आईमाइहरूको सत्ता

जनपत्र
३१ श्रावण २०८०, बुधबार ०६:१७

स्वास्नी मान्छेको एक मृदुल मुस्कानले
अँध्यारोको आधिपत्यमाथि धावा बोल्दै
उज्यालो बनाउछ घर
को भन्न सक्छ त्यो क्रान्ति होइन ?

रुँदै गरेका बच्चा
आमाको काख पाएर
जब लुटुक्क निदाइदिन्छ
त्यो काख कुनै क्रान्तिको
मैदान भन्दा कम हुदैन

जब ग्रहण गर्छे नारीले वीर्य
र, आमा बन्न लागेको महशुसका साथ
ओठभरि फुलाउछे मुस्कान
क्रान्तिको चरम उत्कर्ष भेटिन्छ उसको अनुहारमा

सबैलाई पेटभरि खुवाएर
खाली कसौंडी र कराईसँग मिलेर
कर्सुलाले गाएको लोरी सुन्दै
भोको पेट निदाउन सक्नु
के कुनै क्रान्ति भन्दा कम हुन सक्छ ?

दिनभरि श्रम गरेको ढाडले
रातभरी धानेर सहबासको शरीर
फेरि उही बोझिलो सास फेरेर बिहान तयार हुनु
मसाल बोकेर निस्कनुभन्दा हजारौं गुना ठूलो क्रान्ति हो

मक्किएको धुरी खाबोको टेको भएर
उज्यालो दिनको प्रतीक्षामा
बर्षौंसम्म कसैलाई पर्खनसक्नु
ऊ नआउने खबरले
आँसुलाई आँखामै जमाउन सक्नु
क्रान्तिको गतिलो उपमा यो भन्दा अर्को हुन सक्दैन

आफ्नै हातका ठेला हेरेर
तिनै ठेलासँगै मनका बह पोख्न सक्नु
ठेला, फोरा, पसिनालाई साथी बनाएर
उक्लन सक्नु जिन्दगीको उकालो
महान क्रान्ति भन्दा कम छ र ?

तिमी कसरी भन्दै छौ
आइमाइको सत्ता नै छैन भनेर
अहॅं, म त सोच्न पनि पनि सक्दिनॅं
नपत्याए आफैं
एक पटक फर्केर हेरे त
तिमी हिँडिआएको बाटो….

अनलाइनखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*