विश्वकप क्रिकेट : वेष्ट इन्डिजको सुखद अन्त्य, अफगानिस्तान सबै ९ खेलमा पराजित

जनपत्र
२० असार २०७६, शुक्रबार ०६:३४

आइसीसी विश्वकप क्रिकेट २०१९ मा वेष्ट इन्डिजले अन्तिम खेल जित्दै सुखद अन्त्य गर्दा अफगानिस्तानले भने खेलेको सबै ९ खेल हारेको छ। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप अन्तर्गत बिहीवार भएको खेलमा वेष्ट इन्डिजसँग २३ रनले पराजित भएपछि अफगानिस्तान जितविहिन हुँदै घर फर्कने भएको हो। १० टोली सहभागि यस विश्वकपमा अफगानिस्तानले खेलेको सबै ९ खेलमा हार बेहोर्‍यो।

९ मध्ये २ खेल जितेको वेष्ट इन्डिजले ९ खेलबाट ५ अंक जोड्दै नवौं स्थानमा रहेर विश्वकप सकाएको हो। दक्षिण अफ्रिकाको समान अंक भएपनि रनरेटमा वेष्ट इन्डिज पछि परेको हो। वेष्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर २८८ रन मात्र बनाउन सक्यो। अफगानिस्तानका लागि युवा ब्याट्सम्यान इक्रम अलिखिलले सर्वाधिक ८६ रन बनाएपनि जितका लागि पर्याप्त भएन। इक्रम र रहमत शाहले दोस्रो विकेटका लागि शतकिय साझेदारी गरेका थिए। तर अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा अफगानिस्तान पराजित भयो।

रहमत शाहले ६२, असगर अफगानले ४० र नजिवुल्लाह जद्रानले ३१ रन बनाए। वेष्ट इन्डिजका लागि कार्लोस ब्रेथबेइटले सर्वाधिक ४ विकेट लिए। केमर रोचले १० ओभरमा २ ओभर मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए। क्रिस गेलको नाममा १ विकेट रह्‍यो।

त्यसअघि लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो। वेष्ट इन्डिजका लागि एभिन लेविस, शाई होप र निकोलस पुरनले अर्धशतक प्रहार गरे। शाई होपले सर्वाधिक ७७ रन बनाउँदा लेविस र पुरनले ५८-५८ रन बनाए। यस्तै कप्तान ज्यासन होल्डरले ४५ र शिमरोन हेतमारले ३९ रन जोडे। अफगानिस्तानका दवलत जद्रानले २ विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*