जारी निर्वाचनले सच्याउला मोदीको ‘तानाशाही यात्रा’

भारतमा अहिले निर्वाचनको मौसम छ। कुल सात चरणमा हुने निर्वाचनको दुई चरण सकिइसकेको छ। जम्माजम्मी गरी ४७ दिनमा सम्पन्न हुने निर्वाचनमा १ अर्ब जनसङ्ख्या हाराहारी भारतीयहरूले भाग लिनेछन्।
संसारको सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतमा ४०० भन्दा धेरै भाषा बोलिन्छ। विभिन्न समुदाय, धर्म, संस्कृति र परम्परा भएको भारत आफैंमा एउटा उपमहाद्वीप सरह छ। उत्तर र दक्षिणको भाषिक भिन्नता मात्र नभएर, एकै हिन्दु धर्ममा पनि फरक फरक विश्वास र परम्परा रहेका छन्।
त्यस्तै मुस्लिम, जैन, फारसी, बौद्ध, क्रिश्चियनदेखि यहुदीसम्म बसोबास गरिरहेकोले भारत एक ठूलो विविधता बोकेको देश हो। भौगोलिक विविधता त यसै पनि हुने नै भयो। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको संसारको पाँचौं ठूलो अर्थतन्त्र तथा इतिहासमा विभाजनको घाउ बोकेर पनि आर्थिक विकास र लोकतान्त्रिक मूल्यमान्यतामा अडिग देश भनेर विश्वभर भारतलाई मानिने गरिएको छ।