जासुसी भूउपग्रहको तस्बिरबाट खुलासा– हिमालय क्षेत्रमा धमाधम हिउँ पातलिँदै

शीतयुद्धकालको जासुसी भूउपग्रहबाट खिचिएको तस्बिरले हिमालय क्षेत्रमा गएको ४० वर्षमा हिउँको मात्रा निकै पग्लिएको खुलासा भएको छ । वैज्ञानिकहरुले अहिले र पहिलेको अवस्थालाई हेर्दा ४० वर्षको अवधीमा हिउँ दोब्बर पग्लिएको देखिएको हो । अध्ययनले देखाएअनुसार हिउँ शून्य दशमलब ५ मिटरका दरले हरेक वर्ष घट्दै गएको पाइएको छ ।
अनुसन्धाताहरुका अनुसार जलवायु परिवर्तनका कारणले नै यो अवस्था आएको हो । ‘‘यो अध्ययनले हिमनदीको अवस्था कसरी परवर्तन भएको छ भन्ने प्रष्ट चित्र देखिएको छ,’’ कोलम्बिया युनिभर्सिटीको लेमोन्ट डाहेर्टी अर्थ अब्जरभेटोरी न्यूयोर्कका अनुसन्धाता जोशुआ माउररले बीबीसीलाई बताएका छन् ।
सो अध्ययन साइन्स एडभान्सेज जर्नलमा प्रकाशित भएको छ । १९७० र १९८०को दशकमा अमेरिकी जासुसी कार्यक्रममा कोडनेम्ड हेक्सागनले २० वटा भूउपग्रह अन्तरिक्षमा पठाएकोमा त्यसले गोप्य ढंगले पृथ्वीको तस्बिर खिचेको थियो । ती तस्बिरहरु फिल्मको रोलबाट लिइएका हुन् । ती सामग्रीहरुलाई सन् २०११मा बर्गिकृत गरिएको थियो ।
त्यसपछि अमेरिकी जिओलोजिकल सर्भेलाई वैज्ञानिक अध्ययनका लागि दिइएको थियो । त्यसमा नै हिमालय क्षेत्रको तस्बिरपनि रहेको थियो । ती तस्बिर र अहिलेका भूउपग्रहबाट खिचिएका नासा र जापानीज स्पेस एजेन्सी (जाक्सा)का तस्बिरलाई हेर्दा त्यो क्षेत्र कसरी परिवर्तन भयो भन्ने बारेमा अनुसन्धाताहरुले पत्ता लगाएका हुन् ।
कोलम्बिया युनिभर्सिटीको टोलीले हिमालय क्षेत्रका ६५० वटा हिमनदीको अध्ययन गर्दा १९७५ र २०००को बीचमा औसत ४ बीएन टन हिउँ हरेक वर्ष हराइरहेको छ ।
तर २००० र २०१६को अवधीमा ती हिमनदी दोब्बर छिटो अर्थात् ८ बिएन टन औसतमा हरेक वर्ष खेर गइरहेको पाइएको छ । माउररका अनुसार मापनको दृष्टिले हेर्दा ८ बीएन टन आइस भनेको ३ दशमलब २ मिलियन ओलम्पिक साइजका स्वीमिङ्ग पुलका लागि हरेक वर्ष पर्याप्त हुने मात्रा हो ।
पग्लिने क्रम विभिन्न क्षेत्रमा फरक भएको र कतिपय क्षेत्रमा प्रति वर्ष ५ मिटरसम्म पातलिएको जनाइएको छ । हिमालय क्षेत्रमा तापक्रम बढेका कारण नै यो अवस्था आएको वैज्ञानिकहरुले जनाएका छन् ।
(बीबीसी)