घरतिर लागिन् । घरतिर जाँदै गर्दा उनी निकै पीडामा थिइन् । उनका दुवै हातका कुहिनोदेखि तलका भाग छालाले मात्र अडिएका थिए ।

जब उनी घरनजिक पुगिन्, तब उनले चिच्याएर आमालाई बोलाइन् । आमा दौडिँदै उनी भएको ठाउँमा आइन् । उनको अवस्था देख्दा आत्तिएर उनलाई एउटा कम्बलमा बेरिन् र अस्पतालतिर दौडाइन् । अस्पतालनजिक थिएन । अस्पताल पु¥याउँदा उनको शरीरबाट निकै रगत बगिसकेको थियो । त्यसैले, चिकित्सकहरू उनलाई बचाउन सकिनेमा ढुक्क थिएनन् । झन्डै पाँच घन्टा लगाएर गरिएको शल्यक्रियापछि म्यारिसेल बाँच्न सफल भइन् । तर, उनका दुवै हात भने जोगाउन सकिएन ।

समस्या यत्तिमै सकिएन । गरिब भएकाले उनीहरूले अस्पतालको बिल चुक्ता गर्न सकेनन् । उनीहरूका टाढाका एकजना आफन्त आर्कबिसप एन्टोनिओ लेडसमाको सहायताबाट बिल चुक्ता गर्न सफल भए । उनीहरू फर्किंदा बदमास गुन्डाहरूले उनीहरूको घर पनि जलाइदिसकेका थिए । उनीहरूले जसोतसो बस्ने वासको व्यवस्था गरेर बाँकी जीवन बिताउन थाले । तिनै आर्बबिसपको सहयोगमा उनीहरू ती बदमास गुन्डाहरूलाई सजाय दिलाउन सफल भए ।

यति धेरै हन्डर र यातना झेलेर पनि म्यारिसेल निराश हुनुको साटो झनै दृढ निश्चयी भइन् र सामान्य जीवन बाँच्न थालिन् । आफूलाई ईश्वरले कुनै विशेष कामका लागि बचाएका हुन्, त्यसैले विशेष काम गरेर देखाउनुपर्छ भन्नेमा उनी दृढ देखिन्थिन् । उनले हाईस्कुलको पढाइ पूरा गरिन् । सन् २००८ मा होटेल म्यानेजमेन्टको कोर्स पनि पूरा गरिन् । साथै, बाल्यकालदेखि नै मिठामिठा परिकार तयार गर्ने सोखका कारण उनले सन् २०११ मा सेफको शिक्षा पनि पूरा गरिन् ।

अहिले उनी मनिलाको होटेल एडसा सांग्रिलामा सेफका रूपमा कार्यरत छिन् । कुनै निकै तातो भाँडो हटाउन र चिप्लो खालको तेलको बिर्को खोल्न मात्र अरूको सहयोग लिन्छिन् । नत्र आफ्नो सम्पूर्ण जिम्मेवारी आफैँ सम्हाल्छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*