गर्मी मौसममा बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ

जनपत्र
१० भाद्र २०८०, आईतवार ०७:२१

यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी, झाडाबान्ता जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ। झाडाबान्ताका कारण कतिपय अवस्थामा मानिसको ज्यानसमेत जान सक्छ। झरीको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया जस्ता पानीजन्य रोगको सङ्क्रमण हुने जोखिम बढी हुनेगर्छ। पानी खाँदा सफा, सुरक्षित र स्वास्थ्यकर मात्र खानु पर्दछ। गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एक अर्कालाई सरेर समस्या हुने गर्दछ। यसबाटसमेत बच्नु पर्दछ। विशेष गरेर अहिले बालकालिकालाई के कस्ता समस्या देखिन सछन् रु यो मौसममा लाग्ने रोगबाट कसरी बच्न सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ?

यो मौसममा बालबालिकामा के कस्ता समस्या देखा पर्छन् ?
बालबालिकामा झट्ट हेर्दा रुघाखोकी झाडाबान्ता धेरै हुन्छ। यस्ता रोग वास्तवमा वर्षभरी नै हुन्छन्। फ्लू र इन्फ्लुएन्जा धेरै बढेको हुन्छ। योसँगै झाडापखाला, भाइरल ज्वरो, भाइरल इन्फेक्सन लगायतका समस्या देखा पर्न सक्छन्।

यी रोगहरू के कारण लाग्छ ?
फ्लू एउटा मौसमी सरुवा रोग हो। मन्टेश्वरीका बच्चा आफ्नो केयर गर्न सक्दैनन्। एक अर्कामा छुने हुँदा एक जनामा लागेको फ्लू अर्कोमा सजिलै फैलिहाल्छ। सरसफाइमा लापरबाहीका कारणले पनि रुघा झाडापखालाजस्ता रोग देखिने गर्छ। जस्तै, हात राम्ररी नधुँदा, ट्वाइलेट सफा नहुँदा पनि यस्तो हुन्छ। त्यसैले, सरसफाइमा विशेष गरी ध्यान दिनुपर्छ। यसका लागि बालबालिकामा कसरी सफा हुने भनेर परिवारले सिकाउनुपर्छ।

बच्चामा संक्रमण भएपछि के के कुरामा ध्यान दिने ?
बालबालिकामा डायरिया हुने बित्तिकै फार्मेसिमा गएर औषधि ल्याएर नखुवाउने। सुरुमै एक लिटर पानीमा एक पोका जीवनजल हालेर खुवाउने। त्यसले बच्चालाई कमजोर नबनाई सक्रिय बनाउन मद्दत गर्छ। झाडा र बान्ता एकै पटक भयो भने अस्पतालमा गएर जँचाएर औषधि खुवाउनुपर्छ। त्यसको लागि सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको के कारणले यस्तो भएको हो ?जसमा बढी खाएर हो कि, फुड पोइजनले हो कि, आउँ परेर हो कि, त्यो कारण पत्ता लगाएर अस्पतालमा औषधि दिइन्छ। कतिपय झाडापखाला एक दुई दिनमा आफै ठिक हुने पनि हुन्छ।

बाहिरका खानाले पनि बच्चालाई झाडापखाला लाग्छ ?
बाहिरको खाना र जंक फुडहरू त व्यापारिक खानेकुरा र जिब्रोको स्वाद बढाउने खाना मात्र हुन्। त्यसैले जहिले बाहिरका खाना खाँदा पोषणमा कमी आउँछ। त्यसले बच्चाको भोक मारिदिन्छ। बच्चाले सामान्य रूपमा खाइने दाल भात जाउलोजस्ता खाना खान मान्दैनन्। बाहिरका खाना लामो समससम्म प्याकेटमा राखेका र तारेका धेरै स्वास्थ्यकर हुँदैनन्। बाहिरका खानाले कुनै फाइदा छैन। त्यस कारण धेरै खान दिनु हुँदैन। प्याकेटका जुसहरू खुवाउनु भन्दा पनि एउटा केरा वा स्याउ अथवा जुस भन्दा ताजा फलफूल खुवाउनु निकै राम्रो हो।

बच्चालाई कस्तो खाना खुवाउने ?
बच्चालाई खाना खुवाउँदा घरैमा बनाएको सामान्य दाल, भात, तरकारी स्वस्थ हुन्छ। त्यही खुवाउनु राम्रो हो। मासु पनि सानो केटाकेटीलाई धेरै दिनु उपयुक्त हुँदैन। तर, कोही बच्चाहरू मासु मन पराउँछन् भने स्वस्थ मासु खुवाउनु पर्दछ। खानामा फलफूल पनि मिसाएर खुवाउन सकिन्छ। खानामा गाँजर, फर्सीहरू पनि समावेश गर्न सकिन्छ। पहेँलो फलफूल तरकारी खुवाउने गर्नुपर्छ। बालबालिकाको स्वास्थ्यमा सागसब्जी खुवाउँदा पनि धेरै फाइदा गर्छ।

यो सिजनमा बालबालिकामा कुनै पनि समस्या नदेखियोस् भनेर घरपरिवारले के कुरामा ध्यान दिने ?
घरपरिवारले सबै भन्दा पहिला अहिले सरसफाइमा ध्यान दिनुपर्छ। कीटाणुहरू फैलिने भनेको नै घर, ट्वाइलेटबाट हो। त्यस कारण आफ्नो वरपर सफा राख्नुपर्छ। खाना खानुअघि र खाना खाइसकेपछि साबुन पानीले मिचामिची हात धुनुपर्छ। सफा पानी पिउनुपर्छ। यस्ता कुरा बच्चालाई पनि सिकाउनुपर्छ। बाजारमा पाइने जुसहरु भन्दा मौसम अनुसारका फलफूल नै राम्ररी सफा गरेर खुवाउनुपर्छ। राम्रो खाना खुवाएको छ र बच्चा स्वस्थ छ भने उसको पाचन शक्ति पनि बलियो हुन्छ। पाचन शक्ति बलियो भएमा जस्तोसुकै कीटाणुले पनि उसलाई छुँदैन। बच्चा धेरै बिरामी पनि हुँदैन। त्यसैले कोही बच्चा धेरै बिरामी हुने र कोही बच्चा कम बिरामी हुने हुन्छ। खबरहवबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*