बालबालिकाले ‘टुथ पेस्ट’ बढी प्रयोग गर्नु हानिकारक हो !

विगत्को तुलनामा अहिले ‘टुथ पेस्ट’ को प्रयोग धेरै बढिसकेको छ । त्यसमा पनि विशेषगरी बालबालिकाहरुले हरेकपटक दाँत माझ्दा धेरैधरै टुथपेस्टको लगाउने गरेको पाइन्छ जसले पछि गएर छिट्टै दाँत खिइने, दाँतको प्राकृतिक सेतोपना खुइलिँदै जाने जस्ता गम्भीर समस्या निम्त्याउने एक अनुसन्धानमा पत्ता लगाइएको छ ।
यसरी तीनदेखि ६ वर्षका अधिकांश बालबालिकाले दाँत माझ्दा ब्रसभरि पेस्ट लगाउने गरेको पाइएको हो जबकि चिकित्सकहरुले बालबालिकालाई एउटा मटरको दाना जति टुथपेस्ट मात्र प्रयोग गर्न भनिरहेका हुन्छन् । यसरी ३ देखि १५ वर्षसम्मका पाँच हजार बालबालिकाका अभिभावकमा गरिएको सर्वेक्षणपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यस्तो तथ्याङ्क निकालेको हो ।
स्वास्थ्य विद्हरुले सबैलाई फ्लोराइडयुक्त पानी पिउन र फ्लोराइड भएकै टुथपेस्ट प्रयोग गर्न सल्लाह दिने गरेपनि यसको मात्राबारे भने ध्यान राख्न सुझाव दिन्छन् । जस्तै दुई या तीन वर्षकालाई केबल चामलको दाना जति टुथपेस्ट मात्र लगाउन भनिएको हुन्छ भने तीन देखि ६ वर्षकाहरुले मटरको दाना जति मात्र प्रयोग गर्नु पर्दछ ।
सिकागो स्थित बाल दन्तचिकित्सक मेरी हायस भन्छिन्, “फ्लोराइडका चामत्कारिक फाइदाहरु छन् तरपनि यसको अत्यन्तै ध्यानपूर्वक प्रयोग गर्नुपर्दछ ।”
तर कम उमेरका धेरैजसो बालबालिकाहरुले आफैँ दाँत माझ्न जिद्दी गर्ने गरेको पाइन्छ किनकी टुथपेस्ट उनीहरुका लागि गुलियो र स्वादिलो हुन्छ । यस्तोमा उनीहरुले टुथपेस्टलाई खाना जसरी नखाऊन् भन्नबारे अभिभावकले नै ख्याल राख्नुपर्छ र टुथपेस्टको प्रयोगलाई पनि आफैँले सिमित गराउनुपर्ने हायस बताउँछिन् ।
फ्लोराइड, पानी र माटोमा पाइने एक प्रकारको खनिज पदार्थ हो । यसरी ७० वर्ष अगाडि नै वैज्ञानिकहरुले प्राकृतिक पानी पिउने मानिसहरुको दाँतमा कम खराबी आउने गरेको पत्ता लगाएपछि पिउने पानी, टुथपेस्ट, माउथवासलगायत मुख दाँत सफा गर्ने उत्पादनमा फ्लोराइड मिसाउन थालिएको हो ।
यसले वार्षिक लाखौँ मानिसको दाँत किरा लाग्नबाट बचाउने गरेको विज्ञहरु बताउँछन् । तरपनि अत्याधिक मात्रामा फ्लोराइडको प्रयोग गर्दा भने यसले दाँतलाई खियाउने र रङ खुइलाउने अनि दाग उत्पन्न गराउन सक्दछ जसलाई विज्ञानको भाषामा ‘डेन्टल फ्लोरोसिस’ भनिन्छ ।
यो समस्या सबैभन्दा चरम अवस्थामा पुगे दाँतमा प्वाल समेत पर्न सक्छ । यसरी पछिल्ला अध्ययनहरुमा विगत तीन दशकदेखि फ्लोरोसिसको समस्या बढ्दै गएको पाइएको छ जसप्रति चिकित्सकहरुले चिन्ता व्यक्त गरेका हुन् । हाल पाँचमध्ये दुई किशोरकिशोरी यसबाट प्रभावित हुने गरेको पाइएको छ ।
त्यस्तै धेरै अभिभावकलाई आफूले बाल्यकालमा कति टुथपेस्ट प्रयोग गरेको भन्ने याद नभएकाले कतिपय अवस्थामा बाबुआमा बाटै गल्ती हुने गरेको पनि पाइएको छ । – टाइमबाट